सुशीलको स्पीनतर्फ जादुमयी बलिङको कीर्तिमान

सुशिल कंडेल दायां । फाइल तस्विर

सुशिल कंडेल दायां । फाइल तस्विर

काठमाडौँ, २३ भदौ । युवा बलर सुशील कँडेलले भर्खरै मलेसियामा सम्पन्न एसिसी यु–१९ प्रिमियर लिग क्रिकेटमा कीर्तिमानी बलिङ गरेर विश्व क्रिकेटमा आफूलाई अब्बल सावित गरे ।

मलेसियामा भएको खेलमा सुशीलले ४ खेलमा ११ विकेट लिएर आफूमा निकै प्रतिभा भएको सावितसमेत गरे । साउदी अरबविरुद्ध भने उनले १० ओभर बलिङ गर्दै ९ मेडन राखेर यु–१९ क्रिकेटमा नयाँ कीर्तिमानसमेत राखेका थिए । यसअघि भारतका गौतम दुर्गेश्वर दत्तले इङ्ग्ल्यान्डविरुद्ध सन् १९९३ मा ९ ओभरमा ७ मेडन राखेका थिए । दत्त र सुशील दुवै बायाँ हाते स्पीनरसमेत हुन् ।

यस उमेर समूहमा भने आयरल्यान्डका जर्ज डकरेलले सन् २०१२ मा विश्वकपअन्तर्गत यसै किसिमको कीर्तिमान राखेका थिए । उनले १० ओभर नै बलिङ गर्र्दै ६ ओभर मेडनको कीर्तिमान कायम गरेका थिए ।

कँडेलले बलिङको क्रममा जुन पुरानो कीर्तिमान समेतलाई तोडे त्यो उनका लागि करियरकै एक खुसीको क्षणसमेत बन्न पुग्यो । आफ्नो स्पीन बलिङबाट प्रतियोगिता भरनै उनले अफगानिस्तानका खेलाडीबाहेक सबैलाई काबुमा ल्याउने काम गरे । त्यसकै परिणाम स्वरुप नेपालले तीन पटक १०० भन्दा कम स्कोरमा समेटेको थियो ।

हाल स्पीनबाट आफ्नो जादुमयी बलिङलाई अगाडि बढाएका उनले यसअघि तीव्र गतिको बलिङ गर्थे । सुशीलले राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेट प्रशिक्षक राजु खड्काको सल्लाहमा तीव्र गतिको बलिङलाई छोड्दै स्पीन बलिङलाई रोजेका थिए, जुन सल्लाह उनलाई हाल आएर वरदान सावित भएको छ ।

यसअघि तीव्र गतिको बलिङ गर्ने गरेका उनी आफ्नो करियरमा खासै परिचित थिएनन् । स्पीन बलिङतर्फ प्रवेश गरेको एकै वर्षमा उनी यु–१९ अन्तर्गत सन् २०१२ मा अस्टे«लियामा भएको विश्वकप छनोटमा समेत २४ सदस्य टोलीमा परेका थिए । यसअघि उनी यु–१९ को राष्ट्रिय खेलमा वीरगन्जविरुद्ध एकै खेलमा पाँच विकेट लिएपछि उक्त टोलीमा परेका थिए । तथापि उनले अनुभवी सिनियर खेलाडी टोलीमा भएका कारण खेल्ने अवसर भने प्राप्त गरेनन् ।

हाल सफलताको शिखरमा अगाडि बढेका सुशील भन्छन् —मैले अझै धेरै गर्नुपर्नेछ । त्यसका लागि निकै मेहनत गर्नेछु । उनले भने “मलेसियामा राखेको उक्त कीर्तिमानको श्रेय राजु गुरुलाई दिनेछु । उहाँको कारणले यो सफलता हात पारेको हुँ ।

पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजु भन्नुहुन्छ “सुशील निकै प्रतिभावान खेलाडी हुन् । उनी मेहनती पनि छन् । त्यसैले अवसर पाएको खण्डमा उनले यो भन्दा ठूलो सफलता दिलाउन सक्छन् ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री