एनआरएन युकेलाई पारदर्शी बनाउँछु ; तिगेला

Biswas deep by amar rai

तस्वीर तिगेलकाे फेसबुकबाट

 

साहित्यकार, पत्रकार, समाजसेवी, राजनीतिकर्मी जति संज्ञा दिए पनि विश्वासदीप तिगेलालाई कम हुन्छ । उनको आवद्धताका विधा अनगिन्ती जस्तै छन् । विगतमा एनआरएन ब्रुनाइको अध्यक्ष र हालमा एनआरएन आइसिसीको सदस्य रहेका तिगेला एनआरएन युकेको सेप्टेम्बरमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन् । प्रस्तुत छ उनीसित गरिएको कुराकानी  ;

एनआरएन युकेको अध्यक्षमा उठनुभएको छ । तपाईको उम्मेदवारी रणनीतिक मात्र हो कि वास्तविक हो ?

एनआरएनको जन्मभूमि युकेको एनआरएनमा देखिएको वेथिति र विसंगतिलाई सच्चाउने प्रतिबद्धताको साथ मेरो उम्मेदवारी वास्तविक हो । प्रजातान्त्रिक प्रकृयाबाट विजयी वा पराजयी हुन तयार छु । एनआरएन युकेलाई सही विधिमा लैजान आफ्नो कदम यहीबाट शुरु गरेको छु ।

तपाईको चुनावी तयारी अहिले कस्तो चल्दैछ ?
सामान्य चलिरहेको छ । एनआरएनलाई शुरुवात गर्नुहुने ब्यक्तिहरु स्वयं नै यसपटकको निर्वाचन कमिटीमा रहिदिनु भई अति खड्किएका महत्वपूर्ण चुनावी सिमाबन्धनका ब्यवस्थाहरु लागु गर्नु भएसंगै हामी उम्मेदवारहरुलाई अघिल्लोपटक झैं सदस्यता बनाउन अस्वस्थ प्रतिस्पर्धा गर्नुपरेको छैन । संघसंस्था र समूहहरुको निमन्त्रणामा मेरो आफ्नो प्रतिबद्धताहरु ब्यक्त गर्ने क्रम चलिरहेको छ । मेरो ब्यक्तिगत पहल पनि आफ्नो ठाउँबाट अहोरात्र चलिरहेको छ । धेरै संघसस्थाहरुले स्वच्छ छवि, रचनात्मक नेतृत्वको आवश्यकता महशुस गरेका रहेछन् भन्ने अनुभूति भएको छ । एनआरएन युकेको बिग्रेको वातावरण सुधार गर्न सबैलाई उत्साहपूर्वक आग्रह गरिरहेको छु । म अत्यन्तै उत्साहित छु ।

एनआरएन युकेको अध्यक्ष हुनुभयो भने कसरी चलाउनु हुन्छ ?
म अध्यक्ष भएँ भने सबैभन्दा पहिला मेरो कार्यकाल २४ महिनाको हो भन्ने हेक्का राखेर मेरो कार्यकालभित्र सुसम्पन्न गर्ने कार्यक्रमको वार्षिक क्यालेण्डर तयार गर्नेछु । नेतृत्वको दावी गर्ने साथीहरुलाई अनुकूल जिम्मेवारीमा संलग्न गराएर लैजाने छु । संस्थामा पारदर्शिताको ग्यारेण्टी गर्नेछु । म विश्वभर १७ मुलुकमा २४ शाखाहरु रहेको विश्व नेपाली साहित्य महासंघको पनि केन्द्रीय अध्यक्ष भएकोले मैले सिकेका सांगठानिक सीपलाई सदुपयोग गर्नेछु ।

