बुधबार, असोज १० २०७५ | Wed, September 26, 2018
नेपालको समय: १६:३६ | UK Time: 11:51

दश कक्षा पढेका भूतपूर्व गोरखा सैनिकले लेखे अंग्रेजीमा सात किताब

विनेपाली
२०७२ भदौ ४ गते १५:३९
Tim Gurung

तस्वीरहरू सबै टीमकाे फेसबुकबाट

 

लण्डन । लाहुरे भन्नासाथ धेरैले प्राज्ञिक र बौद्धिकताको विपरीतार्थ बुझ्छन् । अहिले केही लाहुरेहरुले उच्चअध्ययन, साहित्य लेखन र बौद्धिक क्रियाकलापमार्फत त्यस्तो बुझाइलाई गलत साबित गर्दैछन् ।
त्यही बुझाईलाई धुजाधुजा पार्दैछन् पूर्व गोरखा सैनिक टीम आइ गुरुङ । नेपालीमा होइन, अंग्रेजीमा । एउटा दुईटा होइन, सात/सात पुस्तक लेखेर ।
पाँच वर्षअघि पुस्तक लेखनमा पूर्णरुपमा होमिएका गुरुङको सातौँ पुस्तक ओल्ड म्यान डोन्ट क्राइ हालै बजारमा आएको छ । यसअघि उनको फाइभ स्टेप्स, मिसनरी अर मर्सिनरी, अ ट्री कल्ड टेनाल्पा, आफ्ट(र) लाइफ, द कर्स्ड  नेशनअ नेशन फ(र) रिफयुजी बजारमा आइसकेको छ । आठौँ र नवौँ पुस्तकको लेखन उनले सिध्याइसकेका छन् र छिट्टै नै बजारमा आउने तयारीमा छन् ।
।।।।।
धम्पुस (कास्की) मा स्कुल पढ्दा टीम गुरुङ मिहिनेती विद्यार्थीमा गनिन्थे । शिक्षकहरुको आशा थियो – टीमले पढेर केही गर्छ । यसविपरीत घरको अवस्था भने लाहुर जानैपर्ने थियो ।
गाउँघरको माहौल यस्तो थियो कि पैसाको मुख देख्न कि त वस्तुभाउ बेच्नुपथ्र्यो कि त नगदेबाली । पैसा खेलाउनेहरु लाहुर गएकाहरुको परिवार हुन्थ्यो । राम्रा खेतबारी, घर र तरुनीहरु समेत तिनैको हुन्थ्यो । विडम्वना टीमका पिता लाहुरे थिएनन् । घरको जेठो छोरा हुनुको नाताले समाजमा ‘स्तर’ कायम राख्नका लागि लाहुरे हुने अभिभारा टीमकै काँधमा आयो ।
सन् १९८० मा १७ वर्षको उमेरमा उनी भर्ती भए । त्यतिबेला उनी कक्षा १० पढ्दै थिए । भर्तीका बारेमा आफैँले भने त्यति सारो विश्लेषण गरेका थिएनन् । तर स्कुलका हेडसरले भने, ‘टीमले आर्मीमा भर्ती भएर गल्ती गर्यो ।’
आर्मीमा पाँच/छ साल राम्रैसित बित्यो । सन् १९८६ को कुनै एकदिन उनले महसुस गरे – ‘आमीमा भर्ती भएर गल्ती गरिएछ ।’ नहुनु जो भइसकेको थियो । अब थियो त्यसलाई सच्याउनु । पेन्सनको लागि हकदार भएपछि सन् १९९३ मा उनले आर्मीबाट स्वेच्छिक अवकास लिए ।
त्यसपछिको केही महिना नेपालमा बिताए । र, फर्किए हङकङ । काम गर्न थाले बहुर्राष्ट्रिय कम्पनीमा । सात वर्ष काम गरेपछि उनले सन् २००० मा आफ्नै व्यवसाय शुरु गरे । टीमको बानी यस्तो छ कि सबैकुरा योजनाअनुसार हुनुपर्छ । उनको योजना थियो – निश्चित उमेरपछि मनैले रोजेको काम गर्ने । ५० वर्ष पछिको जीवन उनले अन्तरहृदयले अह्राएको कामका लागि छुट्याए । र, सन् २०१० मा व्यवसाय छोरालाई हस्तान्तरण गर्दै लेखनमा ओर्लिए ।
।।।।।

