अर्यालले एनआरएनको युवा संयोजकमा उम्मेदवारी दिने

nirmal 2फ्रान्स । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले आगामी अक्टोबरमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । आफ्नो भावना, योग्यता, कार्यशैली, क्षमता, संघ भित्र र बाहिरको सामाजिक क्रियाकलापमा हांसिल गरेको अनुभव आदिको मूल्यांकन गर्दै युवा संयोजकको पदमा उम्मेदवारी दिन इच्छुक भएको उनले जनाएका छन् ।

आफूलाई मौका दिइए संघमा भावी पुस्ता आकर्षण हुने उनको विश्वास छ । 
उनले केही योजना समेत सार्वजनिक गरेका छन् । रोजगारीका लागि हजारौं युवा विदेश गइरहेको अवस्थामा नेपालमै रोजगारी 
सृजना गर्न सम्वन्धित सरकारी तथा गैर सरकारी निकायहरुकोसंग सहकार्यमा कम्पनी निर्माण गर्न सहयोग गरी उद्यमी कौशलताको विकास गर्ने, विदेश अध्ययन गर्न आउने विद्यार्थीलाई उपयोगी हुने जानकारी मुलक पुस्तिका तयार गर्ने, रोजगारी र अध्ययनका लागि बाहिर जाने व्यक्तिलाई निज जाने देशमा राष्ट्रिय समन्वय परिषद स्थापना भएको भए त्यस परिषदका युवा प्रतिनिधि र महिला प्रतिनिधिसंग सम्पर्क गर्ने प्रयोजनका लागि निजहरुको नाम, ठेगाना, फोन र इमेल उपलव्ध गराउन काठमाडौं सचिवालयमा आवश्यक व्यवस्था गरि अन्तर्राष्ट्रिय विमानस्थलमा समेत त्यस्तो सुची राख्ने उनको योजना छ । साथै, कुटनैतिक नियोगसंग सहकार्य गरेर दोस्रो पुस्ताका प्रवासमा रहेका युवायुवतीलाई नेपालबारे दख्खल बनाउने र सदभावना दूत बनाएर नेपालको पर्यटन र विविध क्षेत्रमा टेवा पुर्याउने उनको योजना छ ।

गोरखा स्थायी घर भएका अर्याल सन् १९९० यता फ्रान्समा छन् । उनले फ्रान्स आएर माध्यमिक तहबाट आफ्नो अध्ययन शुरु गरी सिभिल इन्जिनियरिंगमा 
मास्टर्स डिग्री गरे । त्यसपछि अर्याल सन् २०१० मा सस्टेनेवल हाउजिंग एण्ड कन्सट्रक्सन विषयमा एमफील स्पेसलाइज्ड मास्टर्स डिग्री गर्न सफल भए । 
मास्टर्स डिग्रीपछि जागिरे पेशामा लागेका उनी हाल एक अन्तर्राष्ट्रिय संस्थानमा आफ््नै विशेषज्ञता विषयमा मेनेजर तहमा कार्यरत छन् ।

गैर आवासीय नेपाली संघ फ्रान्सका जन्मदाता उनका बुवा हरिहर अर्याल सन् १९८० देखि फ्रान्समा रहेर पनि नेपालमा विभिन्न सामाजिक काममा संलग्न रहेको र साथीहरुको संगतले सामाजिक कार्यमा आफू धेरै अभिप्रेरित हुंदै गएको उनले बताएका छन् ।

सन् २००७ देखि ००९ सम्म राष्ट्रिय समन्वय परिषद फ्रान्सको युवा प्रतिनिधि भएर काम गरेका अर्याल सन् २०११ देखि १३ सम्म अध्यक्ष थिए ।

परोपकार र सामाजिक सेवा केही वर्ष यता आफ्नो दोस्रो पेशा जस्तै हुन पुगेको उनी बताउंछन् । उनी हाल आफू बसेको शहरको एउटा अन्तर्राष्ट्रिय सहकारी बैंक क्रेडिट म्यूटिइल शाखाको संचालक समितिको ६ वर्षदेखि अध्यक्ष छन् । उनले सन् २०१२ देखि ०१४ सम्म आफू बसेको शहरको (लगभग एक लाख जनसंख्या) नगरपालिका अन्तर्गत विदेशी नागरिक र विदेशी मूलका नागरिकको हकहित सम्वन्धि समितिको निर्वाचित अध्यक्ष भएर पनि काम गर्ने अवसर पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री