इंग्ल्याण्डको स्कुलस्तरीय इन्टरन्याशनल छात्रा फुटबल टोलीमा गोरखा सैनिककी छोरी

Asmita A

लण्डन । फुटबलको आकारभन्दा अल्लि ठूलो मात्र थिइन् अस्मिता दाइको पछि लाग्दै फुटबलसित लुटुपुटु खेल्दा । घर पछाडिको सानो आँगन थियो उनको खेलमैदान ।
फुटबलसित उनको सामीप्यता यति बस्यो स्कुल पुगेपछि पनि सहपाठी केटाहरुसित फुटबल हान्न पुग्थिन् । उनको कौशल देखेपछि ‘टिम मेट’ केटाहरु पनि दंग पर्थे ।
छोरी हुर्कँदै जाँदा बाबाआमाको इच्छा थियो छोरीलाई जिम्नाष्टिक, पौडी वा पियानो कक्षा भर्ना गरिदिने । तर एकदिन छोरीका टिम मेटका पितासितको भेटले आमा बाबाको त्यो इच्छालाई १८० डिग्रीमा फेरिदियो ।
‘अस्मिताको फुटबल खेल राम्रो छ रे । मेरो छोराले भनेको’ छोरीको क्लास मेटका बाबाले भनेको वाक्य अहिले पनि पिता अमृत आले सम्झन्छन् –‘उसलाई किन फुटबल नहाल्दिनुभएको ?’
दुई वर्षदेखि फुटबलको अभ्यास गरिरहेकाहरुसित घरको आँगनमा बेलाबखत फुटबल छोएकी अस्मिताको खेलकौशलको तारिफ सबैले गरिदिएपछि बाबाआमालाई फुटबलमा भर्ना गरिदिन करै लगायो ।
तिनै अस्मिता अहिले इंग्ल्याण्डको १५ वर्ष मुनीका छात्राहरुको अन्तर्राष्ट्रिय फुटबल टोलीमा पर्न सफल भएकी छिन् ।
इंग्ल्याण्डको स्कुल र कलेजको फुटबल संचालन गर्ने निकाय इंगलिस स्कुल्स फुटबल एसोसिएसन (इएसएफए) ले जनवरी ६ मा सार्वजनिक गरेको १५ वर्षमुनीको १६ सदस्सीय अन्तर्राष्ट्रिय टोलीमा अस्मिता छानिएकी छिन् ।
।।।।।
अस्मिताको जन्म पनि खेलकै माचोमा भयो । तनहुँ दमौलीका उनका पिता अमृत आले क्वीन्स गोरखा सिग्नलमा कार्यरत थिए । उनी सामान्य सैनिक मात्र थिएनन् स्क्वास खेलमा दक्षिण एसियाली (साफ) गेममा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी पनि थिए । उनी आठौँ साफ गेमको बन्द प्रशिक्षणमा रहेकै बखतमा जन्मेकी थिइन् अस्मिता । अमेरिकामा ट्वीन टावरमा आक्रमण भएपछि साफ गेम स्थगित हुँदा अमृतको नेपालको प्रतिनिधित्व गरेर खेल्ने सपना पूरा भएन तर उनको अपूरो सपनालाई अस्मिताले इंग्ल्याण्डको प्रतिनिधित्व गरेर पूरा गरिदिइन् ।

त्यसाे त अस्मितालाई फुटबल खेल्न प्रेरित गर्ने उनका दाइ असिम पनि अहिले ननिटन युथ क्लवबाट फुटबल खेल्ने गर्छन्।
।।।।।
सात वर्षको उमेरदेखि फुटबलको अभ्यासमा होमिइन् अस्मिता । त्यसयता उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । शुरुमा बक्लिङटन कोल्टस्मा मिक्स्ड टिम, आठ वर्ष र नौ वर्षमुनीको समूहमा खेलेकी उनी केही समय कोभेन्ट्री लेडिज सेन्टर अफ एक्सिलेन्सबाट खेलिन् । सन् २०११ यता भने उनी इंगलिस प्रिमियर लिगको क्लव आस्टोन भिल्लाको सेन्टर अफ एक्सिलेन्सबाट खेल्ने गर्छिन् । शायद उनी पहिलाे नेपाली छाेरी हाेलिन इंगलिस प्रिमियरसिपकाे क्लवकाे अकाडमीमा प्रशिक्षणकाे माैका पाउने ।
फुटबल खेल्दा सेन्टर डिफेण्डर खेल्न रुचाउने अस्मिताको रुचि सबै खेलमा छ । क्रिकेटमा पनि उनले काउण्टीस्तरको खेलमा प्रशंसा बटुलेकी थिइन् । थप अभ्यासका लागि क्रिकेट क्लवहरुले अनुरोध गरेकोमा समय दिन नसकेर अस्वीकार गर्नु परेको बाबा अमृत आले बताउँछन् । नेट बलमा पनि काउण्टी स्तरको खेलाडी रहेकी अस्मिता १०० मिटर दौडमा उनको उमेर समूहको केटाकेटी दुवै समूहकी च्याम्पियन हुन् ।
खेलमा मात्र होइन पढाइमा पनि अस्मिता अब्बल नै छिन् । प्रायजसो खेल अभ्यासहरु कक्षा सकिएपछि र टुनामेण्टहरु शनिबार नै हुने भएकाले पढाइमा त्यति असर नपरेको हो । अस्मिता इयर ९ मा अध्ययनरत छिन् ।
युके भएर के गर्नु धेरै नेपाली अभिभावकको अपेक्षा हुन्छ –‘छोराछोरीहरु पढून् । डाक्टर, इन्जिनियर बनून् । खेलकुद, रमझममा नलागून् ।’ पिता अमृत आलेलाई सोधियो –‘छोरी के बनून भन्ने लाग्छ ?’
‘हामी लिबरल प्यारेन्टस् हौँ । छोरीलाई उमेर अनुसार प्राप्त सुविधा सबै उपभोग हुने वातावरण बनाउने । कुनै कुरामा पनि दबाब नदिने । उसले चाहेकोलक्ष्य हासिल गर्न सहयोग गर्ने’ उनले भने ।
इंल्याण्डमा फुटबल भन्नासाथ प्रोफेसनल खेलाडीले एकै सातामा पाउने अकुत तलबको झल्को आउँछ । तर महिला फुटबल पुरुषको दाँजोमा आर्थिक हिसाबले आकर्षक भइसकेको छैन । यद्यपि दिनानुदिन अवस्था राम्रो हुँदै गएको भने सत्य हो ।
सबै अभिभावकको चाहना हुन्छ आफ्ना छोराछोरीहरु जुन पेशामा लागे पनि शिखर चुमून् । अस्मिताका अभिभावक पनि यसबाट अछूतो छैनन् । कुनै दिन छोरीले इंग्ल्याण्डको राष्ट्रिय टीमको प्रतिनिधित्व गरुन् भन्ने चाहना उनीहरुमा पनि छ । सँगै आफैँ पनि खेलाडी भएकाले होला यो कुरामा पनि सचेत छन् कि ‘कतै हामीले धेरै अपेक्षा गरेर छोरीलाई अनावश्यक बोझ त बोकाउने होइनौँ ?’
त्यसैले पिता अमृत भन्छन्, ‘उसलाई रुचि लागेको क्षेत्रमा समय दिन पाएकोमा खुशी छौँ । भोलि उसले राम्रो गरे त त्यसै हर्ष लाग्ने नै भयो तर भनेजस्तो भएन भने पनि असन्तुष्ट हुने छैनौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री