साफ च्याम्पियनसिप फुटबलको तयारी पुरा

काठमाडौँ, १ भदौ । पहिलोपटक आयोजना हुन लागेको १९ वर्ष मुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

यही भदौ ३ देखि १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल खेल मैदानमा हुने एन्फाका महासचिव धीरेन्द्र प्रधानले जानकारी दिए । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भुटान र बङ्गलादेशको टोली आइसकेको र अन्य टोली भोलि नेपाल आइसक्ने बताए । महासचिव प्रधानले उक्त प्रतियोगिताको लागि करिब रु ७८ लाख खर्च लाग्नेसमेत जानकारी दिए ।

त्यस्तै एन्फाका कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले प्रतियोगिताले भूकम्पबाट अन्तर्राष्ट्रिय जगत्मा पुरयाएको नकारात्मक सन्देशलाई चिर्ने बताए ।

विभिन्न छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । त्यस्तै समूह ‘ए’ मा नै बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, भारत र अफगानिस्तान छन् ।

लिग कम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा नेपालले पहिलो खेल भदौ ३ गते भुटानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल भदौ ७ गते बङ्गलादेशको सामना गर्नेछ ।

उक्त प्रतियोगिताको टिकट दर भिआइपीतर्फ रु ३०० तोकिएको छ भने पूर्वतर्फको स्टान्डमा रु २०० तोकिएको एन्फाले जनाएको छ ।

साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले साताँै राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधाका ३५ खेलको सहभागिता रहने बताएका छन् ।

राखपको आज यहाँ बसेको बोर्ड बैठकले फुटबल, एथ्लेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, भलिबल, जुडो, उसु, बास्केटबल, चेस, ह्यान्डबल, सुटिङ, भारोत्तोलन, पौडी, लनटेनिस, गल्फ, क्रिकेट, आर्चरीलगायत ३५ खेल समावेश गराउने निर्णय भएको उहाँले जानकारी दिए ।

प्रतियोगितामा अघिल्लो संस्करणको खेलमा भन्दा यसपटक सेपाताक्रो, फेन्सिङ, ट्राइथलन र खोखो गरी चार खेल थपिएको सदस्य सचिव विष्टको भनाइ छ ।

आगामी मङ्सिर ११ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा करिब १५ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेल भने धरान रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री