राप्ती समाज यूकेमा हिक्मत सिं रोका

IMG_4704

लन्डन । राप्ती समाज यूकेमा सर्वसम्मत नयां नेतृत्व चयन भएको छ । मेडस्टोनमा शनिबार सम्पन्न बेलायतस्थित राप्तीवासीहरुको वार्षिक गृष्मकालिन भेटघाटमा नयां नेतृत्व चयन गरिएको हो ।

समाजका पूर्व अध्यक्ष तथा प्रमुख निर्वाचन अधिकृत टिका सिं ठकुरीले आगामी दुई वर्षकालागि समाजको नयां कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
नयां कार्यसमितिमा हिक्मत सिं रोका अध्यक्ष, केशरबहादुर रोका उपाध्यक्ष, दिनेश खड्का सचिव, धनकुमार बुढामगर सहसचिव, झपिन्द्र थापा कोषाध्यक्ष र हरि बुढामगर सहकोषाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा कविराम पुन, इखमान पुन, श्रीमती वसन्ती बुढामगर, श्रीमती पुष्पा पुन, श्रीमती गीता शाही, श्रीमती लक्ष्मी मल्ल, श्रीमती कमला थापा, श्रीमती कृष्णा घम, हुर्जीत घर्तीमगर, दधिबन्धु घर्तीमगर दिल कुँवर, नरबहादुर गुरुङ, झकबहादुर पुन, वीरप्रसाद घर्तीमगर तथा पन्च पुन छन् । युवा कोअर्डिनेटरमा लक्ष्मी घर्तीमगर तथा भुवन थापा निर्वाचित भए ।

त्यस्तै कार्यसमितिले निवर्तमान अध्यक्ष गंगाबहादुर मल्ल, डा भरत श्रेष्ठ, भगीरथ योगी, चन्द्रबहादुर थापा, घमानसिं घर्तीमगर, विष्णुप्रसाद घर्तीमगर, श्यामकुमार श्रेष्ठ र दलबहादुर बुढामगरलाई समाजको सल्लाहकारमा मनोनयन गरेको छ ।
सो अवसरमा समाजका नवनिर्वाचित अध्यक्ष हिक्मतसिं रोकाले आफूहरु केही लिन भन्दा समाजलाई केही दिन भनेर आएको बताउंदै आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर े। उनले समाज सबै राप्तीवासीको साझा मन्च भएको बताउंदै राप्ती अन्चलको कला संस्कृति जोगाउन आफूले सबैसंग मिलेर काम गर्ने जनाए ।

यसअघिको चरणमा लुभेन, बेल्जियमबाट आएका कार्यक्रमका प्रमुख अतिथि वीरमान घर्तीमगरले परदेशमा आएर पनि राप्तीवासीहरु यसरी संगठित भएको देख्दा आफूलाई निकै खुसी लागेको बताए । राप्ती अन्चल हाम्रो पहिचान हो भन्दै उनले विदेशमा सिकेको ज्ञान र सीप लगेर आफ्नो गाउंघर सुन्दर बनाउन आह्वान गरेका थिए । उनले राप्ती समाज यूकेलाई एउटा फाउण्डेशन स्थापना गरेर समाज परिवर्तन गर्ने योजना सहित अगाडि बढ्न सुझाव पनि दिए ।

समाजका अध्यक्ष गङ्गाबहादुर मल्लले राप्तीका गाउं पखेराहरुमा जीवन्त रहेको संस्कार र संस्कृति बेलायतमा पनि जोगाउन आफूहरु सकृय रहेको बताए । उनले बाढी पहिरो, आगलागी तथा हालैको भूकम्पबाट प्रभावित नेपाली दाजुभाइ दिदीबहिनीहरुको सहयोगकालागि समाजले सक्दो सहयोग गर्दै आएको बताए । उनले गएको चार वर्षदेखि आफूले नेतृत्व गरेको कार्यसमितिलाई सघाउने कार्यसमितिका सल्लाहकार, पदाधिकारीहरु तथा समाजका सबै सदस्यहरुलाई हार्दिक धन्यवाद दिए ।
समाजका सल्लाहकारद्वय विष्णु घर्तीमगर, भगीरथ योगी, सदस्य वसन्ती बुढामगर, भेरी समाज युकेका अध्यक्ष गोपाल थापा लगायतका वक्ताहरुले बेलायतमा बसोबास गर्ने सबै राप्तीवासीहरुलाई एकजुट गर्न समाजले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका थिए । उनीहरुले खासगरी ससाना नानीहरुलाई नेपाली भाषा, भुषा र संस्कृति सिकाउनु पर्नेमा जोड दिए ।

भेलाको दोश्रो सत्रमा आयोजित सांस्कृतिक कार्यक्रम सञ्चालन बीना थापा तथा सुशीला रोकाले रोचक ढंगले गरेका थिए । सो अवसरमा जेसिका ठकुरी, नेहा बुढा, सुशीला बुढा, सुशीला पुन, सुजाता बुढा, जयन्ती रोका लगायतका नानीहरुले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरे ।

सो अवसरमा गएको एक वर्षभित्र जिसिएससी, स्नातक तथा स्नातकोत्तर पुरा गर्ने विद्यार्थीहरु तथा उनीहरुका अभिभावकहरुलाई पनि समाजको तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै नवविवाहित र भर्खरै सन्तान जन्माएका बाबुआमालाई पनि सम्मान गरिएको थियो । नेपालबाट राप्ती समाज यूकेको नयां ब्यानर बनाएर ल्याउने समाजका सकृय सदस्य मानबहादुर थापालाई अध्यक्ष गंगाबहादुर मल्लले खादा लगाइ सम्मान गरेका थिए । समाजकी सदस्य श्रीमती गीता शाहीले भूकम्प पीडितहरुकालागि आफूले संकलन गरेको ८३६ पाउण्ड नेपाल पठाउन समाजका अध्यक्ष गंगाबहादुर मल्ललाई हस्तान्तरण गरेकी थिइन् ।

उक्त कार्यक्रम सञ्चालन केशरबहादुर रोकाले गरेका थिए । झण्डै अढाइसय राप्तीवासी सहभागी उक्त भेलामा रात्रीभोजको व्यवस्था पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री