एनआरएनए यूकेका अध्यक्ष प्रत्यासीः भिजन र अजेन्डा छैनन्, चर्चाकै लागि उम्मेदवारी

nrnlogoलन्डन । अतिथि सम्मान, भाषण अनि नेताहरु र हाइ प्रोफाइलसंगको नियमित उठबसबाट उकासिने सामाजिक स्तरले सबैलाई तानेकै छ । त्यो पनि बेलायत जस्तो नेपाली बढ्दै गरेको देशमा । अनि त सबै लोभिने भए गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्ष पदमा ।

यही पदीय लोभमा बिना कुनै ठोस् कार्यक्रम एनआरएनए यूकेको नेतृत्व हांक्ने खोज्ने बढेका बढ्यै छन् । दर्जन बढी एनआरएनए यूकेका सदस्यहरु अध्यक्षको उम्मेदवारी दिएको घोषणा सामाजिक सञ्जाल र प्रेस मार्फत गरिरहेका छन् । पहिलो पटक पत्रकार सम्मेलन मार्फत अध्यक्षको उम्मेदवारी अघि सारे तमुधिं यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङले । त्यस लगत्तै अध्यक्ष पदको दावी गर्नेको लर्काे नै लागेको छ । तमुधिंकै पूर्व अध्यक्ष कमल गुरुङ पनि अध्यक्ष पदमा झलक्क झुल्के । उम्मेदवारी घोषणा पछि नहट्ने उद्घोष गरेका कमल गुरुङ भने केही दिनमै आत्मसमर्पण गर्न पुगे । भोट बैंक एउटै भएपछि कमललाई मुछेत्रको टिमले आत्मसमर्पण गराई छाड्यो ।

त्यसबाहेक विश्वासदीप तिगेला, हालका उपाध्यक्षहरु सूर्य नेम्वाङ, हिराधन राई (आज घोषणा गर्दैछन्), तस्विर लामा, सुरज केसी, बुद्धिराम थापा र कल्पना आङवुहाङलगायतले अध्यक्ष पदमा दावी गर्दैछन । यो क्रम अहिलेसम्म जारी छ । तिगेलाको टिममा किचलो सुरु भइसकेको छ । पूर्वमहासचिव योगकुमार फगामीलाई उपाध्यक्ष र लक्ष्मी राई (लारा) लाई सचिवमा राख्न चाहेपनि आफूहरु तिगेलाको प्यानलमा नरहेको बताएपछि तिगेलाको पनि खुट्टा धर्मराएको छ यतिखेर ।

जातिय, क्षेत्रिय र राजनीतिक रुपमा जरा गाडिएको बेलायतमा क्षमता भन्दा पनि एनआरएनए यूकेको नेतृत्व लिएपछि पाउने लाभका लागि अध्यक्ष पद घोषणा गर्ने बढी देखिन्छ । अध्यक्ष भएपछि आफू स्थापित हुन, व्यापारिक वा नीजि स्वार्थ पुरा गर्न, च्यारिटी मार्फत आफूलाई नेपालसम्मै स्थापित गर्न पाउने अवसर उत्तिकै छ । त्यसवाहेक एनआरएनए यूकेको ताला चाबी आफ्नो हातमा भएपछि हुने फाईदा धेरै छन् । विदेशमा कागजपत्र, घर अनि जागिर वा व्यवसाय भएपछि समाजमा स्थापित हुन खोज्ने निकै छन् । विगतमा पनि नामै नसुनिएका मान्छेहरु एनआरएनए यूके अध्यक्ष भएको सवैले देखेकै छन् ।

