तेस्रो साफ च्याम्पियनसीपः नेपालको विजयी सुरुआत

gn3_1360164071

काठमाडौँ, २५ साउन । बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराउँदै विजयी सुरुआत गरेको छ ।

सिल्हेटको मैदानमा सोमबार भएको खेलमा नेपाललाई जित दिलाउन प्रेजेन तामाङ र सुमन अर्यालले दुई दुई तथा लक्ष्मण परियारले एक गोल गरे । नेपालका लक्ष्मण परियारले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि १८ औँ मिनेटमा प्रेजेनले गोल थपेर अग्रता दोब्बर बनाए । एक्काइसौ मिनेटमा सुमनले गोल गरेपछि नेपालले मध्यान्तरअघि नै ३–० को अग्रता लियो ।

दोस्रो हाफको ५० औँ मिनेटमा पुनः प्रेजेनले तथा खेल सकिने अतिरिक्त समयमा सुमनले हेडमार्फत सुन्दर गोल थपेपछि माल्दिभ्स खेलमा फर्कन सकेन र नेपालले फराकिलो जित निकाल्यो ।
छ मुलुक सहभागी जारी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । उक्त समूहमा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो भने सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसिपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री