म्याच फिक्सिङका खेलाडीले बयान फेरे, थप १७ दिन हिरासतमा

राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा

राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा

काठमाडौँ, १० कात्तिक । विशेष अदालतले ‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेका पाँच खेलाडीलाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेको छ ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरू भूपेन्द्र राई र पवनकुमार शर्माको इजलासले आज गत असोज २७ गतेदेखि लागू हुने गरी १७ दिनका लागि म्याद थप गरेको हो ।

आदेशमा म्याच फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री तथा प्रशिक्षक अन्जन केसीलाई थप अनुसन्धानका लागि पक्राउ परेको मिति गत असोज २७ को मितिले १७ दिन म्याद थप गरेको उल्लेख छ ।

उक्त आरोपमा खेलाडीलाई पक्राउ गरेको आज १४ दिन वितिसकेको हुनाले अब तीन दिनका लागि मात्र म्याद थप भएको छ ।

प्रहरीले अहिलेसम्मको अनुसन्धानका क्रममा खेलाडीहरूले म्याच फिक्सिङ गरेको स्वीकार गरिसकेकाले उनीहरूलाई राज्यविरुद्धको अपराधमा पक्राउ गरी अनुसन्धानका लागि २० दिनको समय माग गरेको थियो ।

खेलाडीले बयान फेरे

प्रहरी हिरासतमा रहँदा ‘म्याच फिक्सिङ’ स्वीकार गरेका खेलाडीले आज अदालत परिसरमा उपस्थित हुँदा भने बयान फेरेका छन् ।

पक्राउ पर्नासाथ दसैँ बिदा परेकाले खेलाडीलाई लामो समयसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धानपछि आज अदालत उपस्थित गराइएको थियो ।

खेलाडीहरू पक्राउ परेलगत्तै भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरूलाई पश्चाताप भइरहेको बताएका भए पनि थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले आज विशेष अदालत पुरयाएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय टोलीका निलम्बित कप्तान सागर थापाले आफूहरू निर्दोष भएको दाबी गरे ।

सञ्चारकर्मीमाझ उनले भने, “हामीले देशका लागि १५, २० वर्ष खेल्यौं । हामीलाई अहिले तपाइँँहरूको साथ चाहिएको छ । हामी निर्दोष छौँ ।” उपकप्तान सन्दीप राईले घटना अनुसन्धानका क्रममा रहेकाले सबै कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताए ।

यसअघि खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान थापासहित अन्य चार खेलाडीले आफूहरूमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका थिए ।

अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभएको थियो ।

उनीहरूले सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रतिखेलाडीले ५ हजार अमेरिकी डलर, सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा तीन हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा प्रतिखेलाडी पाँच हजार अमेरिकी डलर लिएको अनुसन्धानका क्रममा खुलेको जनाइएको छ ।

सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा प्रति खेलाडी पाँच हजार डलर, सन् २०१२ मा भारतमा भएको नेहरू कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार डलर लिने गरी सर्त भएकोमा खेलको अन्ततिर गोलकिपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोमा रकम नपाएको लगायतका तथ्य खुल्न आएको प्रहरीले जनाएको छ ।

खेल मिलेमतो गरेवापत सिङ्गापुरका नागरिक टिटानी पेरियासामी र केशभन पत्तनसलगायत एजेन्टबाट मनी ट्रान्सफरमार्फत रकम लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

राष्ट्रिय टोलीबाट ५० भन्दा बढी खेल खेलिसकेका कप्तान थापाले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन् । रितेश र सन्दीप पनि राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । सन्दीपले राष्ट्रिय टोलीबाट ४९ खेल खेलिसकेका छन् । अञ्जन थ्री स्टार क्लबका पूर्वप्रशिक्षकसमेत हुन् । विनाशकारी भूकम्पपछि गत वैशाख १२ गते रोकिएर गत भदौ २८ मा राष्ट्रिय लिग पुनः सुरुहुँदा व्यक्तिगत कारण देखाउँदै अञ्जन थ्री स्टारबाट अलग्गिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री