भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन

भारतले गरेको अघोषित नाकाबन्दी विरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन गर्दै नेपालीहरु । तस्बिरः अग्नी चौँलागाई, अमेरिका,रासस

भारतले गरेको अघोषित नाकाबन्दी विरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन गर्दै नेपालीहरु । तस्बिरः अग्नी चौँलागाई, अमेरिका,रासस

क्यालिफोर्निया (अमेरिका), ७ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ ।

अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्थाहरूले संयुक्त रूपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको विरोध प्रदर्शनमा चार हजार भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो । उक्त विरोध प्रदर्शन नेपालीहरूबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ । यस अघि प्रदर्शनकारीहरूले ह्वाइट हाउसदेखि अमेरिकास्थित भारतीय दूतावास रहेको ठाउँसम्म रयाली निकालेका थिए ।

एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)ले आज भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रपति बाराक ओबामासमक्ष एक ज्ञापनपत्र बुझाउने जनाएको छ । नाकाबन्दीको विषयमा अमेरिकी सिनेटरहरूलाई यसअघि नै ज्ञापनपत्र बुझाइएको थियो भने सिनेटरबाट प्राप्त पत्र रयालीमा पढेर सुनाइएको थियो । अमेरिकास्थित क्रियाशील नेपाली संस्थाहरू एएनए, वाना, आन्मा, नासा र एनआरएन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो ।

मधेसवादी दलहरूको आन्दोलनलाई आधार बनाएर सीमा सुरक्षाको नाममा भारतले नाकाबन्दी गर्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताको उल्लङ्घन गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री