म कसैले उचालेर अध्यक्ष बन्न खोजेको होइन – मुछेत्र गुरुङ

 

11698751_1077397622288374_313357754268312695_o1-819x1024

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासी मुछेत्र गुरुङको चर्चा पनि चुलिंदै गएको छ । उनको व्यवस्थित चुनाव प्रचार प्रसार अभियानले धेरैको ध्यानाकर्षण गरेको हो । एउटा तप्का उनको जित सुनिश्चित भइसकेको दावी गर्न थालेको छ ।

तमुधिं यूकेका पूर्व अध्यक्ष एवं हालका सल्लाहकार गुरुङ एनआरएनए यूके र सहारा यूकेको पनि सल्लाहकार हुन् । हाल मनि ट्रान्सफर र ट्राभल व्यवसायमा आवद्ध उनी भूपू गोर्खा हुन् । ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेर सन् 
१९९९ मा अवकास पाएका उनको सन् २००० यता बेलायतको फ्लीटमा बसोवास छ । नेपालमा उनको स्थायी घर लमजुङको गिलुङ हो ।

आगामी १३ सेप्टेम्बरमा हुने एनआरएनए यूकेको निर्वाचन वरपर केन्द्रित रहेर वीनेपालीले अध्यक्षका प्रत्यासी उनीसंग गरेको कुराकानीको संक्षेप यहां प्रस्तुत छः

अध्यक्षका लागि लड्ने घोषणा गर्नुभएको छ, चुनाव कत्तिको लागेको छ ?
एक महिना यता त अलिक व्यस्त नै भएको छु । यसपटक निर्वाचन समितिको सदस्यतामा कडाइले अलिक बढि नै दौडधुप गर्नुपरे पनि साथीहरुको सहयोगले सहज भयो ।

तपाईंले त प्रचार प्रसार समिति नै गठन गर्नुभएको छ होइन ?

हो, जीव बेल्वासेको संयोजकत्वमा बेलायतभरबाट २०१ जना सदस्य सम्मिलित समिति बनाइएको छ । म उहांहरुको निरन्तर सक्रियताबाट सन्तुष्ट छु ।

उसो भए चुनाव जित्ने विश्वास पनि छ ?
जित्नुपर्ने हो…(हांसो) ।

अध्यक्षका अरु दुई प्रत्यासी हिराधन राई र योगकुमार फगामीको समिकरणले तपाईंलाई हराउने रणनीति पनि बन्दै छ रे नि ?

खोइ त्यो कुरा त थाहा भएन तर, म त्यो परिस्थिति सामना गर्न तयार छु । मतदाताले पनि उपयुक्त व्यक्ति छान्छन् भन्ने मेरो विश्वास छ ।

तपाईं तमुधिं यूकेको पूर्व अध्यक्ष । त्यो जातीय संस्था हांकेको व्यक्तिमा एनआरएनए जस्तो सामाजिक र वृहत संस्थालाई नेतृत्व दिन सक्ने खुबी छ भनेर कसरी विश्वास गर्ने ?

म कार्यसमितिमा नबसेपनि एनआरएनएबारे राम्ररी थाहा छ । सल्लाहकार भएका नाताले संघलाई नजिकबाट नियालिरहेको छु । यसका गतिविधि हेरिरहेको छु । अर्को कुरा तमुधिं यूके र सहारा यूकेका सामाजिक काममा मेरो अथक योगदान भएकै हो । त्यसकारण यसमा नेतृत्व लिन मलाई गार्हो छैन् ।

एनआरएनए यूके अध्यक्ष बन्न अलिक खर्चिलो पनि छ भन्छन् । समय पनि उत्तिकै दिन जरुरी छ । तपाईं एकजना व्यवसायी । अध्यक्ष भए समय र आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?

गर्छु भनेपछि गर्छु । पूर्ण तयारीका साथ आएकाले अबको दुई वर्ष मज्जाले खटिने सोच छ ।

एनआरएनए यूके अध्यक्ष बन्ने तपाईंको मनोकांक्षा नाम र चर्चाकै लागि हो भन्छन् मानिसहरु ?

