क्षेत्री भेलामा गायक विष्टले को हो त्यो…भनेपछि

 

11727774_10153485621959282_592903887_o

लन्डन । यतिखेर बेलायतमा सम्मान ग्रहणले भ्याइनभ्याइ छ पप गीतका जन्मदाता ओमविक्रम विष्टलाई । रोयल अल्बर्ट हलमा कन्सर्ट सकिएपछि विभिन्न संघसंस्थाले वरिष्ठ गायक विष्टसहित अन्य कलाकारलाई सम्मान दिइरहेका छन् । शनिवार दिउसो रेडिङमा पासा पुचः को सम्मान थापे लगत्तै उनी विशेष अतिथीका रुपमा सामेल भए क्षेत्री समाज बेलायतको वार्षिक भेलामा । सो अवसरमा समाजले उनलाई सम्मान गर्यो ।
सम्मानपछि विष्टलाई दिनभर प्रतिक्षा गरिरहेका दर्शकले डिमान्ड गरिहाले गाउन । अनि गाए, को हो त्यो जसले मलाई मोहनी लगायो…। गायन श्रृंखला केही लम्बियो । उनले नयां पुराना गीत गाउंदा दर्शक मज्जाले नाचे । त्यतिखेर उमेर क्रमशः ढल्कंदै गएपनि गायनमा चाहिं कुनै कमी नआएको उनको हाउभाउले प्रष्ट्याइरहेको थियो ।

सरेको स्ट्यान्ली पार्क हाइ स्कुलमा शनिवार आयोजित वार्षिक भेलामा आकर्षण थिए विष्ट । क्षेत्री समाज बेलायतका प्रमुख संरक्षक ध्रुव केसी र अध्यक्ष प्रेम खड्काले संयुक्त रुपमा उद्घाटन गरेको उक्त भेलामा भूकम्पमा दिवंगत हुनेहरुको सम्झनामा मौनधारणसहित मैनवत्ति प्रज्वलन गरियो । बेलायती नेपाली दुवै राष्ट्रिय गीत बजे ।

मन्तव्यका क्रममा समाजका अध्यक्ष खड्काले आफ्ना भावी सन्ततिलाई क्षेत्रीहरुको कला संस्कृति र भेषभूषा सम्वन्धि जानकारी मनोरन्जनात्मक माध्यमबाट दिनु भेलाको उद्देश्य रहेको प्रष्ट्याए । संरक्षक केसीले प्रवासमा रहेर पनि क्षेत्री जातीले आफ्नो संस्कृति, रहनसहन जगेर्ना गरिरहेको बताए । केसीले समाजको दोश्रो स्मारिका ड्रिमल्याण्ड विमोचन समेत गरे ।

समाजका महासचिव टेकबहादुर जिसीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष क्या. रि. धनबहादुर कुंवरले स्वागत मन्तव्य दिएका थिए । त्यस अवसरमा प्रमुख संरक्षक केसी र अध्यक्ष खड्काले विभिन्न क्षेत्रमा पदोन्नति र शैक्षिक सफलता हांसिल गर्ने विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।

भेलामा सल्लाहकारहरु कृष्ण अधिकारी, सोलिसिटर राजु थापा, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, पत्रकारहरु चिरन शर्मा, रन्जित बस्नेत, नरेन्द्र बस्नेत लगायत सयौं सहभागी थिए । प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री चाहिं कार्यव्यस्तताले छिट्टै हल छाडे । भेला स्थल अलिक अपायक र अन्तिम समयमा परिवर्तन भएकाले सहभागी विगत जस्तो नभएको आयोजकले बताएका छन् ।

भेलामा सांस्कृतिक खुराक अत्यधिक थियो । समाजकै सदस्य गायक दीपक थापाको देशले रगत मागे…, भक्तराज आचार्यको जहां छन् वुद्धका आंखा…जस्ता गीतमा दर्शक स्तव्ध देखिन्थे । उनले आफ्नै एल्बमको जहां तिमी पुगे पनि…सहित अन्य कयौं गीत गाएर दर्शकलाई मनोरन्जन दिए ।

सुनिता गौतम थापाको माइती घर…बोलको पुरानो नेपाली गीतमा नृत्य होस् वा दिदी बहिनी जस्टिना र मेरिना थापाको मन्वा लागे… हिन्दी गीतमा संयुक्त नृत्य, दर्शक भरपुर मनोरन्जन लिइरहेका थिए । समिर थापा, युसिका थापा, एन्जेला केसी, अदिती अधिकारी, सम्झना, संयोग जिसी, मोनिका जिसी, रविन्द्र थापा, सेविका केसी, प्रतिमा केसी लगायतको गायन, नृत्य सहभागीका लागि थप मनोरन्जनात्मक ‘प्याकेज’ मा थिए ।

सांस्कृतिक कार्यक्रम समापनपछि डिजे हेम विष्टको गीतसंगीतमा अवेरसम्म चल्यो नाचगान ।

11725588_10153485621989282_2091830845_o

 

क्षेत्री समाज बेलायतका प्रमुख संरक्षक ध्रुव केसी र अध्यक्ष प्रेम खड्का भेला उद्घाटन गर्दै ।

क्षेत्री समाज बेलायतका प्रमुख संरक्षक ध्रुव केसी र अध्यक्ष प्रेम खड्का भेला उद्घाटन गर्दै ।

11749862_10153486625494282_40012006_o

स्विरहरुः नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित सामाग्री