प्रधानमन्त्री र बङ्गलादेशका सञ्चारमन्त्रीबीच भेटवार्ता

1456995631208_SB-Ktm-Bangladesh cm

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनुले आज प्रधानमन्त्री निवासमा भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल– बङ्गलादेश सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

दुवै मुलुकले आफ्ना जनताको समृद्धि र विकासलाई केन्द्रमा राखेर काम गरेकाले भावी दिनमा नेपाल र बङ्गलादेशबीच विकासका क्षेत्रमा कसरी योगदान हुनसक्छ भन्नेबारेमा उहाँहरूबीच छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले राससलाई बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हालै भारतसँग सिंहवाद– रोहणपुर र फूलबारी– बङ्गलाबन्द मार्ग सञ्चालनका लागि भएको सहमतिबारे जानकारी गराउँदै त्यसबाट नेपाल र बङ्गलादेशबीचको व्यापार विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले नेपालमा लगानीको वातावरण बनेकाले बङ्गलादेशका व्यापारिक समुदाय ढुक्क भएर पुँजी लगाउन आह्वान गर्नुभएको थियो ।

मन्त्री हसनुल हकले बङ्गलादेशका व्यापारिक समुदाय नेपालको जलस्रोत क्षेत्रमा लगानी गर्न इच्छुक रहेका बताउँदै नेपालको आर्थिक समृद्धि र विकास आफ्नो मुलुकको चाहना रहेको विचार व्यक्त गर्नुभयो ।

बङ्गलादेशका सञ्चारमन्त्रीले बङ्गलादेश सङ्घवाद संस्था (बिएसएस) र राष्ट्रिय समाचार समिति (रासस)बीच सूचना तथा समाचार आदान–प्रदानका निम्ति सहकार्यको प्रस्ताव गर्नुभएको र प्रधानमन्त्री ओलीले त्यसलाई सकारात्मक रुपमा लिनुभएको श्री खनालले जानकारी दिनुभयो ।

भेटका अवसरमा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्टे शाम्सलगायत यहाँस्थित बङ्गलादेशी दूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री