वास्तवमा नाम वा ख्याति नचाहिने मान्छे हुं म । समाजलाई केही दिन जान लागेको हो, लिन होइन ।

तपाईंलाई अध्यक्षमा उम्मेदवारी दिन अरु कसैले उचालेको बजार हल्ला छ त ?
म आफैं परिपक्व र बुझेको मान्छेलाई अरु कसैले उचाल्न वा धकेल्न आवश्यक छैन् । मेरो उम्मेदवारी आकांक्षा स्वविवेकले नै हो ।

तपाईंका अजेन्डाहरु बताइदिनुस् न ?
पहिलो कुरा त दुई वर्ष यता एनआरएनए यूकेको गुमेको साख पुनर्जिवित गरि यसलाई संस्थागत गर्ने छ । दोश्रो कुरा, एनआरएन हाउस निर्माण परियोजनालाई पूर्णता दिने मेरो योजना छ । बेलायतवासी नेपालीहरुलाई नेपालीत्वको अनुभूति गराउने र सबैलाई एकत्रित गर्न एनआरएन हाउस कोशेढुंगा सावित हुने मेरो विश्वास छ । संघमा आर्थिक विवादको प्रसंगले पनि बढि नै चर्चा पाएको छ । म मेरो कार्यकालमा त्यसलाई पूर्ण विराम लगाइ दिने छु । सबैलाई समेट्ने गरि ल्याइएको क्षेत्रीय अवधारणाको कुरामा पनि म लाग्नेछु ।

अध्यक्षमा अरु केही आकांक्षी पनि देखिएका छन् । सहमतिको कुरा आए तपाईं पछि हट्नु हुन्छ ?
अफकोर्स । अन्य साथीहरु पनि प्रवुद्ध र सक्षम हुनुहुन्छ । उहांहरुमा जोस जांगर र भिजन भएको कुरा पढ्न देख्न पाइएको छ । म भन्दा राम्रो अरु कोही आउंछ भने म नै जानुपर्छ भन्ने छैन् । मैले बसेर छलफल गरौं, समझदारी हुन्छ भने मिलेरै जाउं भनिरहेको छु ।

तपाईंको भित्र भित्रै प्यानल पनि बन्दै छ रे । को को हुनेछन् टिममा ?

अहिल्यै त्यस्तो टिम बनिसकेको छैन् । तर, आफूलाई काम गर्दा सजिलो हुने र जाने बुझेका अनुभवी केही व्यक्ति लिने सोच चाहिं मेरो छ ।

तपाईंले सदस्यताका लागि कति खर्च गर्नु भयो नढांटी भनिदिनुस् न ।

राम्रो प्रश्न गरिदिनुभयो । मेरो हकमा मैले एक पेनी पनि खर्च गरेको छैन् सदस्यता बनाउन । जति मेरा आफन्त वा शुभचिन्तकहरु सदस्य बन्नुभएको छ, त्यो उहांहरुको स्वतस्फूर्त, पवित्र लगाव र आफ्नै खर्चले हो । हिजोको दिनमा साथीहरुले आफ्नै खर्चमा जसरी सदस्यता बनाइदिने प्रवृत्ति विकास गरिदिनु भयो, त्यसले यसपटक केही अप्ठेरो स्थिति भने परेको हो । फेरि निर्वाचन समितिको कडा नियमले पनि यसपटक पैसाले सदस्य किन्ने अवस्था थिएन ।

तपाईं व्यापारी कि समाजसेवी ?
म दुवै हुं भन्न संकोच लाग्दैन । मैले समाजका लागि धेरै योगदान दिएको कसैबाट छिपेको छैन् ।

अन्त्यमा, मतदाताहरुलाई केही भन्नु छ कि ?
संघ स्थापनाको १२ वर्षे इतिहासमा केही समय विवाद भयो भन्दैमा तपाईं सदस्यहरु विचलित नहुनु होस् भन्ने मेरो आग्रह छ । संस्थाबाट राम्रा काम पनि भएका छन्, त्यसको मुल्यांकन गर्नुपर्छ हामीले । यसपटक तपाईंहरु भित्री मनबाट असल र सक्षम व्यक्ति छान्नुस्, त्यसैमा संस्थाको हित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री