Tim 4
युवावस्थामै लेख्थे टीम । लेख्दा मन हलुका लाग्थ्यो उनलाई । लेखनका ‘प्लट’हरु सर्रर आउँथे । ‘भगवानले मलाई लेख्ने शक्ति दिएका छन्’ उनलाई लाग्थ्यो । त्यो शक्तिलाई उनी असल कार्यका लागि प्रयोग गर्न चाहन्थे । छोराछोरी सानो हुञ्जेल लेखनलाई अँगाल्न सकेनन् । “करियर र व्यापारमा लाग्दा सोच्ने फुर्सदसम्म भएन” उनी भन्छन् ।
अवकासको योजना बनाएपछि सन् २००९ देखि उनले लेख्न शुरु गरे । ‘शुरुमा म दिनकाे ३/४ घण्टा लेख्थेँ’ उनले भने । किताब प्रकाशन भएपछि त्यसको व्यापार प्रबर्धन पनि आफैँले गर्न थाले । जसले उनको लेखाइलाई अलि मत्थर बनाइदियो । उनी भन्छन् ‘तर मलाई जुनसुकै बेला लेखनमा फर्कनमा कुनै समस्या छैन ।’
जतिबेला उनी लेख्न बस्छन् त्यतिबेला उनलाई आनन्द लाग्छ रे । लेखनमा लीन हुँदा मात्र उनलाई ‘आफू घरमा भएको आभास’ हुन्छ रे । शुरुमा उनलाई लेख्न अलि समस्या भयो भाषाका कारणले । ‘अंग्रेजी मेरो भाषा होइन । अंग्रेजीमा लेख्नु सजिलो पनि छैन’ उनी भन्छन् ।
औपचारिक अध्ययनका नाममा धम्पुसमा १० कक्षा पढेको बाहेक उनीसित औपचारिक शिक्षा छैन । अंग्रेजीका कुनै अतिरिक्त कक्षाहरु पनि उनले लिएका छैनन् । उनी भन्छन्, “मेरो काम हङकङका अरु नेपालीहरुको भन्दा बिल्कुल फरक थियो । घरमा श्रीमतीसित नेपालीमा कुरा गर्थेँ, स्टाफसित क्यानन्टोजिमा, छोराछोरी र विदेशका ग्राहकसित अंग्रेजीमा ।”
उनले कसरी अंग्रेजी बनाए त भन्ने प्रश्नमा उनी भन्छन्, “धेरै अंग्रेजी पुस्तक पढेँ । स्तरीय म्यागेजिनहरुको ग्राहक बनेँ । विदेशका ग्राहकसित पत्र व्यवहार गर्दा स्तरीय लेखन सिकेँ ।” शुरूमा उनी नेपालीमा सोच्ने अनि अंग्रेजीमा अनुवाद गरेर लेख्थे । अहिले भने अंग्रेजीमै सोच्छन् र अंग्रेजीमै लेख्छन् । “कथामा समस्या होइन त्यसलाई सही वाक्यमा, ठीकसित प्रस्फुटन गर्नु गाह्रो कुरा थियो” भनी भन्छन् ।

Books1

Books

गुरुङलाई लेखनमा सफल बनाउन सम्पादकको पनि महत्वपूर्ण हात छ । शुरुमा अनलाइनमा सम्पादक पाउन उनले सूचना प्रकाशित गर्दा कतिपयले शंकाले पनि हेरे तर अन्त्यमा उनले सम्पादक मात्र होइन असल मित्र पनि पाए ।
विश्वव्यापी समस्यामाथि उनी कलम चलाउँछन् । तर लेखनमा कसैबाट प्रभावित नभएको उनको स्पष्टोक्ति छ । “विद्यालय पढ्दा अरुबाट प्रभावित हुन धेरै कलिलो थिएँ उसो त पुस्तकहरु पनि पर्याप्त थिएनन्” उनले भने ।
हरेक वर्ष दुईवटा पुस्तक निकाल्ने गुरुङको योजना छ । उनी भन्छन् – “नाम र दामका लागि म लेख्दिनँ ।” आफ्नो लेखन समाज र मानव जातिको भलोको लागि समर्पित भएको उनी बताउँछन् ।
पुस्तकको बिक्रीबाट प्राप्त रकम उनले नेपालकाे शिक्षा क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । जसका लागि उनी आइएसएसएल केयर फाउण्डेसन पनि खोलिसकेका छन् । जसबाट गरिब, कमजोर र सहायता जरुरत भएका नेपाली बालबालिकालाई सहयोग गर्ने उनको योजना छ । उनी भन्छन्, “यो प्रतिज्ञा कुनै भावुकतामा बगेर वा किताब बेच्नका लागि गरेको होइन । जीवनभरको दृढताले यो निर्णय लिएको हुँ । यसलाई कुनै पनि मूल्यमा पूरा गरेरै छाड्छु ।”
आफ्नाे किताबको प्रबर्धन गर्न उनी कुनै एजेन्सी गुहार्न आवश्यक देख्दैनन् । भन्छन्, “मैले धेरै सरल र निम्नस्तरबाट जीवन शुरु गरेर कसैको सहायता बिना यहाँसम्म आएँ । त्यसैले अाफ्नाे पुस्तकको प्रबर्धन पनि एक्लैले गर्न किन सक्दिनँ होला र ?”
नेपालभित्र कम चर्चामा रहे पनि हङकङको सन्डे मर्निङ पोष्टको फिचरमा उनी छाइसकेका छन् । हङकङ बुक फेयरमा उनले स्टल राख्ने र पाठकसित भेट्ने मौका पनि पाइसकेका छन् । धेरैजसो युवावर्ग छन् उनका पाठक । नेपाली लेखकले अंग्रेजीमा लेखेको पुस्तक चिनियाँ बहुल समाजमा बिक्री गर्नु सुपारी फोर्नुजस्तै मुस्किल काम हो भन्छन् उनी । नेपाली हुनुले प्रचारमा ठगिएको महसुस गर्छन् उनी । भन्छन्, “यदि म श्वेत भैदिएको भए यतिबेलासम्ममा हङकङका सबै मिडियामा छाइसकेको हुन्थेँ ।”

