कैलाली घटना क्रुर र अमानवीय–महानिरीक्षक अर्याल

upendra

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल

 

धनगढी, १० भदौ । कैलालीको टीकापुरमा सोमबार सातजना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको घटनाको चार दिनपछि आज सरकारी उच्च सुरक्षा अधिकारीहरूको टोलीले घटनास्थलको अध्ययन गरेको छ ।

टोलीले प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीको हत्या भएको स्थलको अध्ययन अवलोकन गरी घटनाबारे जानकारी लिएको हो । घटनास्थलको अध्ययनपछि सुरक्षा अधिकारीले हत्या गरिएका दुई वर्षीय बालकको मुनुवा गाविस–६स्थित घरमा पुगेर शोकाकूल परिवारका सदस्यलाई संवेदना दिएका छन् ।

अध्ययनकै क्रममा टीकापुर इलाका प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घटनाबाट विचलित नभई निडर भएर शान्ति सुरक्षाको काममा आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।

अवलोकनपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले टीकापुरमा भएको घटना क्रुर र अमानवीय भएको भन्दै अपराधीलाई कानुनको कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

टोलीमा अर्यालसहित गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी सहभागी थिए ।

गत सोमबार थारुहटका कार्यकर्ताको प्रदर्शनका क्रममा भएको आक्रमणमा परी प्रहरी वरिष्ठ उपरीक्षक न्योपानेसहित सात प्रहरी र घरमै खेलिरहेका एक बालकको मृत्यु भएको थियो ।

घटनामा घाइते भई उपचारमा रहेका थप एक प्रहरीको गएराति मृत्यु भएपछि टीकापुर घटनामा मृत्यु हुने प्रहरीको सङ्ख्या आठ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री