कारमा १८ मुनीका केटाकेटी छन् ? उसो भए अब चुरोट पिउन पाउनुहुन्न

_85839603_driver

लन्डन । कारमा १८ वर्ष मुनीका केटाकेटी चढेका छन् भने त्यो बेला धुमपान गर्न नपाइने कानुन अक्टोबर १, बिहीबारदेखि लागू भएको छ । इंग्ल्याण्ड र वेल्स् मा लागू गरिएको उक्त कानुनले सवारी चालक र यात्रु दुवैलाई केटाकेटी चढेका बेला कारभित्र सिगरेट पिउन नपाइने गरि प्रतिवन्ध लगाएको छ । उक्त कानुन उल्लंघन गरे ५० पाउण्ड जरिवाना र प्रहरीले तत्काल रोकेर केरकार गर्नेछ ।
यदि गाडीको झ्याल र छत खुल्ला छ भनेर चुरोट ताने पनि यस कानुनको भागिदार हुनुपर्ने बीबीसी समाचारमा उल्लेख छ ।

स्कटिस संसदले पनि आउंदो वर्ष देखि केटाकेटी रहेका बेला धुमपान गर्न नपाउने नियम ल्याउने अपेक्षा छ । यस्तो कानुन क्यालिफोर्नियासहित केही अमेरिकी राज्य, क्यानाडाका केही भाग र अष्टेलियामा लागू भइसकेको छ ।

ब्रिटिश लंग फाउण्डेशनले प्रत्येक साता चार लाख तीस हजार वालवालिका अरुले पिएको चुरोटबाट प्रभावित हुन पुगेका जनाएको छ ।

तर, यो कानुन कार्यान्वयन कति प्रभावकारी होला भन्ने वहस पनि आरम्भ भएको छ । पुलिस फेडेरेसनका अध्यक्ष स्टिभ ह्वाइटले बीबीसी रेडियो फोरसंग कुरा गर्दै नियम कार्यान्वयन गर्न सांच्चिकै चुनौती रहेको बताएका छन् । स्टिभले लुटपाटमा संलग्नलाई पक्राउ गर्न त प्रहरीलाई संघर्ष भइरहेका बेला कारमा कसले चुरोट पिइरहेको छ हेर्न कति सहज होला भन्ने प्रश्न गरेका छन् । नेशनल पुलिस चिफ काउन्सिलका प्रवक्ताले नयां कानुन लागू गर्ने सिलसिलामा प्रहरी बलले शिक्षामुलक र सुझावयुक्त सन्देश दिने नीति अवलम्बन गर्ने बताए ।

कुन कानुन कहिलेदेखि ?
बेलायत सरकारले सन् १९६५ देखि टेलिभिजनमा सिगरेटको विज्ञापन गर्न रोक लगाएको हो । सन् १९७१ मा सबै सिगरेट प्याकेटमा स्वास्थ्य सम्बन्धि चेतावनी लेखिनुपर्ने घोषणा भयो । सन् १९८४ मा लन्डन ट्युवमा धुमपान गर्न प्रतिवन्ध लगाइयो । सन् २००२ मा सूर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्धन र प्रायोजन गर्न रोक लगाइयो । सन् २००५ मा सबै रेलमा चुरोट पिउन नपाइने नियम लागू भयो । त्यसैगरि, सन् २००६ मा स्कटल्याण्डमा बार, रेष्टुरेन्ट र सार्वजनिक स्थानमा चुरोट पिउन प्रतिवन्ध लाग्यो । त्यसको एक वर्षपछि इंग्ल्याण्ड, वेल्स् र नर्दन आयरल्याण्डले सार्वजनिक स्थानमा सिगरेट खान नपाइने आफ्नै कानुन बनाए । सन् २००८ मा सिगरेटका हरेक प्याकेटमा स्वास्थ्यमा असर पर्ने सम्वन्धि चेतावनीयुक्त तस्विर छाप्नुपर्ने नियम आयो । सन् २०१२ मा ठूला पसलले चुरोट देखाएर विक्री गर्न नपाइने कानुन सार्वजनिक गरियो भने सन् २०१५ मा साना पसलले समेत देखाएर विक्री गर्न नपाइने कानुन आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री