Tim Gurung 1
।।।।
गोर्खा भर्तीका बारेमा उनको तीखो टिप्पणी छ । गोरखा हुनु ‘कुनै रोजाइ होइन’ उनी भन्छन् ‘बाध्यता हो’ । त्यसको कारक देख्छन् गरिबी । भर्ती नहुँदासम्म उनलाई यो यथार्थ थाहा थिएन । जब थाहा पाए तब सियोले घोचेजस्तै भयो ।
गोर्खा हुनुमा गर्व गर्नुपर्ने कुनै कारण देख्दैनन् उनी । “गोरखा हुनु इज्जतको कुरा होइन अपमान हो” भन्छन् उनी । गोरखाहरुलाई बेलायतले दुरुपयोग गर्यो र नेपालले पैसाका लागि बेच्यो । उनी तर्क गर्छन्, ‘एक देशको नागरिक अर्को देशको पक्षमा पैसाका लागि लड्दा कसरी इज्जत हुन्छ ?’

।।।।
तेज गतिको घोडाजस्तो लेखनलाई दौडाइरहेका गुरुङलाई पंक्तिकारको प्रश्न थियो, ‘कहिलेसम्म यसरी लेख्न सक्नुहुन्छ ?’ उनले भने, “अब म बाँकी जीवन यसरी नै लेखिरहन्छु । मलाई कथाको कुनै खाँचो छैन । वास्तवमा मसित अहिले नै अरु चारवटा पुस्तकका लागि कथा तयार छन् ।”
लेखनका बारेमा उनको स्पातजस्ता धारिला विचार छन् । भन्छन्, “कुकुर पनि लेखक, बिराला पनि लेखक । उनीहरुको भीडमा फरक देखिन गाह्रो छ ।” तथापि उनी चाहन्छन् ‘उत्कृष्ट लेखक नभए पनि असल लेखक’ बन्न ।
नेपालमा लेखनका बारेमा उनको तीखो टिप्पणी छ । “लेखन लामो, ढिलो र कठिन पेशा हो । नेपाल जस्तो गरिब देशमा यसको कुनै मूल्य र सम्मान छैन । भीड छ । त्यसमा असल नाम कमाउन गाह्रो छ । त्यसैले मैले ५० वर्ष कटेपछि मात्र लेख्न थालेको हुँ । कम्तीमा परिवारले भोकभोकै पर्न त पर्दैन । अरु पेशाका दाँजोमा लेखन महत्वपूर्ण र सम्मानित पेशा हो तर मानिसले मुस्किलैले यो कुरा बुझ्छन् ।”
अंग्रेजीमा लेखे पनि नेपालीहरुले आफ्नो काम थाहा पाउन्, पुस्तक पढून र चर्चा गरुन् भन्ने उनलाई लाग्छ छ । सामाजिक र विश्वव्यापी सवालहरुमा आफूले लेखेका पुस्तकले युवापुस्तालाई विश्वका बारेमा जानकारी दिन सहायता गर्ने आशा उनी गर्छन् । नेपालभित्र कुनै दिन आफ्नाे कार्यको पहिचान हुने र नेपाल र नेपालीले चिन्ने उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक