नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा उम्मेदवारी दिए

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एकीकृत नेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउदै साथमा नेताहरु । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एकीकृत नेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउदै साथमा नेताहरु । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस

काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर उहाँले आज दिउँसो १२ः४५ बजे उम्मेदवारी दर्ता गराएका हुन्  ।

उनको प्रस्तावकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी छन् ।

तत्कालीन माओवादीले दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा माओवादी सेनाको लडाकु कमान्डर रहनुभएका पुन दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग पराजित भएका थिए ।

राङसी–९ रोल्पा जिल्लाका स्थायी बासिन्दा पुनको उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव कृष्णबहादुर महरा, तथा एमाले, एमाओवादी र सत्ता गठबन्धनमा रहेका दलका नेता एवम् सांसदहरुको उपस्थिति थियो ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले पार्टीको निर्णयअनुसार नै आफू उम्मेदवार बनेको र आफू पूर्णरुपमा विजयी हुने विश्वास व्यक्त गरे ।  नयाँ संविधानको सहज कार्यान्वयन र पालना गराउनु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले मुलुकमा बाँकी रहेका काम र संविधानको संरक्षण गर्न आफ्नो प्रमुख भूमिका रहने बताए ।

पुनले भने, ‘‘राष्ट्रलाई एकताबद्ध गरेर सयौँ जातजातिलाई एउटै मालामा समाहित गर्न म प्रतिबद्ध भएर लाग्नेछु, मुलुकको समृद्धिको चाहनालाई पूरा गर्न प्रयत्न रहनेछु ।’’

संसद्मा रहेका सबै दलले एकमतले मतदान गर्ने र विजयी गराउने उनको विश्वास थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री