चितवनमा एम्बुलेन्स परियोजनाका लागि कार सौजन्य

12404470_10153804305206197_614974700_n

लन्डन । वरिष्ठ गायक आनन्द कार्की र संगीतकार शिखर सन्तोषले बेलायतको फलमाउथमा एक सांगीतिक कार्यक्रम गरेका छन् । चितवन सहयोग संस्था (क्याट यूके) का सल्लाहकार हेमकान्त सेढाईंको सक्रियतामा कार्यक्रम भएको हो । कार्यक्रममा करिब दुईसयको उपस्थिति थियो ।

कार्यक्रमका सहभागीहरु नेपालबाट आएका गायक कार्की र संगीतकार सन्तोषको गीत संगीतमा रमाउंदै आसन्न पर्वहरु क्रिसमस र अंग्रेजी नयां वर्षको शुभकामना आदानप्रदान गर्न व्यस्त रहे ।

कार्यक्रमका सिलसिलामा क्याट यूकेको चितवनस्थित विकट क्षेत्रबाट सदरमुकामका अस्पतालसम्म विरामी ओसारपसार गर्न एम्बुलेन्स सुविधा प्रदान गर्ने परियोजनालाई एउटा कम्पनीले सौजन्य स्वरुप एउटा कार प्रदान गरेको छ । ८ हजार ३ सय ९९ पाउण्ड मुल्यको एमजी ब्राण्डको नयां कार स्थानीय फलमाउथ ग्यारेजले प्रदान गरेको हो । सेन्ट अस्टेलका मेयर ब्राइन पाल्मरको रोहवरमा कार्यक्रमका अतिथीहरु गायक कार्की र संगीतकार सन्तोष 
एवं सल्लाहकार हेमकान्त सेढाईंले उक्त कार बुझेका थिए ।

क्याट यूकेको दुई वर्षे कार्ययोजना अन्तर्गत एम्बुलेन्स् परियोजनाका लागि कोष व्यस्वस्था गर्ने क्रममा सल्लाहकार सेढाईंको सक्रियतामा उक्त कार सौजन्य स्वरुप मिलाइएको र संस्थाले छिट्टै एक च्यारिटी कार्यक्रममार्फत पर्याप्त कोष संकलन गरि आवश्यक क्षेत्रको पहिचान गरेर एम्बुलेन्स पठाइने संस्थाका सचिव यादव श्रेष्ठले जनाए ।

संस्थाका अध्यक्ष वसन्त श्रेष्ठले क्याट यूकले विगत देखि नै चितवन जिल्लाको विकट क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पुर्याउंदै आएको बताए । उनले संस्थाका पूर्व अध्यक्ष हिमाल गुरुङको संयोजकत्वमा माडी क्षेत्रमा एक एम्बुलेन्स् र सल्लाहकार सेढाईंबाट पूर्वी चितवनमा दुईवटा एम्बुलेन्स प्रदान गरिसकिएको समेत जनाए । एम्बुलेन्सको थप सेवाले चितवनको पिछडिएका क्षेत्रका वासिन्दा लाभान्वित हुने संस्थाको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री