मुटुको ढुकढुकीमा ‘करिश्मा’

 

 

mutu

कवि गीतकार करिश्मा घम (दिदी) सँग मेरो ब्यक्तिगत रुपमा परिचय भएको थिएन । यद्धपि एउटा चिरपरिचित स्वर बिएफबिएस गोर्खा रेडियोमार्फत सधैं कुनै न कुनै रचना वा रोचक सन्देशमार्फत सुन्ने मौका भने पाइरहन्थेँ । समय अन्तरालमा फेसबूक भेट भयो । उसैगरी ती रेडियोमार्फत सुनिरहेको सुमधुर स्वरकी शालिन ब्यक्तित्वकी धनी करिश्मा घम दिदीसँग गीतकार निलम आङबुहाङ राईको एल्बम ‘निलम’को बिमोचनको क्रममा प्रत्यक्ष भेट हुने सुयोग जुरेको थियो । अहिले उनै आदरनीय दिदी करिश्मा घमको कृति, गीति एल्बम “मुटु”  मेरो अगाडि छ र यसबेला म सोचिरहेको छु दिदी कुशल वक्ता मात्रै नभएर कुशल शब्द शिल्पी पनि हुनुहुदोँ रहेछ । म पुलकित हुँदै रमाइरहेको छु उहाँको यी कृतिमा संगालिएको सुन्दर रचनाहरुसँग ।

साहित्य र संगीत मानिसको जीवनको अभिन्न अंग हुन । यस् अर्थमा प्रकृति र प्रकृतिका अनेक चलायमान रुपहरु हरेक मानिसको दैनिक जीवनसँग जोडिएका यावत कुराहरु हुन् । यसरी उहाँले पनि आफ्नै जीवन भोगाईका अनेक विविध कुराहरुलाई सरलतापूर्वक टिपेर गजबको भावनारुपी सिर्जनात्मक अभिब्यक्त गर्छिन् । यी तलका हरफहरुमा पनि प्रकृतिलाई कुशलतापूर्वक मानविकरण गरेकी छिन् कवि, गीतकार करिश्मा घमले ः

तिम्रो रुप हेरी इन्द्रेणीले भर्छिन् आफ्नो रङ्ग

तिम्रो मधुर स्वर सुनी कोइली पर्छिन् दङ्ग् ! 

 

दाङको हापुर गाबिस – २ रमनामा बुवा प्रेम बहादुर घर्ती मगर अनि आमा बिष्णुदेवी घर्ती मगरको कोखबाट असार ६ गते जन्मिएकी करिश्मा घम हाल श्रीमान बिष्णु कुमार घर्ती मगर अनि छोरी बिकिना र छोरा बिकिनको साथमा आशफोर्ड केन्टमा बसोबासो गर्छिन् । घरदेश छोडेर टाढा हुनुको पीडाले मान्छेलाई भावुक बनाउँछ अनि यही भावुकताहरु सर्जकहरुको सिर्जनामा पनि झल्किने गर्दछ । यही मेसोमा गीतकारले उजागर गरेकी छिन् आफ्नो मनका बिरहलाई अलिकति आशा केही निराशारुपी यो सिर्जनामा यसरी ः

कहिले भेट होला हाम्रो यो मनले सोचिरह्यो

बिछोडको पीडाले आगो सरि पोलिरह्यो

किन हँसायौँ दैव रुवाउनु  नै थियो भने यसरी

बाँच्ने होला तिम्रो यादमा मुटु जलाई कसो गरी 

Mukesh Rai

मुकेश राई

हुन पनि बिछोडको पीडा बोधले मान्छेलाई हायल कायल पार्छ । हामीले मानव जीवनमा आईपर्ने अनेक दु:ख वा सुखका क्षणहरुलाई आ-आफ्नै परिवेशमा आफ्नै प्रकारले भोगिरहेका छौ र समस्याहरुलाई आफ्नै तवरले सुल्झाउँछौ । यिनै कुरोहरुले मान्छेलाई अनुभव दिलाउँछ र परिपक्व बनाउँछ । यो ग्लोबलाइजेसनको युग, बिधुतिय तरङ र गेजेटहरुको माध्यमबाट हामी संसारको हरेक कुनाबाट आफ्नो नितान्तै ब्यक्तिगत कुरासम्म क्षण भरमै शेयर गर्न सक्छौ तर डिजिटल पर्दा र स्वरको माध्यमले जत्तिनै नजिक बनाएता पनि आफूले भोगिरहेको समय र भोगेको बालापनका मयुरपंखी दिनका सुमधुर सम्झना, आमाबाबुको न्यानो काख, साथीसगीँ र गाउँघर कदापि भुल्न सकिन्न बरु झन प्रवासमा रहँदा ती विगतका दिनहरु आलो सम्झना बनेर मन मस्तिस्कमा आइरहन्छ ।

