भारतलाई हराउँदै नेपाल बन्याे दक्षिण एसियाली फुटबल च्याम्पियन

Saag
काठमाडौँ । आफ्नो घरेलु मैदानमा आयोजक भारतलाई पराजित गर्दै नेपालले बाह्राैं दक्षिण एसियाली खेलकुद (साग) मा तेइस वर्षपछि स्वर्ण पदक जितेको छ ।

इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमाएको हो । नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा गोल गरेका थिए ।

एक गोलले पछि परेको नेपालले खेलमा फर्कँदै भारतलाई उपाधि विमुख गराएको हो । यसअघि भारतले हलिचरण नाजारेको प्यानल्टी गोलको मद्दतले पहिलो हाफको ३२ औंँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षक आदित्य चौधरीले डि–एरियामा भारतका उदन्त सिंहलाई फल गरेपछि उसले प्यानल्टीको अवसर पाएको थियो जसलाई नाजारेले सजिलै गोलमा परिणत गरे ।

गोल खाएर सम्हालिएको नेपालले त्यसपछि केही राम्रा आक्रमण गर्यो । नेपालका लागि ६५ औंँ मिनेटमा बुढाथोकीले गर्दै खेल बराबरीमा ल्याए । उनले आकर्षक फ्रि–किक मार्फत गोल गरेका हुन् । त्यसपछि पनि नरोकिएको नेपालका लागि ७० र्औं मिनेटमा श्रेष्ठले गोल गर्दै अग्रता दिलाए र अन्त्यमा सोही गोल निर्णायक बन्यो ।

नेपाली राष्ट्रिय टोलीले तीन साताअघि पनि ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि जितेको थियो । उक्त उपाधि राष्ट्रिय टोलीले २३ वर्षपछि जितेको उपाधि थियो । छैटौँ साफ गेम्स (ढाका) मा स्वर्ण जित्दाका कप्तान थिए राजुकाजी शाक्य । उनको कप्तानीमा नेपालले २–२ को बराबरीपछि टाइब्रेकरमा भारतलाई हराएर २३ वर्षअघि स्वर्ण जितेको थियो । अहिले उनी प्रशिक्षक छन् र उनले सम्हालेको नेपाली यु–२३ टोलीले नै १२ औँ सागको स्वर्ण जितेको हो ।

श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपालले शनिबार दुई घन्टाको रोमाञ्चक प्रतिस्पर्धापछि माल्दिभ्सलाई ४–३ ले पन्छाउँदै १७ वर्षपछि सागको फाइनल यात्रा तय गरेको थियो ।

विराजकै कप्तानीमा नेपाल तीन साताअघि फाइनलमा बहराइन यु–२३ लाई ३–० ले हराएर बङ्गबन्धु गोल्डकप च्याम्पियन भएको थियो । अहिलेका सबै खेलाडी त्यही टोलीका सदस्य हुन् । श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपालले बङ्गबन्धुको सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो ।

आर्मीका फर्वार्ड श्रेष्ठले पछिल्ला पाँच खेलमा तीन ह्याट्रिक सहित १० गोल गरेका छन् । बङ्गबन्धु गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी चुनिएका उनले १२ औँ सागको पहिलो खेलमा भुटानमाथि ५–० को जितमा पनि ह्याट्रिक गरेका थिए ।

संयोग नवयुगको हयाट्रिकमा नेपालले बङ्गबन्धुको सेमिफाइनलमा पनि माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । सागको सेमिफाइनलमा पनि माल्दिभ्सविरुद्ध सनसनीपूर्ण विजय पाउँदा उनैले ह्याट्रिक गरेका थिए ।

दशरथ रङ्गशालामा १९९९ मा भएको आठौँ साफ गेम्समा स्वर्णका लागि भएको फाइनलमा नेपाल १–० ले बङ्गलादेशसँग हारेको थियो । त्यसबेलासम्म राष्ट्रिय टोली सहभागी हुन्थे । नवाँैं साफ गेम्स २००४ देखि फुटबलमा यु–२३ टोलीले प्रतिस्पर्धा गर्न थालेको हो । यसपालि फाइनल प्रवेशसँगै नेपालले कोलम्बो साग २००६ मा कास्य हात पारेको थियो । सागमा नेपालले फुटबलमा अहिलेसम्म तीन स्वर्ण, दुई रजत र दुई कास्य जितिसकेको छ ।

फुटबल प्रशिक्षक राजुकाजी शाक्य दक्षिण एसियाली खेलकुदमा तीन फरक भूमिकाबाट देशलाई स्वर्ण पदक दिलाउने दाउमा थिए । आफ्नै देशबाट सन् १९८४ मा सुरु साफ (तत्कालीन दक्षिण एसियाली महासङ्घीय खेलकुद, साफ) खेलकुदको पहिलो संस्करणमा नेपालले फुटबलको स्वर्ण जित्दा उनी खेलाडी थिए । सन् १९९३ मा ढाका साफमा उनकै कप्तानीमा नेपाली फुटबल टोलीले स्वर्ण जितेको हो । सन् १९९९ मा आफ्नै भूमिमा आठाैँ साफ हुँदा शाक्य सहायक प्रशिक्षकमा थिए । त्यतिखेर नेपालले रजत पदकमै चित्त बुझाउनुपरेको थियो ।

त्यसयता नेपाली टोली उपाधिविहीन बन्दै आएको अवस्थामा नेपालले तीन साताअघि ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकप जितेर उपाधिको खडेरी २३ वर्षपछि मेटेको थियो ।

आर्मीका फरवार्ड श्रेष्ठले पछिल्ला छ खेलमा तीन ह्याट्रिक सहित ११ गोल गरिसकेका छन् भने सागमा मात्रै दुई ह्याट्रिक सहित सात गोल गरिसकेका छन् ।

अघिल्लो महिना बङ्गबन्धु गोल्डकपको उपाधि जितेर हौसिएका कप्तान विराज महर्जनले भारत प्रस्थान गर्नुअघि भनेका थिए “हामी पुनः उपाधि जितेर फुटबलप्रेमी समर्थकलाई खुसी बनाउने छौँ ।” उक्त भनाइ आज सार्थक भएको छ । हुन पनि आज नेपालले भारतजस्तो बलियो प्रतिद्वन्दीलाई उसकै घरेलु मैदानमा हराएर स्वर्ण जितेको छ ।

यसअघि सन् १९८७ मा भारतले नेपाललाई हराउँदै साफमा स्वर्ण जितेको थियो । आज नेपालले त्यसैको बदला लिएको छ । यससँगै नेपालले साग फुटबलमा तीन स्वर्ण जित्न सफल भएको छ । यसअघि नेपालले सन् १९८४ र १९९३ को साफ गेम्समा स्वर्णपदक जितेको थियो । फुटबलमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा तीन स्वर्ण पु¥याएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा करिब २१ वर्ष अध्यक्ष पद सम्हाल्नुभएका गणेश थापामाथि आर्थिक अनियमितता गरेको आरोपमा विश्व फुटबल महासङ्घ (फिफा) ले केही महिनाअघि १० वर्षको प्रतिबन्ध लगाएको थियो ।

त्यतिमात्र नभई नेपाली फुटबलमा जगत्मा म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राष्ट्रिय टोलीका मख्य पाँच खेलाडी पक्राउ पर्दै धरौटीमा रिहा भए पनि खेल क्षेत्रबाट नै बाहिरिएका थिए ।यस्तो अवस्था भए पनि धेरैजसो नयाँ अनुहार रहेका राष्ट्रिय खेलाडीले नेपाली फुटबल जगत्मा नयाँ इतिहास रच्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री