इजरायल कामदार पठाउने प्रक्रिया लम्बियो

article-2141435-12D8E73F000005DC-943_634x397
काठमाडौँ, २७ मङ्सिर । इजरायलमा रोजगारीका लागि नेपालबाट ३०० घरेलु कामदार पठाउने प्रक्रिया लम्बिएको छ ।

इजरायल जान चाहने घरेलु कामदारका लागि यसअघि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निकालेको सूचनामा तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधानको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छनोट प्रक्रिया लम्बिएको हो ।

सो प्रावधानका कारण सीमित म्यानपावर कम्पनीले मात्रै इजरायलमा कामदार पठाउन पाउने र २०६८ सालभन्दाअघि तालिम लिएकाले मात्रै रोजगारीमा जान पाउने अवस्था आएको भन्दै उजुरी परेपछि आयोगले अन्य आवेदकले पनि जान पाउने गरी प्रस्ताव संशोधन गर्न निर्देशन दिएको थियो ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले आवेदन दिएकामध्ये १४५ जना नर्सको हकमा तत्काल प्रक्रिया सुरु गरिने अन्यको हकमा तीन महिना तालिम लिएपछि मात्रै जान पाउने गरी काम अगाडि बढाइएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस तयारी

श्रम तथा रोजगार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गोविन्दमणि भुर्तेलले आगामी पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइन लागेको जानकारी दिएका छन् ।

सबैभन्दा बढी विदेशमा कामदार जाने २७ जिल्लामा मन्त्रालय र विभिन्न सङ्घ सङ्गठनले रयाली, अन्तक्र्रिया, सडकनाटक, निबन्ध प्रतियोगितालगायतका जनचेतनामूलक कार्यक्रम गरी साताव्यापी रुपमा मनाउने तयारी गरिएको उनले बताए ।

राजधानीमा दिवसका दिन भृकुटीमण्डपमा प्रभातफेरी तथा विविध कार्यक्रम आयोजना गर्न लागिएको छ । हाल विश्वभर २३ करोड २० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् ।

वैदेशिक रोजगारीमा रहँदा पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम् मानवअधिकार प्राप्ति आदिमा आप्रवासी कामदार भएकै कारण विभेद् नहोस् भनी संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदारको हकसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री