नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान गर्ने

काठमाडौँ, २६ असोज । मलेसियामा हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा १७ सदस्यीय नेपाली टोलीलाई क्यानका पदाधिकारीहरुले सफलताको शुभकामना दिँदै बिदाइ गरे । टोलीमा १४ सदस्यीय खेलाडीसहित तीन जना पदाधिकारी छन् ।

टोली आज मध्याह्न १२ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने क्यानले जनाएको छ । यही असोज २६ गतेदेखि सञ्चालन हुने उक्त छनोट प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा र पपुवा न्युगिनी सहभागी छन् ।

नेपालले भने आफ्नो पहिलो खेल यही असोज २८ गते बिहीबार पपुवा न्युगिनीसँग खेल्नेछ भने दोस्रो खेल शुक्रबार युगान्डासँग खेल्नेछ । यसअघि नेपाली टोली मलेसियामा भएको १९ वर्ष मुनिको आइसिसी प्रिमियर लिगको उपविजेतासमेत बनेको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप च्याम्पियनसिप खेल्न पाउनेछ । उन्नाइस वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्र वेष्ट इन्डिज, अस्ट्रेलिया, जिम्बाब्वे, बङ्गलादेश, वेलायत, न्युजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र भारत सहभागी हुनेछन् ।

यस्तै, उक्त प्रतियोगिताका लागि स्कटल्याण्ड, अफगानिस्तान, नामिबिया र क्यानाडाले छनोट चरण पार गरिसकेका छन् । उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले भारतको नयाँ दिल्लीमा दुई हप्ता अभ्यास गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री