ह्यारी ‘हुर्काएका’ भूपू गोर्खा राजकुमारबारे यस्तो सुनाउंछन्

Harry and William at academy

लन्डन । पूर्व निर्धारित पांच दिने नेपाल भ्रमण ६ दिन लम्ब्याएर नेपालमा रमाइरहंदा बेलायती राजकुमार ह्यारीको प्रशंसै प्रशंसा छ । कहिले पद र जलयात्रा त कहिले गाउं गाउं गएर भूकम्प पीडितसंग भलाकुसारी अनि 
बास । अन्तर्राष्ट्रिय मिडियामा खुबै छाए उनी । पश्चिमाहरुको मुख्य पर्व 
‘इष्टर’ उनलाई परवाह भएन, बरु त्यति नै बेला उनी भूकम्पले क्षतिग्रस्त उत्तरी गोरखाको लापु ३ लापुबेंसीस्थित प्रभात किरण माविको ११ कोठे भवन पुनर्निर्माणमा सघाउन व्यस्त थिए ।

नेपाल घुमेर लाखौं नेपालीको मन जितेका ह्यारी सानो छंदा कस्ता थिए होलान् ? झण्डै तीन वर्ष उनलाई ‘हुर्काएका’ र हुर्किएपछि पनि पटक पटक एकसाथ समय बिताएका भूपू गोर्खा क्याप्टेन रिटायर्ड कृष्ण गुरुङको स्मृतिमा ह्यारीसंग बितेका धेरै सुःखद क्षण कैद छन् । ह्यारीको भ्रमण नेपाल र नेपालीका लागि गर्वको विषय रहेको बताउंछन् उनी । सेकेन्ड गोर्खा राइफल्स्मा भर्ती भएर ३० वर्षपछि सन् २००७ मा अवकास लिएका पर्वत आर्थर 
डांडांखर्क ४ निवासी गुरुङले बेलायती राजपरिवारसंग बिताएका क्षण कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेलसंग यसरी सांटेका छन् ः
म सेकेन्ड गोर्खा राइफल्स्मा कार्यरत थिएं । ह्यारीको बाबा चार्ल्स हाम्रो रेजिमेन्टको कर्णेल इन चिफ हुन् । सन् १९८१, जुलाई २९ मा डायनासंग बिहे गरेपछि 
हाम्रो रेजिमेन्टले केन्जिङ्टन प्यालेसमा गोर्खा प्रतिनिधि पठाउने निधो गर्यो । त्यही सिलसिलामा म सन् १९८८ देखि १९९० को मध्यसम्म झन्डै तीन वर्ष केन्जिङ्टन प्यालेस (नेपाली दूतावास नजिकै) खटिएं । त्यो बेला प्रिन्स् विलियम ७ र ह्यारी ५ वर्ष उमेरका थिए । स्कुल जांदा कहिलेकाहीं स्कुलसम्म लगिदिनु पर्थ्यो । वीकेन्डमा म्याक डोनाल्ड्स खान मन लाग्यो भनेपछि लिन केन्जिङ्टन हाइस्ट्रिट जान्थें म ।

Harry and william childhood
प्रिन्स चार्ल्स र प्रिन्सेस् डायना ‘अफिसियल भिजिट’ मा बाहिर गइरहनुपर्ने भएकाले हामीले ह्यारी र विलियमको रेखदेख गर्दथ्यौं । प्यालेसभित्र धेरै कडाइ र अनुशासन थियो, ह्यारी विलियम गार्डेनभित्रै खेल्थे दगुर्थे । कहिलेकाहीं 
ह्यारीले सुटुक्क मिठाइ खान्छु नि प्लिज… भन्दा मैले दिन्थें । ह्यारीलाई आर्मी युनिफर्म सानै देखि मन पर्ने हो, मैले लगाएको युनिफर्म उनलाई खुब मनपथ्र्यो । मैले नमस्कार, राम्रो छ… जस्ता नेपाली शब्द बोल्न पनि सिकाएको थिएं । कत्ति दुःख नदिने ज्ञानी थिए ह्यारी । 
ह्यारी, विलियममा सानैदेखि गोर्खालीको प्रभाव थियो । सन् १९८९ मा केन्जिङ्टन प्यालेस अगाडि मैले ह्यारी र विलियम बोकेको तस्विर स्वर्गीय राजकुमारी डायनाले खिचिदिएकी हुन् ।

म प्यालेसमा हुंदा प्रिन्स चार्ल्स र डायनासंग हङकङ, जोर्डन, इन्डोनेसिया आदि भ्रमण जाने मौका पाएं । विकेन्डमा वेल्स्, क्रिसमस समय सान्ड्रिङहाम हाउसमा राजपरिवारसंग समय बित्थ्यो । चार्ल्स, डायना समरमा स्कटल्यान्डस्थित बालमोरल क्यासलमा शिकार खेल्न जांदा म पनि साथमा हुन्थें । मैले विन्सोर क्यासल लगायत यूकेका कयौं रमणीय ठाउं संगै घुमें राजपरिवारको साथ ।

संयोगले म सन् २००४ मा रोयल मिलिट्री अकाडेमी, स्यान्डष्र्ट आएं । करिब ४ वर्ष त्यहां रहंदा मेरो ब्रिटिस आर्मी अफिसर तालिमका लागि संसारभरबाट आउने विद्यार्थीसंग भेट हुन्थ्यो । त्यही बेला विलियम र ह्यारी पनि आर्मी जोइन गर्ने प्लानमा रहेको सुनें ।

म प्रशिक्षक थिइन तर अरु प्रशिक्षकहरु गोर्खाली भएकाले विद्यार्थीसंग मेरो उठबस हुन्थ्यो । फेरि ह्यारी र विलियमसंग निकट हुने साइत जुर्यो । त्यतिखेर ति दाजुभाईले आमा स्वर्गीय डायनाको बारेमा मसंग खुबै सोध्थे । सानैमा आमा बितेपछि उनीहरुले आमालाई धेरै मिस गरेको चाल पाएं मैले । आमा जिवितै भएको भए सायद गोर्खा र नेपालीका लागि अझ राम्रो हुन्थ्यो होला भन्ने मलाई लाग्छ ।

गत १२ अप्रिल, २००६ मा प्रिन्स ह्यारी र विलियम रोयल मिलिट्री अकाडेमी, स्यान्डष्र्टबाट दिक्षित हुंदा मैले भेटेर तस्विर नै खिचें । उनीहरुले एकपटक मलाई स्यान्डष्र्टमा कार्यक्रम हुंदा प्रमुख अतिथी पनि बनाएका थिए ।

Harry with Krishna

अहिले राजकुमार ह्यारीको नेपाल भ्रमणले सर्वत्र चर्चा पाउंदा मलाई गर्व र खुशी लागेको छ । ह्यारीले रोयल ड्युटी सोचेभन्दा राम्ररी पुरा गरे । ह्यारीका लागि नेपालमा जस्तो सम्मान र स्वागत अन्यत्र कहीं पनि हुंदैन । ह्यारीले पनि नेपाली र गोर्खा परिवारले गरेको न्यानो स्वागत बिना झन्झट, बिना हिच्किचाहट स्वीकारे । उनले कहिल्यै म बेलायती राजकुमार भनेर घमण्ड नगरेको यहींबाट प्रष्टै बुझिन्छ ।

हयारीले पहिला गोर्खालाई मात्र बढि चिन्थे, अब आम नेपालीको विषयमा चिन्ने मौका पाए । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । 
ह्यारीको नेपाल भ्रमणले विश्वभर सकारात्मक सन्देश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री