यसरी नै आफ्ना गाउँघरका परिवेशबाट गीतकार करिश्मा घम पनि हमेसा नजिकै रहेको अनुभूतिमा रमाइरहन्छिन अनि आफ्नो जन्मथलो प्रतिको अतिरन्जना पोख्छिन ः

प्यारो लाग्छ मलाई मेरै गाउँघर अनि ढुङ्गेधारा पानी

पानी पँधेरो गर्दा मलाई हेरी रमाउँछिन प्रकृति रानी !

पहाडको उकाली ओराली गोरेटोमा हिड्छु मीत लाउदै

कहिले रुन्छु न्याउलीसँग कहिले हाँस्छु नाँच्दै गाउँदै !

आफूलाई हरपल साथ दिने जीवनसाथीप्रति समर्पित भएर आफ्नो मुटुको मायाहरु पोख्ने माध्यम पनि उहाँले यसैलाई बनाएकी छिन । एल्बमको नामाकरण “मुटु” हुनुमा यसकै प्रमाण पनि हुन । जहाँ उनले आफ्नो जीवनको यात्रामा हरपल साथ, सहयोग गरिरहने आफ्नो पति परमेश्वर प्रतिको आफ्नो प्रेमिल भावनालाई यसरी ब्यक्त गरेकी छिन् ः

तिमी मेरो आँट हौ तिमी नै कमजोरी

सुख दु:ख जे परे पनि बाँडौला कुम जोडी

लाग्छ नि तिम्रै भर

साथ पाए तिम्रो मलाई अब छैन केही डर !

उहाँको यस गीति एल्बम “मुटु”मा ६ वटा गीतहरु समाविष्ट छन ! अहिले चर्चाको शिखर उक्लिदै गरेका कुशल संगीतकार राजेश थापाको एकल संगीतले गीतका शब्दहरुलाई सुमधुर जीवन्तता दिएको छ भने अहिलेका सर्वाधिक लोकप्रिय गायक, गायिकाहरु राजेश पायल राई, स्वरुपराज आचार्य, मिलन अमात्य, दिपक लिम्बु, मेलिना राई, अन्जु पन्त अनि रेजिना रिमालको स्वरबद्ध छन । यही गीति एल्बमसगै उहाँको कवितासङ्ग्रह “गुनासो” पनि प्रकाशित भइसकेको छ । यसरी गीत, कविता, मुक्तक जस्ता छोटो मिठो सिर्जनाहरु बारम्बार लेखिरहनु हुने कवि एवं गीतकारको साहित्यिक र सांगीतिक यात्रा निरन्तर गरिरहनुहुनेछ भन्ने मलाई लाग्दछ ।

लेखनको कुरो गर्दा उहाँको यस पहिलो प्रयास सह्रानीय मान्नु पर्छ । कविता र गीति लेखनमा निकै नै संरचनागत अनि नियमान्तर छन । गीत गेयात्मक बिधा भएकोले गर्दा यसका संरचागत विविधतालाई सकेसम्म ध्यान दिनु पर्ने हुन्छ । यस बिधागत अन्तरमा लेख्दै जाँदा केही चुकेकी कवि, गीतकार करिश्मा घमको भाव पक्षको सबलताले ती कमी कमजोरीहरु गौण लाग्दछ यद्धपि आगामी दिनहरुमा धेरै राम्रो लेख्न सक्ने सम्भावना उहाँको लेखनमा प्रसस्त रहेको छ । उहाँको फरासिलो ब्यवहार, आफ्नो विचारलाई स्पष्ट राख्न सक्ने कलासगैँ सिर्जनाको यो सुन्दर यात्रामा हामी समक्ष आइपुगेको यी दुई कृतिको निम्ती हार्दिक बधाई साथै उहाँको कलम निखारिदै जाओस भन्ने हार्दिक कामना गर्दछु । जादाँजादै अन्त्यमा उहाँकै गीतको यो सुन्दर हरफ पाठक समक्ष राखेर बिदा चाहन्छु ः

सुवश छर्दै हिड्छ्यौ तिमी मधुबनकी रानी

सबको मनै लोभ्याउने माया कि तिमी खानी

तिमीलाई पाउने आशाले यो मनमा बज्छ झन्कार

आउ मिली पिरतिको रचौ सुन्दर संसार ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री