सङ्कटमा निजी क्षेत्रले सघाएनन् ः परराष्ट्रमन्त्री थापा

kamal thapa front

काठमाडौँ, २१ पुस । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले देशलाई सङ्कट परेका समयमा निजी क्षेत्रले सरकारलाई सहयोग नगरेको गुनासो गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘द्विपक्षीय आर्थिक सम्बन्ध सहजीकरणका लागि आर्थिक कूटनीतिक भूमिका’ विषयक अन्तरक्रियामा उहाँले अप्ठ्यारो परेको समयमा सरकारलाई शिथिलता बनाएको बताउनुभयो । “विसं २०४५ सालको नाकाबन्दीमा निजी क्षेत्रबाट सहयोग भए पनि अहिले सरकारलाई उद्योगले सहयोग गरेनन्, सरकारलाई शिथिल तुल्याउने ढङ्गबाट साँचो बुझाइदिन्छु भने” उहाँले भन्नुभयो । जनताले भने अप्ठ्यारो परेको अवस्थामा सरकारलाई सहयोग गरेको उहाँले बताउनुभयो ।

सरकारले चीन र भारतसँगको सम्बन्धलाई नयाँ तरिकाले अगाडि बढाएको उल्लेख गर्दै मन्त्री थापाले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई युगान्त तरिकाले अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पारवाहनको अधिकार भारतसँग माग्नु भारतवेष्ठित मानसिकता हो, यो गलत छ, अब चीनसँग पनि पारवहन सन्धि गर्नुपर्छ ।”

सरकारले पूरानो मानसिकतालाई परिवर्तन गरेर चीनसँग पनि पारवहन सन्धि गरेर अगाडि बढ्ने तयारी गरेको स्पष्ट पार्दै मन्त्री थापाले अनुभूती हुनेगरी आर्थिक कूटनीतिलाई संरचनात्मक एवम् नीतिगतरुपमा सुधार गर्ने बताउनुभयो । रक्सोल नाका बन्द भएको बाहना देखाएर आपूर्ति समस्या देखाउनु गलत भएको बताउँदै उहाँले अरुलाई दोष दिएर जिम्मेवारीबाट बाहिर रहनेभन्दा पनि व्यावसायीले आफ्ना कमजोरीलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापारलाई विविधिकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै व्यापारिक क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न सरकारले उचित पहल गर्नुपर्ने बताउनुभयो । चेम्बरका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, ग्यास व्यवसायी सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरे र ग्रील व्यावसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले इन्धनको आपूर्ति नहुँदा र चर्को ऊर्जा सङ्कटका कारण व्यवसायी मारमा परेको भन्दै सरकारले सुधारका लागि उचित पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री