तपाईको चुनावी एजेण्डाहरु के के हुन् ?
युकेमा एकदमै धेरै कामहरु गर्न सकिन्छ । मसंग सुसभ्य र विश्व कै उदाहरणीय एनआरएन बनाउने सपना छ । ती योजनाहरु सम्पन्न गर्नको लागि अहिले नेतृत्वको दावी गर्नेहरु र थप योग्य ब्यक्तिहरुलाई पनि जिम्मेवार बनाई अगाडि बढ्नेछु । एनआरएनका संस्थापक, सच्चा पहरेदारहरुलाई उच्च सम्मानको वातावरण बनाउने छु । क्षेत्रीय समितिहरु निर्माण गर्नेछु । सबै समुदाय र क्षेत्रलाई एनआरएन साझा र छाता संगठन हो भन्ने अनुभूति गराउन फ्युजन काउन्सिल अवधारणालाई कार्यान्वयन गराउने छु । युकेमा हुर्कंदै गरेका युवा तथा विद्यार्थीहरुलाई संलग्न गराई विभिन्न कल्याणकारी काम र नेपालप्रति युवाहरुलाई आस्थावान बनाउने छु । उलेख्य प्रगति गर्ने युवाहरुलाई प्रशंसा एवं सम्मान गर्नेछु । मेरो विशेष चासो नयाँपुस्ता सापेक्ष एनआरएन बनाउने भन्नेमा केन्द्रीत हुनेछ । एनआरएनलाई ब्यक्तिले होइन विधिले नेतृत्व गर्ने वातावरण बनाउने छु । ठूलो मारमा परेका विद्यार्थीहरुलाई अभिभावकत्वस्वरुप आवश्यकीय यथासम्भव सहयोग गर्नेछु । अघिल्ला कार्यकालका आर्थिक हिसाब किताबलाई एक सबल कार्यदल मार्फत निष्कर्षमा पुर्याउने छु । विगतमा लापरवाही भएको वा आर्थिक घोटला भएको हो जनतामा छर्लङ्ग बाहिर ल्याउने छु । नेपालको पर्यटन र ब्यवसायको लागि यथासक्दो पहल गर्नेछु । युकेमा श्रमशोषण ब्यहोरिरहेकाहरुलाई सम्बन्धित तहमा आवाज पुर्याउन पहल गर्नेछु । युकेका जेलहरुमा बन्दी भएकाहरुलाई यथासक्दो सहयोग गर्नेछु । नेपालको भूकम्पमा उद्धारको लागि खटिनेहरुलाई सम्मान गर्नेछु । यस वर्ष मनाईरहेको गोर्खा २ सय वर्षोत्सवलाई अवसरको रुपमा लिएर विशेष कार्यक्रम गर्नेछु । यथासक्दो काठमाडौमा गोर्खा मूर्ति स्थापना गर्ने पहल गर्नेछु । रोजगारको सिलसिलामा विदेशमा आपतविपदमा परेकाहरुको उद्दारको लागि विशेष संयन्त्र तथा राहत ब्यवस्थापनको पहल गर्नेछु । विदेशमा नेपाली कामदारहरु नेपाली एजेन्टबाटै ठगिने प्रवृत्तिको अन्त गर्न वातावरण तयार गर्नेछु । पेन्सन तथा सुविधाहरुमा विभेद खेपिरहेका भूतपूर्व गोर्खाहरुको हकअधिकार प्राप्तिको लागि पहल गर्नुको साथै बेहाल अवस्थामा रहनु भएका बृद्धा गोर्खाहरुको सहयोगको लागि हदैसम्मको पहल गर्नेछु । आवासिय सुविधा प्राप्त गरेका भूतपूर्व र परिवारलाई दोहोरो नागरिकता तथा नागरिकताको निरन्तरताको लागि पहल गर्नेछु । पत्रकारहरुसंगको सहकार्यमा विभिन्न कल्याणकारी योजनाहरु गर्नेछु । युकेमा रहेका दर्जनाैँ नेपाली संघसस्थाहरुमध्ये सस्थाहरुको कल्याणकारी काम र पारदर्शितालाई आधार मानेर प्रत्येक वर्ष कम्तिमा १ संस्थालाई सम्मान गर्नेछु । अन्तमा, युके एनआरएनलाई गुटरहित, विवादरहित समावेशी र सन्तुलित बनाउने छु । म विजय हुँदा सबै युकेवासीलाई विजय भएको महशुस गराउने छु ।

