प्रोफेसर सिम्खडाले सम्हाले एसोसिएट डिनको कार्यभार

1146373_10152127270784746_680177860_o

लन्डन । बेलायतमा लामो समयदेखि प्राध्यापनमा संलग्न एकजना नेपालीले यहांको विश्वविद्यालयमा एसोसिएट डिन जस्तो महत्वपूर्ण जिम्मेवारी शुरु गरेका छन् । बेलायतको लिभरपुलस्थित जोन मोर युनिभर्सिटीको एसोसिएट डिनमा हालै नियुक्त प्रोफेसर डा. पदम सिम्खडाले अगस्ट ३, सोमबारबाट आफ्नो कार्यभार सम्हालेका हुन् ।

धादिंग जिल्लादेखि बेलायतसम्मको अध्ययन यात्रामा सम्भवतः नेपाली प्रोफेसर विदेशी विश्वविद्यालयमा एसोसिएट डिन हुने सिम्खडा नै पहिलो व्यक्ति हुन् । नेपाल बेलायत कुटनीतिक सम्वन्धको २०० वर्षको उपलक्ष्यमा सिम्खडाको नियुक्तिले अवसर पाए नेपालीहरु शैक्षिक क्षेत्रमा पनि कम छैनन् भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ । विश्वमा अहिले पनि बेलायती शिक्षाको धेरै महत्व छ । धेरै विश्व चर्चित युनिभर्सिटी बेलायतमा छन् । सिम्खडाको नियुक्तिबाट युनिभर्सिटीमा उच्च शिक्षा लिइरहेका नेपालीहरुलाई प्रेरणा मिलेको कतिपयको विश्वास छ ।

करिब २ दर्जन बढि प्रतिष्पर्धीलाई पाखा लगाउंदै युनिभर्सिटीको एसोसिएट डिन सम्म पुगेका सिम्खडा प्रजनन् तथा यौन स्वास्थ्य, बसाईंसराई र मातृशिशु विषयका अन्तराष्ट्रिय विज्ञको रुपमा चर्चित छन् । प्रोफेसर सिम्खडाको धेरै अन्तराष्ट्रिय जर्नल प्रकाशित छन् । अधिक रिसर्च नेपाललाई नै केन्द्र विन्दु मानेर गरेका प्रोफेसर सिम्खडाको नेपाल देखि बेलायतसम्मको यात्रा पनि रोचक
छ ।
जीवनको ४५ वसन्त पार गरिसकेका सिम्खडाले धादिङ् जिल्लाको सरकारी विद्यालयबाट नै अध्ययन शुरु गरेका थिए । हाल बेलायतको लिभरपुलमा सपरिवामा बसेका सिम्खडाका १ छोरी १ छोरा छन् । सिम्खडाकी जीवनसंगिनी डा. विभा सिम्खडा रिसर्च अनुसन्धानमा पोख्त छिन् । केहि महिना पहिले डा. विभा सिम्खडा लगायत विज्ञहरुको टिमले बेलायतमा बसोवास गरिरहेका अधिकांश नेपालीमा अंग्रेजी भाषाको दक्खल नहुंदा राज्यद्वारा प्रदान गरिने स्वास्थ्य सेवाबाट वञ्चित भइरहेकोबारे अनुसन्धान गरेर एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

एसएलसी पास गरेपछि थप शिक्षा लिंदै स्वास्थ्य क्षेत्र रोजेर सेभ द चिल्ड्रेन अन्तर्गत सिन्धुपाल्चोकको चौतारामा जागिर खान पुगेका थिए पदम सिम्खडा । जीवन कर्मको यात्रामा सिन्धुपाल्चोकदेखि काठमाडौं महानगरपालिकाको सामुदायिक स्वास्थ्य सेवा हुंदै बेलायतको द युनिभर्सिटी अफ सेफिल्डका वरिष्ठ प्राध्यापक डा.पदम सिम्खडा लगभग ५ वर्ष सेवा गरेपछि लिभरपुल स्थित जोन मोर युनिभर्सिटी मा २०१४ को अन्त्यतिर प्रवेश गरेका थिए । अन्तर्राष्ट्रिय ग्लोबल हेल्थ रिसर्च अवार्ड, २०१३ लगायत अन्य थुप्रै अवार्डबाट सम्मानित भएका प्रोफेसर सिम्खडा युनिभर्सिटीमा एसोसिएट डिन नियुक्तिसंगै थुप्रै दायित्वसहित अगाडि बढ्न चुनौती थपिएको छ । युनिभर्सिटी भित्रको मुख्यत चार वटा फ्याकल्टीहरु नर्सिङ्ग, सेन्टर फर पब्लिक हेल्थ, एजुकेशन र टुरिजम एण्ड हस्पिटालिटी, ६०० जना स्टाफ र ६००० जना स्वदेशी तथा बिदेशी विधार्थीहरु प्रोफेसर सिम्खडाको जिम्मेवारी भित्र पर्छन् । हाल यो विश्वविद्यालयमा २५ हजार भन्दा धेरै विधार्थी अध्ययनरत छन् ।

