भाइटीकाको साइत ११ः५५ मा

Bhai-Tika-Wishes-in-Nepali

काठमाडौँ, २० कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ ।

तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने ।

उज्यालो, पशुपक्षी पूजा, भ्रातृभगिनी प्रेम, मिठाइ र सेलरोटी सेवन, फूल तथा मुलुकको मौलिक नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक कात्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ । कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार पर्ने समितिले जनाएको छ । काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई मीठा खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ ।

नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी पस्दैन भन्ने छ । धार्मिक रुपमा नरक जानु नपर्ने र सुख शान्ति मिल्ने विश्वास रहेको प्रा डा गौतमले जानकारी दिए ।

कात्तिक २५ गते लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने पनि उनले जानकारी दिए । त्यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा छ ।

कात्तिक २६ गते गाईपूजा, गोबद्र्धन पूजा, गोरु र नेवारी समुदायको म्ह(आत्म)पूजा गरिन्छ । यसै दिन कात्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि सुरु हुन्छ । यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ । कात्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री