तपाईले घोषणा गर्नुभएको प्यानलका केही सदस्यहरुले बस्न अस्वीकार गरेको कुरा बाहिर आएको छ । वास्तविकता के हो ?
निर्वाचन आचारसंहितामा प्यानल बनाउन नपाउने व्यवस्था छ । उक्त आचारसंहिता लागूभए लगत्तै मेरो प्यानलका साथीहरु स्वतन्त्र हुनुहुन्छ भनी सकेको छु । साथीहरुको स्वेच्छालाई सम्मान गरेको छु । यो संस्थामा केही लिनलाई होइन दिनको लागि हामी कस्सिएका हाैँ । सबै साथीहरुसंग नियमित सम्पर्क र परामर्शमा छाैँ । सकभर सहमतिमा नेतृत्व चयन होस् भन्ने सबैको चाहना छ । लेनादेनाको प्रकृया नियमित चलि नै रहेको हुन्छ । अन्ततः हामी मिलेर काम गर्नेछौं ।

Biswas Tigela

तपाई त भूपू गोरखा पनि हुनुहुन्छ केही गोरखाहरु हामी एनआरएन होइनौँ भन्दैछन् । गोरखाहरु एनआरएन हुन् कि होइनन् ?
एनआरएनको परिभाषाले भूतपूर्व गोर्खा एवं परिवार र वहाल गोर्खा दुवैलाई एनआरएन मानेको छ । कहीं कतै पनि गोर्खाहरु एनआरएन होइनन्, हुन सक्दैन भनिएको छैन । एनआरएन नेपाल सरकारको प्रवास अंगको रुपमा विकसित भएकोले एनआरएनको सेवासुविधामा सबैको हक लाग्छ । गोर्खाहरु स्वतः एनआरएन हुन् तर त्यसमा पनि गोर्खाहरुको बेग्लै उच्च प्रतिष्ठा रहेको छ । शरणार्थीको रुपबाट आवासीय सुविधा लिएका, नेपाल सरकारको लगानीबाट अध्ययन गर्न आई यतै बसी सरकारलाई धोका दिएका हामी बीच केही रहेका हाैँला र हाम्रो संस्थाको नामको शुरु नै ‘गैर’ शब्दबाट शुरु भएकोले । युकेवासी धेरैलाई हामी गैर अर्थात गैर कानुनी बसेका, गैर वैधानिक बसेका होइनौं भन्ने बुझाई रहँदा यो समस्या थियो । तर, गोर्खा भूतपूर्व सैनिकहरुको संस्थाले नै हामी एनआरएन भित्रै पर्छौं भनिसकेपछि यो विवाद लगभग टुंगिएको छ । भूतपूर्व गोर्खाहरुले शरणार्थी भनी आवास सुविधा मागेनन् । नेपाल सरकारलाई धोका दिएनन् बरु दुई देश बीचको कुटनैतिक सम्बन्धलाई २ सय वर्षसम्म प्रगाढ बनाए । यसैले अन्य एनआरएनभन्दा तुलनात्मक रुपबाट गोर्खाली एनआरएन केही भिन्न र विशिष्ट रहेका छन् । सबै गोर्खाली एनआरएन हुन तर सबै एनआरएन गोर्खाली होइनन् । र, युकेका एनआरएनहरु अन्यत्र मुलुकका भन्दा केही भिन्न प्रकृतिका अवश्य छन् । किनकी यहाँका एनआरएनहरु स्थायी हुन् । यहाँका एनआरएनहरुलाई अंग्रेज जनताको ठूलो सम्मान छ । यहाँका एनआरएनहरुसंग सिंगो ब्रिट्रिस सामाज्य विस्तार गरेको दावी गर्ने ठाउँ छ । नेपाल सरकारले बनाएको ऐन र नियमावलीमा २ वर्षभन्दा बढी नेपाल बाहिर बसेका विद्यार्थी बाहेकलाई एनआरएन हुन् भनेकाले नेपाली पासपोर्ट वा जुनसुकै मुलुकको पासपोर्ट बोकेकाहरु एनआरएन हुन् । युकेका हामी गोर्खालीहरुसंग कसैसंग युके पासपोर्ट छ र कसैसंग नेपाल पासपोर्ट छ त्यसले कुनै फरक पार्दैन । हामी गोर्खालीहरुको नेपालमा रहेका श्रीसम्पति सुरक्षित गर्न एनआरएनले उठाएको माग एनआरएन नागरिकताले सबैभन्दा धेरै फाइदा भूतपूर्व गोर्खा र परिवारले लिन पाइने भएको छ । हामी गोर्खालीका छोरा, नातिहरुलाई झनै उक्त ब्यवस्थाले ठूलो सहयोग पुग्ने देखिन्छ । त्यसैले गोर्खालीहरुको लागि एनआरएन झनै महत्वपूर्ण संस्था हो ।