प्रोफेसर सिम्खडाले आफ्नो नेतृत्वमा मुख्यतः आगामी दिनमा ४ वटा विषयलाई प्राथमिकतामा राखेको बताए । युनिभर्सिटीको अन्तर्राष्ट्रिय पाटनरसिप डेभलप गर्ने, अध्ययन कोर्स अन्तर्राष्ट्रियकरण गर्न केहि परिवर्तन गर्ने, युनिभर्सिटीको रिसर्च अझै ठूलो दायरामा अन्तर्राष्ट्रियकरण गर्ने र अध्ययन भइरहेका कोर्सलाई अन्तराष्ट्रिय रुपमा मार्केटिंग गर्ने । हालै मात्र नेपालको ग्रिन तारा संस्थासंग मिलेर युनिभर्सिटीले पोस्ट डिजास्टरको सेरोफेरोमा रही स्वस्थ सम्बन्धि काम गर्ने एउटा प्रोजेक्ट स्वीकृत गरिसकेको छ । ग्रिन ताराको बोर्ड अफ ट्रस्टी मा प्रोफेसर सिम्खडा छन् । केहि समय पहिले नवलपरासीको लैरेटोवामा सुरक्षित शिसु जन्म केन्द्र पनि स्थापना गरेको थियो ।
बेलायतको अध्यागमन कानुन दिन प्रतिदिन कडा हुंदै अन्तर्राष्ट्रिय विधार्थीहरुमा समस्या परिरहेको प्रसंगमा प्रोफेसर सिम्खडाले बेलायती युनिभर्सिटी उच्च शिक्षाको लागि अहिले पनि राम्रो छ भन्दै खासगरी युनिभर्सिटीको उच्च शिक्षा (हायर एजुकेशन) र फरदर एजुकेशन भिन्न रहेको बताए । हाल बेलायती अध्यागमन नियमले फरदर एजुकेसन (जहां कर तिर्नेहरुबाट अनुदान लिएर चल्ने गरेका छन्) माथि कडाई गरेको छ । फरदर एजुकेसनमा १६ वटा पोस्ट एजुकेसन अन्तर्गत विभिन्न फाउंडेशन डिग्री पर्दछन् । धेरै निजी कलेजहरुले फरदर एजुकेशन संचालन गरेका छन् जुन २ वर्ष सम्मका हुन्छन् । तर युनिभर्सिटीको उच्च शिक्षामा जुन १ वर्ष भन्दा माथिका छन् तिनीहरुले अहिले पनि हप्ताको २० घण्टा काम गर्ने अधिकार पाएका छन् ।

लिभरपुल जोन मोर युनिभर्सिटीमा नेपालको प्राविधिक शिक्षा सम्बन्धि पीएचडी गरिरहेका हिमाल कार्की प्रोफेसर सिम्खडाको नियुक्तिले आफूहरुलाई धेरै हौसला मिलेको बताए । त्यस्तै जोन मोर युनिभर्सिटीसंग राम्रो सम्बन्ध भएका नारायण अधिकारी प्रोफेसर सिम्खडाको एसोसिएट डिनमा नियुक्तिले नेपालीले अवसर पाएमा अन्य देशको नागरिक भन्दा कुनै कमी छैनन् भन्ने प्रमाणित भएको बताउंछन् । २०० वर्षको नेपाल बेलायत सम्वन्धमा गोर्खालीले रचेको ईतिहास अब नेपालीहरुले विस्तारै शैक्षिक क्षेत्रमा समेत परिचय बनाएकोमा गर्व गर्छन् । अन्तर्राष्ट्रिय विज्ञता हासिल गरेका नेपाली प्रोफेसरहरुको शैक्षिक ज्ञान नेपालमा उपयोग गर्न सके नेपाललाई धेरै राम्रो हुनेछ भन्दै अधिकारीले प्रोफेसर सिम्खडाबाट नेपालमा अझ धेरै सहयोग हुने अपेक्षा राखेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री