आर्थिक प्रतिवेदन अपुरोः एनआरएनए यूके

11749451_653931251409217_1312781482_n

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले संघभित्र भएको भनिएको आर्थिक अनिमियतता छानवीन गर्न गठित समितिको प्रतिवेदनलाई अपुरो भनेको छ । आइतबार आफ्नै कार्यालयमा बसेको बैठकले गत साता इमेलमार्फत सार्वजनिक गरिएको कमल गुरुङ संयोजक रहेको प्रतिवेदनलाई अपुरो ठहर गरेको हो । बैठकले प्रतिवेदनलाई पूर्णता दिन लेखा परिक्षकको जिम्मा लगाउने निर्णय गरेको एनआरएनए यूकेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उता, बैठकले निवर्तमान अध्यक्ष योगेन क्षेत्रीलाई १५ अगस्ट सम्मको समयसीमा दिंदै उक्त समय सीमासम्म खातापाता नबुझाए उनलाई एनआरएनए यूकेको संरक्षकबाट हटाइने निर्णय समेत गरेको छ ।

बैठकले निर्धारित मिति भन्दा दुई साता पछि सार्दै आगामी २० सेप्टेम्बर २०१५ आइतबार साउथ इष्ट लन्डनमा कार्यसमिति निर्वाचन गर्ने निर्णय गरेको छ । अब सदस्यता बन्ने र नवीकरण गर्ने समय सीमा पनि १५ अगष्ट,२०१५ सांझ ६ बजे सम्म बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले डा. राघव धितालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसमा एनआरएनए यूकेका पूर्व महासचिव रामशरण 
सिम्खडा सदस्यसचिव र सदस्यहरुमा डा चन्द्र लक्सम्बा, विश्वआदर्श पण्डित, भक्त गुरुङ, पूर्ण लक्सम र शिवजी श्रेष्ठ छन् । संरक्षक परिषदका सबै सदस्य र बेलायतबाट आइसीसीमा प्रतिनिधित्व गर्ने सबै सदस्य सम्मिलित अनुगमन समिति पनि गठन गरिएको संघले जनाएको छ । बैठकले प्रा. डा. सूर्य सुवेदीको संयोजकत्वमा इलेक्सन कम्प्लेन्ट्स कमिसन गठन गरेको छ जसमा डा. पदम सिंखडा, सोलिसिटर राजु थापा, डा. हेमराज शर्मा, जया राई, सुरेशजंग शाह, हितमान गुरुङ, सुमन खरेल, उमेश मोक्तान र नरेन्द्र कंडेल सदस्य छन् । सो कमिसनले सदस्यतासम्बन्धि कुनै पनि गुनासो र उजुरीबारे छानवीन गर्ने बताइएको छ ।

त्यस्तै बैठकले गणेश इजामको संयोजकत्वमा विधान संशोधन समिति बनाउने निर्णय गरेको छ, जसमा फणिन्द्र भट्टराई र उत्तरमान तिगेला सदस्य छन् ।

बैठकले एनआरएन यूके महासचिव आर के त्रिपाठीलाई नेपालमा हुने सिस्मिक डिजाइन अर्थक्वेक मोडल बेलायतको अनुसन्धान रिसर्च प्रस्तुत गर्न तीन साताका लागि नेपाल पठाउने र नेपालमा भवन विभाग, इन्जिनियर्स एसोसिएसनको प्रविधिकहरुसंग प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बैठकमा महाविनाशकारी भूकमको मारमा परेका कार्यसमिति सदस्य बुद्धि थापा मगरको अनुरोधमा दुई हजार पाउण्ड संकलन गरि मिलान टोल सुधार समिति मार्फत आर्थिक सहयोग गर्ने निर्णय भएको छ । बैठकमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, आइसीसी सदस्यहरु सुस्मा राई, विनोद ज्ञवाली, थर्क सेन र विजन भट्ट लगायत उपस्थित सबैलाई अध्यक्ष महेन्द्र कंडेलले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री