एनआरएन अध्यक्ष शेष घलेलाई मानार्थ बिद्यावारिधी उपाधि 

Shesh PHD
काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन बिश्वबिद्यालय’ले ‘मानार्थ बिद्यावारिधी’ उपाधि प्रदान गरेको छ ।
अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पुर्‍याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई यो उपाधि प्रदान गरिएको बिश्वबिद्यालयले जनाएको छ ।
बुधबार साँझ विश्वबिद्यालयमा आयोजित दिक्षान्त समारोहमा अध्यक्ष घलेलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको हो ।
बिश्वबिद्यालयले घलेलाई गत मे ६ तारिखमा उपाधि प्रदान गर्ने तालिका तय गरेको थियो । तर, अध्यक्ष घले भूकम्प प्रभावितलाई राहत प्रदान गर्न नेपालमा ब्यस्त रहेकाले समारोह स्थगित गरी डिसेम्बरका लागि सारिएको थियो ।
अध्यक्ष घले र उहाँकी पत्नी जमुना गुरुङ मिलेर अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा ‘मेलवर्न इस्टिच्यूट अफ टेक्नोलोजी’-एमआईटी) संचालन गरिरहनुभएको छ, जहाँ करिव ३ हजार स्वदेशी तथा बिदेशी बिद्यार्थीले अध्ययन गरिरहेका छन् । एमआईटीले टेलिकम्युनिकेसन तथा मोवाइल प्रबिधि, नेटवर्क सेक्युरिटी, बिजनेसमा डिगि्र प्रदान गर्दछ ।
यस्तै घले दम्पत्तिले एमआईटी ग्रुप होल्डिङमार्फत्  भिक्टोरियाका ऐतिहासिक महत्वका पुराना भवन खरिद गरी ती भवनलाई जिर्णौद्धार गरेर संरक्षण गर्ने काम गरिरहनुभएको छ ।
मेलनवर्नको ऐतिहासिक र पुरानो सम्पदा मानिने ‘अर्गस’ भवन खरिद गरी त्यसको बाहिरी संरचनालाई पूर्व डिजाइनअनुसार निर्माण गरी भित्री संरचनालाई करिव ६ करोड ५० लाख अष्ट्रेलियन डलर -करिव ५ अर्ब रुपैयाँ) खर्च गरी आधुनिकिकरण गरिएको छ ।
सन् १९२० मा बनेको यो भवन सन् १९५७ यता प्रयोगविहीन थियो जसलाई आधुनिकीकरण गरेर घले दम्पत्तिले एमआईटी कलेज संचालन गरिरहनुभएको छ । ब्यापारिक हितमात्र नहेरी सम्पदा संरक्षणमा योगदान दिएको भन्दै घले दम्पत्तिको कामले मेलवर्नका जनता र स्थानीय प्रसासनबाट प्रसंसा पाएको थियो ।
अष्ट्रेलियाको धनाढ्यको सूचीमा ९९ औं नम्बरमा रहेका घले र उनकी पत्नी जमुना एमआईटी ग्रुप फाउण्डेसनमार्फत् नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नेगरी एक अर्बको परोपकारी कोष स्थापना गर्नुभएको छ । सो कोषमार्फत् भूकम्प तथा नाकाबन्दीका बेला राहत प्रदान गरिएको छ भने हालै जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री