‘लस्ट इन ट्रान्जिसन’ लिएर गौतम

lost in transition FinalSW

काठमाडौंमंसिर २२ । नेपालको दसक लामो संक्रमणकालको नालीबेलीसहित चिरफार गर्दै संयुक्त राष्ट्र संघका पूर्व उच्च कूटनयिक कुलचन्द्र गौतम लेखकका रुपमा उपस्थित हुँदैछन् ।

संक्रमणलका उतारचढावको विश्लेषणसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिकाको आलोचनात्मक दृष्टिकोणको उनको अंग्रेजी पुस्तक लस्ट इन ट्रान्जिसनः रि बिल्डिङ नेपाल फ्रम दी माओइस्ट मेहेम एन्ड मेगा अर्थक्वेक’ पब्लिकेशन्स् नेपालयले प्रकाशन गर्दैछ ।

माओवादी द्वन्द्वदेखि संविधान निर्माणको कष्टसाध्य राजनीतिक संक्रमण र महाभूकम्पसम्मका विषयको पुस्तकमा राष्ट्र पुनःनिर्माणका आशा र योजना समेटिएका छन् ।

सशस्त्र द्वन्द्वको समाधान खोज्न संयुक्त राष्ट्र संघको पहलबारे पहिलोपटक वकालत गर्नेमध्येका गौतमले शान्ति प्रकृयामा अन्तर्राष्ट्रिय समूदाय र स्वयं राष्ट्रसंघीय पदाधिकारीका पूर्वाग्रहको विनासंकोच उजागर गरेका छन् ।

 ‘मेरो जीवन र अनुभवहरुको दस्तावेजीकरण गर्ने सिलसिलामै यो पुस्तक तयार भएको हो,’ गौतम भन्छन्, ‘यसमा उल्लेखित अनुभव र दिइएका सुझाव मुलुकको पुनःनिर्माण निम्ति सबैलाई उपयोगी भइदिए मलाइ सन्तुष्टि मिल्नेछ ।

संविधान घोषणा र त्यसपछिको अवस्थासम्मका नाटकीय घटनाक्रमको चाखलाग्दो विश्लेषण र टिप्पणी गरिएको महत्वपूर्ण पुस्तक छाप्न पाएकामा नेपालयका किरणकृष्ण श्रेष्ठले प्रसन्नता व्यक्त गरेका छन् ।

माओवादीका प्रगतिशील सुनिने आवाजबाट अन्तर्राष्ट्रिय समुदाय कसरी सम्मोहनमा पर्न गए भन्नेबारे यसमा प्रष्ट र रोचक शैलीमा वर्णन छ,’ राष्ट्रसंघीय महिला विकास कोषकी पूर्व क्षेत्रीय निर्देशक चाँदनी जोशी भन्छिन् ।

त्यसैगरि प्राध्यापक केदारभक्त माथेमाले मुलुकमा चलिरहेको राजनीतिक बहसबीच यो पुस्तकले स्फूर्तिदायक ताजा हावाको तूफान ल्याइदिएको बताएका छन् ।

अर्का प्राध्यापक चैतन्य मिश्रका अनुसार लोकतन्त्र र समुन्नतीका लागि गुमाएका अवसर टुलुटुलु हेरेका एक अन्तर्राष्ट्रिय प्रशासकले लेखेको यो पुस्तकमा २० वर्षयताको घटनाक्रमका भित्री तहमा पुगेर तर्कपूर्ण विश्लेषण छ । हामी कहाँ कहाँ चुक्यौं र यसको समाधान कता छ भन्नेबारे मिहिन व्याख्या गरिएको छ,’ उनी भन्छन् ।

गौतमको लस्ट इन ट्रान्जिसनः रि बिल्डिङ नेपाल फ्रम दी माओइस्ट मेहेम एन्ड मेगा अर्थक्वेक’ शनिबारदेखि बजारमा उपलब्ध हुँदैछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री