एनआरएनलाई मताधिकार दिनुपर्छ: खेतान

IMG_4616

हाल बेलायत भ्रमणमा रहेका नेपाल ब्रिटेन च्याम्बर अफ कमर्शका अध्यक्ष तथा पूर्व सभासद राजेन्द्र खेतानले नयाँ बन्ने संविधानमा उहाँले गैरआवासीय नेपालीहरुकालागि सम्पत्तीको हक, यात्राको हक तथा मताधिकार सहितको नागरिकता दिन कुनै अप्ठेरो नहुने  बताएका छन् । एउटै आमाका सन्तानलाई कुनै भेदभाव गरिनुहुँदैन भन्दै उनले कर्मचारी संयन्त्र र राजनीतिक चुनाव लडनमा चाहिं गैर आवासीय नेपालीहरुमाथि केही प्रतिबन्ध लगाउन सकिने जनाए ।

गैर आवासीय नेपाली संघ युकेद्वारा आफ्नो स्वागतमा इलिङ ब्रोडवेस्थित मोन्टीज रेष्टुरेण्टमा मंगलबार बेलुका आयोजित कार्यक्रममा बोल्दै उद्योगपति खेतानले संसारभरि छरिएका गैर आवासीय नेपाली संघका राष्ट्रिय परिषदहरुले एउटा, एउटा गाउँको पुनर्निर्माणको जिम्मा लिएर जाँदा राम्रो हुने सुझाव  दिए । उनले गैरआवासीय नेपाली आन्दोलन जातिगत रुपमा विभाजित हुनसक्ने खतरा देखिएको भन्दै विदेशमा बसोबास गरिरहेका सबै नेपालीहरुलाई दलगत तथा जातिगत स्वार्थभन्दा माथि उठन अपील पनि गरे । उनले नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विश्वसनीयता कायम राख्‍न पनि नयाँ संविधान दिनैपर्ने बताए ।

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष महेन्द्र कँडेलले नयाँ बन्ने संविधानमा गैर आवासीय नेपालीहरुलाई पूर्ण अधिकार सहितको नागरिकता सुनिश्चित नभएसम्म संघले आन्दोलन जारी राख्‍ने बताए । उनले गैर आवासीय नेपाली संघ युकेमा विगतमा देखिएको विवादलाई दुर्भाग्यपूर्ण भन्दै संस्थाको गरिमा बढाउन आफुहरु लागिपर्ने अठोट पनि व्यक्त गरे । अध्यक्ष कँडेलले नेपालका युवा शक्तिलाई उद्योगसंग जोडन आवश्यक रहेको भन्दै खेतानजस्ता उद्योगपतिहरुले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा बोल्दै प्रवासी नेपाली मन्च युकेका अध्यक्ष रामशरण सिंखडाले राज्यलाई कमजोर बनाउने काम कसैले गर्न नहुने भन्दै गैर आवासीय नेपालीहरुकालागि पूर्ण नागरिकता प्राप्तिकालागि आफुहरु लागिरहने बताए । त्यस्तै एनआरएनए आइसिसि सदस्य विश्वआदर्श पण्डितले गैर आवासीय नेपालीहरुलाई नागरिकता दिन झण्डै पचासवटा कानुनहरु संशोधन गर्नुपर्ने स्थिति रहेको बताउँदै नेपालमा राजनीतिक अधिकार माग्ने एनआरएनहरुले आफ्नै संगठनभित्र सदस्यहरुको राजनीतिक आवद्धतामाथि प्रतिबन्ध लगाउन खोज्नु विरोधाभासपूर्ण भएको बताए ।

सो अवसरमा एनआरएनए आइसिसि सदस्य सुषमा राई, एनआरएनए युकेकी उपाध्यक्ष शान्ति थापा कुँवर, संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, वरिष्ठ व्यवसायी ध्रुव केसी,  सुवासिंग गुरुङ लगायतका वक्ताले नयाँ संविधानमा नेपाली नागरिकताको निरन्तरताको प्रत्याभूति गरिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रम सन्चालन गैर आवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले गरेका थिए । कार्यक्रममा राजेन्द्र खेतान तथा उनकी धर्मपत्नी सारिका खेतानलाई खादा लगाइ सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री