राहत तथा पुनर्निर्माणका लागि युएसमा दस करोड रुपैयाँ संकलन

henn_relief1

वाशिंगटन डीसी । हेल्प नेपाल नेटवर्क युएस शाखाले नेपालमा भूकम्प पछिको राहत तथा पुनर्निर्माणका लागि अहिलेसम्म दस लाख अमेरिकी डलर (झन्डै दस करोड रुपैया) संकलन भैसकेको जनाएको छ ।

सो रकम मध्ये पाँच करोड रुपियाँ बराबरको राहत सामग्री स्वयंसेवीहरुको सहयोगमा हेल्प नेपाल नेटवर्कको काठमाडौँ कार्यालयले भूकम्प प्रभावित १७ जिल्लाहरुमा वितरण गरिसकेको पनि नेटवर्कले जनाएको छ ।

गत वैसाख महिनामा नेपाल  विध्वंसकारी भूकम्प जानासाथ नेटवर्कले संसारभरि फैलिएका नेपालीहरु तथा नेपालका मित्रहरुलाई सहयोगका लागि अपिल गरेको थियो ।

“हामी हाम्रो अपिलप्रति सहयोगदाताहरुले दर्शाउनु भएको प्रतिक्रियाबाट अत्यन्तै उत्साही भएका छौं। हामी सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ,” शाखाका अध्यक्ष अभय श्रेष्ठले भने । उनले सबै स्वयंसेवक तथा साझेदार संस्थाहरुप्रति आभार पनि व्यक्त गरे ।

नेटवर्कले संकलित रकमबाट अस्थायी आवासहरु, अस्थायी सिकाई केन्द्रहरु तथा शौचालय बनाउन सहयोग गरेको थियो । तेस्तै १० जिल्लाहरुमा स्वास्थ्य शिविरहरु संचालन गरिएको थियो ।

दोस्रो चरणमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा सघाउने पनि नेटवर्कले जनाएको छ ।

हेल्प नेपाल नेटवर्कले शिक्षा विभागसँग मिलेर भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माण नमुना तयार गर्न पनि काम गरिरहेको छ । सिन्धुपाल्चोक र नुवाकोटमा सहयोगका लागि केही विद्यालयहरु छनोट गरिसकिएको र सन् २०१६ मा खासगरी विद्यालय पुनर्निर्माणमा ध्यान केन्द्रित गरिने पनि श्रेष्ठले जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री