केपी ओली ः झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्म

1444465065231_Pro-Ktm-UML PM (1)

काठमाडौँ, २४ असोज । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।

छैटौँ वाम प्रधानमन्त्री 

मुलुकको दोस्रो ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ पहिलो ठूलो दल नेपाली काँग्रेसबाहेक अन्य दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको छ । मुलुकको ३८औँ प्रधानमन्त्री उहाँ छैटौँ वामपन्थी प्रधानमन्त्री पनि हुनुभएको छ । पहिलो वाम प्रधानमन्त्री पनि एमालेकै तत्कालीन अध्यक्ष मनमोहन अधिकारी हुनुभएको थियो ।

राष्ट्रिय एकतामा अविचलित  

वाक्पटुतायुक्त र लामो समय जेलनेल भोगेका नेता ओली पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको कोखबाट इवा–२, तेह्रथुममा २००८ साल फागुन ११ (सन् १९५२,०२,२३) मा जन्मनुभएको थियो । पछि रणामती–६, झापामा बसाइँ सर्नुभएका उहाँ त्यहीँबाट सक्रिय राजनीतिमा होमिनुभएको हो । झापा विद्रोहकालीन एक मात्र जीवित नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आउनुभएको छ ।

यसअघि मुलुकको उपप्रधानमन्त्री तथा गृहमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँ राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा पनि निडर तथा खरो देखिनुभएको छ । पछिल्लो समयमा पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै तेस्रो र चौथो ठूलो दल एमाओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतको समर्थनमा उहाँ कार्यकारी प्रमुख बन्नुभएको हो ।

पार्टी र संसद्का जिम्मेवारी 

विसं २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्षमा माधवकुमार नेपालसँगको प्रतिस्पर्धामा अध्यक्ष हुनुभएका उहाँ २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता हुनुभएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं ७ बाट निर्वाचित उहाँ विसं २०४८ र २०५१ मा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो भने २०५१ मङ्सिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । विसं २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभामा निर्वाचित भई पार्टीको संसदीय दलको उपनेता हुनुभएका ओली २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत बन्नुभयो । विसं २०७० मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित हुनुभएका उहाँ आफ्नो अडानमा स्पष्ट मानिनुहुन्छ ।

हतियारबद्ध सङ्घर्षदेखि शान्तिपूर्ण रुपान्तरण 

विसं २०२७ को झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध सङ्घर्ष वा शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने बहसमा उहाँले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखे पनि पार्टीको निर्णय मानी सशस्त्र सङ्घर्षमा समेत होमिनुभयो । अन्ततः विसं २०४६ को वाम प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो, त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रुपान्तरणको बाटो लियो । अध्यक्ष ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सिद्धान्त र त्यसको कार्यक्रम निर्माणका महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०२५ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गर्नुभएका उहाँले २०२६ सालमा सङ्गठित सदस्यता पाउनुभयो भने विसं २०२३ मा माक्र्सवादी अध्ययन दलमा सङ्गठित हुनुभयो । विसं २०२६ मै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उपसचिवको जिम्मेवारीमा पुग्नुभएका उहाँ २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीसँगको एकीकरण अभियानका अगुवा बन्नुभयो ।

विसं २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले)को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बहन गर्नुभएका ओली २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारीमा पुग्नुभयो । विसं २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बनेका ओली २०४९ देखि २०७१ असारसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य रही पार्टीको शीर्ष र लोकप्रिय नेताको स्थानमा रहनुभयो ।

कारागार जीवन 

विसं २०२८ वैशाखमा तत्कालीन पूर्वकोसी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएपछि २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा ओली अघि सर्नुभयो । पञ्चायतविरोधी आन्दोलन र प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उहाँ विभिन्न पटक जेल पर्नुभयो । पहिलो पटक उहाँ २०२७ फागुन १६ गते झापाबाट गिरफ्तारीमा पर्नुभयो र त्यसबीचमा पटक पटक गरी १० पटकभन्दा बढी गिरफ्तारीमा पर्नुभयो । उहाँको २०३० असोज २३ गतेदेखि लामो जेल जीवन प्रारम्भ भयो । रौतहट गौर जेल, गौर थाना हुँदै वीरगन्ज थाना र २०३० मङ्सिर ८ गते उहाँलाई भद्रगोल जेल काठमाडौँमा चलान गरियो । पछि केन्द्रीय कारागार, नख्खु जेलमा बस्दै गर्दा २०३६ जेठमा जेलमुक्त हुनुभयो । पछि फेरि २०३७ म गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा हुनुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ माघ १९ को कदमपछि उहाँले नजरबन्द पनि भोग्नुभयो ।

अध्ययन 

राजनीतिक आन्दोलन र जेल जीवनका कारण औपचारिक अध्ययनमा पछाडि देखिए पनि ओलीको स्वाध्ययनले राजनीतिक जीवनलाई कमजोर बनाएको छैन । औपचारिक शैक्षिक योग्यतामा सामान्य अध्ययन गरेका ओली राजनीति शास्त्रमा मानार्थ विद्यावारिधि प्राप्त हुनुहुन्छ । हाल अनन्तलिङ्गेश्वर–२, बालकोट भक्तपुरमा बस्दै आउनुभएका उहाँ मदन भण्डारी मेमोरियल फाउन्डेसनका संरक्षक हुनुहुन्छ । उहाँले विश्वको डेढ दर्जनभन्दा बढी मुलुकको भ्रमण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री