विदेशमा रहेका नेपालीको हित भन्दा पनि सीमित व्यक्तिको हितलाई पछ्याउदै पदकै लागि मरिहत्ते गर्ने नेपाली स्वभाव र नेपाली समाज अघि बढिरहेको प्रति नागरिक अगुवाले भने चिन्ता व्यक्त गरेका छन् । ठोस कार्ययोजना र नेतृत्व क्षमता बिना आफूलाई स्थापित गर्न अध्यक्ष हुनेले जाति, क्षेत्र अति राजनीतिमा रुमलिएको नेपाली सामाजलाई सही दिशा दिन नसक्ने समाजका अगुवाको ठम्याई छ ।
‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्दै विश्वभर फैलिएका नेपाली एक हुने संगठनका रुपमा उदाएको गैर आवासीय नेपाली संघ यतिवेला पैसावालाको पहुंचमै अलमलिएको छ । जसको प्रभाव गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् अध्यक्ष शेष घलेले नेपालमै देखाई सकेका छन् । ठोस कार्ययोजना भन्दा पनि आफू धनी भएकै भरमा डोनेसन दिएर अर्काे कार्यकालका लागि पनि बलियो दावेदारी प्रस्तुत गरेका छन् घलेले ।
त्यो प्रभावबाट बेलायतपनि बाहिर उम्किएन । जसका कारण विश्वभर विवादित मध्येको एक एनआरएनए यूकेमा हाल देखिएको चुनावी मौहोलले आउंदा दिनमा राम्रो हुने संकेत गरेको छैन् ।

विगतमा विवादमा अल्झिएर एक एक कार्यकाल बांडेर खाइसकेको अवस्थामा अब आउने नेतृत्वलाई जाति, क्षेत्र, राजनीतिक पार्टी र नागरिक समाजलाई मिलाएर लानु पर्ने अवस्था छ । तर, ति विषयलाई सम्बोधन गर्नुको सट्टा अध्यक्षका प्रत्यासीले विगतमा जस्तै शक्ति केन्द्र धाउने, आर्शीवाद लिने, भित्रभित्र सेटिङ मिलाउने जस्ता कार्य अंगालेका देखिन्छ । कोही भने सामाजिक सञ्जालमा फोटो हाल्न र सामाचार लेखाउन मात्र अध्यक्षको उम्मेदवारी दिएको बजार हल्ला छ । जे होस् उम्मेदवारी दर्ताका दिनसम्म पुग्दा एक हजार पाउण्ड लिएर उम्मेदवारी दर्ता गर्ने र चर्चाकै लागि उम्मेदवारी दिने बीचको भिन्नता छुट्टिने छ ।
विगतमा जस्तो सदस्यता बनाउन सहज नभएपछि अझै पनि जातिय, राजनैतिक पार्टीहरु र स साना समाजका नाममा गठन भएका संघसंगठनकै मतहरुको वर्चश्व आगामी निर्वाचनमा रहने बताइन्छ ।

त्यसको पछिल्लो उदाहरणका रुपमा अध्यक्षका उम्मेदवार तिगेलाको टिममा रहेका उपाध्यक्षका उम्मेदवार योगकुमार फगामी अघि आइसकेका छन् । विगतमा गएको सम्झौता भन्दा पनि पूर्व अध्यक्ष योगेनबहादुर क्षेत्रीको पक्षमा वकालत गरेपछि विवादमा परेका फगामीले यो निर्वाचनमा अध्यक्ष पदको दावी गर्न सकेनन् । इमान्दार मानिएका फगामी विगतमा सही निर्णय लिन नसक्दा आज कसको पछि लाग्दा जित सुनिश्चित छ केलाउंदैै छन् ।
यस्तो कठिन परिस्थितिमा अघि बढिरहेको एनआरएनए यूकेको अध्यक्ष पद ‘हासिमजाक’ जस्तै बन्न पुगेको छ । जसले पनि अध्यक्षमा पदमा दावी गर्दै बार्गेनिङ गरेको एकथरी धारणा छ । अर्काथरी भने चर्चामै आउनका लागि नाम मात्रको अध्यक्ष बन्ने धुनमा लागेका छन् । करिव दुई लाख नेपाली बेलायत रहेको अनुमान भइरहंदा एनआरएनए यूकेमा कतिले सदस्यताका लागि निवेदन हाल्छन् त्यो थाहा पाउन करिब दुई साता कुर्नै पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री