संसदबाटै समस्याको समाधान खोज्न मधेसवादी दललाई काँग्रेसको अपिल

nepali-congress-flag-565x400

काठमाडौँ, २१ कात्तिक । नेपाली काँग्रेसले तराईमा आन्दोलनरत दलहरूले जनताप्रतिको जिम्मेवारी बोध गरी आन्दोलनबाट भन्दा पनि संसदमा आएर आफ्ना बिचार राखी संसदबाटै समस्याको समाधान खोज्न अपिल गरेको छ ।

‘संसदलाई सबै समस्याको समाधान खोज्ने थलोका रुपमा विकसित गरी पहिलो चरणमा संविधान संसोधनका लागि पहल गरी संसदबाट समाधान खोज्दा राष्ट्र र जनता प्रतिको जिम्मेवारी बहन हुने नेपाली काँग्रेसको ठहर छ ।

संसदबाट खोजिने हरेक समाधानमा नेपाली काँग्रेस तराई मधेसका जायज मागको सम्बोधन गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्दछु ।,’ नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलद्वारा आज जारी अपिलपत्रमा उल्लेख गरिएको छ ।

काँगे्रसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समावेशीता र समानुपातिक सहभागिता तथा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संसोधन प्रस्ताव अगाडि बढाउन आगामी संसदको बैठकबाट पहल सुरु गर्ने निर्णयसमेत गरिसकेको जनाइएको छ ।

लामो समयदेखि तराई मधेसमा जारी आन्दोलनले तराई मधेस मात्र नभएर सिङ्गो मुलुक आक्रान्त बनेको छ , तराई मधेसमा जारी आन्दोलनले आम नागरिकको जीवनयापन समेत कष्टकर बन्दै गएको छ जारी अपिलपत्रमा भनिएको छ, ‘नेपाली काँग्रेस तराई मधेसमा देखिएका समस्या समाधानका लागि सधै तयार रहेको जानकारी गराउँदै काँग्रेस नेतृत्वको सरकारले अन्तरिम संविधानमा समावेश भएका तर संविधानसभाबाट जारी नयाँ संविधानमा छुटेका समावेशीता र समानुपातिक सहभागिता तथा जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराइसकेको समेत स्मरण गराउन चाहान्छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री