अघोषित नाकाबन्दीले औषधि पुरयाउन समस्या

काठमाडाँै, १५ असोज । भारतले गरेको अघोषित नाकाबन्दीका कारण औषधिको अभावमा विरामीको अकालमै मृत्यु हुने अवस्था सिर्जना भएकाले सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाल स्वास्थ्य विज्ञान व्यवसायी सङ्घ, काठमाडौँ र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिको आयोजनामा आज यहाँ भएको ‘अघोषित नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा परेको प्रभाव र समाधान’ विषयक अन्तरक्रियामा तिनीहरुले पेट्रोलियम पदार्थको अभावका कारण मौज्दात औषधिसमेत सम्बन्धित स्थानमा पुरयाउन नसकिएको बताएका हुन् ।

औषधि व्यवसायी सङ्घका महासचिव हरि बिँडारीले करिब तीन महिना पुग्ने औषधि मौज्दात रहेको जानकारी दिँदै आफूहरु अभाव भएका जिल्लामा पुरयाउन तयार रहेको त्यसका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवा विभागका उपसचिव डा रमेश खरेलले भारतबाट मात्र नभई अन्य तेस्रो मुलुकबाट पनि औषधि आयात गर्दै आइरहेकाले औषधिको अभाव भने नहुने तर सम्बन्धित स्थान पुरयाउन समस्या भइरहेको बताए ।

नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले भारतको अघोषित नाकाबन्दीलाई भन्दा तराईका नेताले गरेको घोषित नाकाबन्दीलाई कसरी मत्थर गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

स्वास्थ्य विज्ञान व्यवसायी सङ्घका अध्यक्ष नवराज बस्नेत, भेटेरिनरी आयातकर्ता सङ्घका अध्यक्ष डा हर्षरत्न शाक्यलगायतले तराई बन्दका कारण ५० दिनदेखि आपूर्तिमा समस्या भइरहेका बेला भारतको नाकाबन्दीले झन् मर्माहित पारेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री