साफ च्याम्पियनसिप फुटबलमा जाने टोलीको बिदाई

 

काठमाडौँ, २१ साउन । बङ्गलादेशमा सञ्चालन हुने सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ गरियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको बिदाइ कार्यक्रममा सङ्घका अध्यक्ष एवम सभासद् गणेश थापाले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।

यही साउन २४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रले भाग लिने भएका छन् । उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरेकोमा नेपाल समूह ‘बी’मा परेको छ ।

समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै, समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् २०११ मा काठमाडौँमा नै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । त्यस्तै, सन् २०१३ मा भएको दोस्रो साफ च्याम्पियनसिपमा नेपालले भारतसँग पराजित हुँदै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा यही साउन २५ गते माल्दिभ्सको सामना गर्नेछ ।

नेपाली टोलीमा गोलरक्षक अर्पण कार्की, आकाश रानाभाट, सन्देश गुरुङ छन् । त्यस्तै, डिफेन्डरमा रोमन लिम्बू, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की, अनोस मगर, सुमन अर्याल र आशिष केसी छन् ।

मिडफिल्डरमा अभिषेक रिजाल, दिवस उरउ, कप्तान मनिस कार्की, सेसेहाङ आङ्दम्वे, अनिल महर्जन, विकास आले छन् भने फरवार्डमा राजिव लोप्चन, रेजिन सुब्बा, दिनेश हेनजन, प्रिजन तामाङ, राजेश परियार र क्षितिजराज जिटी छन् ।

त्यस्तै, मुख्य प्रशिक्षकमा उपेन्द्रमान सिंह हुनुहुन्छ भने सहायक प्रशिक्षक राजेश मानन्धर छन् । टोली आज नै त्यसतर्फ प्रस्थान गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री