चित्रकलामार्फत ‘ऐक्यबद्धता’

 1459423756222_RS-KTM-Solidarity-4

काठमाडौँ, १८ चैत । देशका पाँच कलाकारका चित्रको प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि सुरु भएको छ ।

यही चैत २३ गतेसम्म चल्ने ‘ऐक्यबद्धता’ शीर्षकको उक्त प्रदर्शनीमा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, देवेन्द्र थुम्केली, केशवराज खनाल र अनिता खनाल भट्टराईका ३० चित्र राखिएका छन् ।

‘ब्रह्माण्ड’ र ‘सृष्टि’का विषयलाई लिएर कलाकार श्रेष्ठले चित्र तयार पार्नुभएको छ । उहाँले चराचर जगतको ब्रह्माण्डसँगको अन्तरसम्बन्ध र यस संसारको सृष्टिका विषयलाई कलात्मक रुपमा संयोजन गर्नुभएको छ ।

कलाकार पौड्यालले पूर्वीय मूल्य र मान्यतालाई रङ र बिम्बका माध्यमबाट चित्र बनाउनुभएको छ । उहाँले विशेषगरी आध्यात्मिक विषयलाई समसामयिक सन्दर्भसँग तुलना गरेर बनाएका चित्रमा अधिक मात्रामा प्रतीकको प्रयोग गर्नुभएको छ ।

त्यस्तै, थुम्केलीले समाजको खराब पक्षको ‘मुखुण्डो’लाई सिर्जनात्मक रुपमा उतार्नुभएको छ । अव्यवस्थित सहरीकरणले हाम्रा सामाजिक मूल्य र मान्यतामाथि गरेको हस्तक्षेप र निर्माण गर्न खोजेको विकृतिलाई सटिक र सरल रुपमा प्रस्तुत गर्दै कलाकार भट्टराईले चित्र बनाउनुभएको छ ।

त्यसैगरी, नारीलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्दै कलाकार खनालले नारी शक्तिलाई कलात्मक रुपमा प्रस्तुत गर्नुभएको छ । ‘जरा फाउण्डेसन’ को आयोजनामा भएको सो प्रदर्शनीको शुभारम्भ गर्दै साहित्यकार उषा शेरचनले कला सबैको प्रिय विधा भएको उल्लेख गर्दै कला, साहित्य र सङ्गीतले नेपाली संस्कृति निर्माणमा ऐक्यबद्धता जाहेर गरेको बताउनुभयो ।

प्रदर्शनीका संयोजक तथा सहभागी कलाकार श्रेष्ठले ऐक्यबद्धता प्रदर्शनीले नेपाली समसामयिक कलामा सिर्जनात्मकताको नमुना पेस गरेको बताउँदै सिर्जनाका सबै विधा र सर्जकको सामूहिक प्रयासले मात्रै नेपाली संस्कृतिको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फाउन्डेसनका महासचिव महेश पौड्यालले नेपाली कला, साहित्य र सङ्गीतका क्षेत्रमा संस्थाले काम गरेको बताउँदै समाजको अवस्था र परिस्थितिलाई कला पदर्शनीले समेट्न सकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री