एनआरएन युकेको अध्यक्ष पदमा तपाईलाई नै किन मत दिने ?

म स्वयं हाल एनआरएन आइसिसी सदस्य (अन्तर्राष्ट्रिय समन्वय समितिको केन्द्रीय सदस्य) छु । म एनआरएनको स्थापनाकाल २००३ देखि नै सक्रिय छु । एनआरएन ब्रुनाईको संस्थापक अध्यक्ष साथै हालः केन्द्रको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रबद्र्धन कार्यदलमा पनि कार्यरत छु । अघिल्लो कार्यसमिति (२०११ देखि २०१३) को साहित्य कार्यदलमा रहेर ‘द हिमालयन वार्ड’ नामक साहित्यिक अंग्रेजी पुस्तक मेरै मुख्य योजना, सम्पादन र मेहनतमा प्रकाशित छ ।
एनआरएनकै कार्यक्रमको सिलसिलामा फिलिपिन्स, मलेशिया, हङकङ, जापान, नेपाल र युके लगायतका ठाउँहरुमा सहभागी बनेको छु । पाँचौं र छैठौं विश्व सम्मेलनमा सहभागी बनेको छु । एनआरएनमार्फत धेरै च्यारिटीको कामहरु पनि गरिसकेको छु । र, समाजसेवाको लागि अहिले मेरो पारिवारिक वातावरण पनि अनुकूल भएकोले आगामी दुई वर्षको समय पूरै एनआरएन युकेलाई दिन सक्छु भन्ने प्रतिवद्धताका साथ यसपटक युके एनआरएनको अध्यक्षको उम्मेदवार बनेको छु । एनआरएन युकेलाई सम्झनुहोस्, एनआरएन युकेको भविष्यलाई सम्झनुहोस् र त्यसको लागि मलाई उपयुक्त ठान्नुहुन्छ भने मलाई भोट दिनुहोस् ।

अन्त्यमा केही भन्नु छ कि ?
यसपटक एनआरएनको नेतृत्व चयनको सवाल भनेको समस्त युकेमा बसोवास गर्ने नेपालीहरुको इज्जत र प्रतिष्ठासंग जोडिएको विषय हो । विगतमा केही तीतामिठा घट्नाहरु घटेपनि त्यसबाट पाठ सिक्दै यसपटक विधि प्रकृया बुझेकाहरुलाई नेतृत्व प्राप्त हुन सकोस् । केही न केही एनआरएनको लागि योगदान दिएका ब्यक्तिले नै नेतृत्व गर्दा यस संस्थाको कल्याण हुन्छ । यो सामाजिक संस्था हो यद्यपि यसका कतिपय मुद्दाहरु राजनीतिसंग पनि जोडिएका हुन्छन् । त्यसैले यसलाई फूटबल क्लब जस्तो नसोचौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री