मंगलबार, मंसिर २६ २०७४ | Tue, December 12, 2017
नेपालको समय: ०८:३१ | UK Time: 02:46

‘कठोर शारीरिक जाँच पास हुनुपर्ने भएकाले लाहुरे हुन सकिनँ’- दयाहाङ राई, अभिनेता

विनेपाली
२०७२ चैत २९ गते २३:३८
भोजपुर जिल्ला, गाविस खावा वडा नं. ५ मा २०३७ सालमा जन्मनु भएका अभिनेता दयाहाङ राई अहिले नेपाली चलचित्र उद्योगको सफल र ब्यस्त अभिनेता हुनुहुन्छ । उहाँको बाल्यकाल औसत नेपालीहरुकै जस्तै खेतिपाती र गोठालोमा बिते पनि युवा अवस्थामा प्रवेशसंगै उहाँमा केही जिज्ञासु स्वभाव र फरक काम गर्ने सोच जाग्दै गयो। खावा गाविसको दिल प्राथामिक विद्यालय, पशुपति निमावि हुँदै अन्नपूर्ण गाविसकाे अन्नपूर्ण उच्च माविमा उनले एसएलसीसम्म अध्ययन गरे । एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइएसम्म पढेका राई २०५८ सालमा घरपरिवार सदस्यहरुलाई विदेश जान्छु भनेर ढाँटेर मनभित्र भने लेखन तथा  नाटक निर्देशन गर्ने सपना बोकेर काठमाडौ आए। काठमाडौ आएपछि ‘शिरुमारानीनाटकबाट रंगमन्चमा प्रवेश गरेका राईले करिब डेढ दर्जन नाटकमा अभिनय गरिसकेका छन् भने ‘जिरो जिरो जेड’ ‘बैतरणी क्याफे’ लगायत आधा दर्जन नाटकहरुको  लेखन तथा निर्देशन पनि गरेका छन्। रंगमन्चमा सशक्त अभिनयले जम्दै गर्दा ‘अनागरिक’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा डेब्यू गरेका राईले लुट,लोफर, कबड्डी, झोले, कबड्डी कबड्डी, राहदानी जस्ता दर्जनौं लोकप्रिय चलचित्रहरु दिएर नेपाली चलचित्र उद्योगलाई संभ्रान्त बनाएका छन् भने प्रदर्शन्मुख धेरै चलचित्रहरुमध्ये ‘तान्द्रो’, ‘हाउ फन्नी’ र ‘बीरबिक्रम’बाट  उनी धेरै आशावादी छन्। सन् २०१४ मा चलचित्र ‘संबोधन’ मा गरेकाे अभिनयका लागि उनले बहुप्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कार तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको बाहुलीबाट प्राप्त गरेका छन् । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘बीरबिक्रम’को यूके ‘रेडकार्पेट प्रिमियर सो’का लागी बेलायत अाएकाे सन्दर्भ पारेर वीनेपाली डट कमका लागी भोला बिक्रम राईले गरेको कुराकानीः
 
Dayahang-Rai
यूकेमा तपाईको पछिल्लो चलचित्र ‘वीर बिक्रम’को भर्खरै रेडकार्पेट प्रिमियर सो सम्पन्न भयो। तपाईलाई कस्तो अनुभूति भइरहेको छ?
पहिलादेखि नै म आफूलाई भाग्यमानी ‘एक्टर’ लाग्थ्यो। झन् वीर बिक्रमको यूके रेटकार्पेटपछि त वास्तवमै धेरै भाग्यमानी सम्झिरहेको छु। किनभने उक्त ‘सो’ मा जुन किसिमको दर्शकहरूको उपस्थिति रह्यो र जुन किसिमको प्रतिक्रियाहरू पाएँ त्यो मेरो जीवनकै अविस्मरणीय क्षण बनेको छ। मैले नेपालमा बसेर सुनिरहेको के थिएँ भने नेपाली चलचित्रहरुको डायस्पोरा मार्केट एकदम राम्रो छ र विदेशमा बस्ने नेपालीहरुले नेपाली चलचित्रहरुलाई एकदम माया गर्नुहुन्छ र हेर्नु हुन्छ। यहाँ आएर नेपाली चलचित्रप्रति दर्शकहरूको उपस्थिति र माया देखेँ, प्रत्यक्ष साक्षी बनेँ । त्यसपछि म के कुरामा ढुक्क भएको छु भने हामीले राम्रो चलचित्र बनाउन सक्यौं भने विदेशमा बस्ने नेपालीहरुले साथ दिनुहुने रहेछ।
 
वीर बिक्रम कस्तो चलचित्र हो तपाई आफ्नो भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ ?
यो चलचित्र सोसल ड्रामा हो भन्न सकिन्छ। यो केही मसलेदार र थोरै बलिउड फर्म्याटमा पनि बनेको छ। यसकारण पनि यो चलचित्र मेरो फिल्म करियरकै फरक र अनौठो चलचित्र हो। म यो चलचित्रबाट पूर्ण सन्तुष्ट र आशावादी छु।
 
वीर बिक्रमले तपाईको पहिलेका चलचित्रहरुको रेकर्ड तोड्ला भन्ने ठान्नुहुन्छ ?
यो त समयको कुरा हो। चलचित्र ब्यवसायलाई हेर्ने हो भने ठ्याक्कै आंकलन गर्न सकिंदैन। तर मेकिंगको हिसावले वीर बिक्रम अत्यन्त राम्रो चलचित्र बनेको छ र यो चलचित्रले ब्यावसायिक वा अन्य हिसाबले रेकर्ड बनाउला भन्ने कुरामा आशावादी छु। यद्यपि नेपालमा विशेषत: राजनैतिक तथा आर्थिक रुपमा छिट्छिटाे परिवर्तन भइरहेको छ र यी परिवर्तनहरुले कहिं न कहिं चलचित्रको ब्यावसायिक सफलतामा पनि असर गर्छ नै। अब हेरौ, त्यो बेला कस्तो समय परिस्थिति हुन्छ र आम दर्शकहरुमा कस्तो सोचहरु हुन्छ, त्यसैमा चलचित्र चल्नु नचल्नु भर पर्छ।
 
तपाईले नाटक निर्देशन गर्ने सपना लिएर भोजपुर छोड्नु भयो। अहिले चलचित्रको नायक बनेर बेलायतसम्म आइपुग्नु भएको छ। तपाईले कहिले सोच्नु भएको थियो यति धेरै सफलता प्राप्त गर्छु भनेर ?
यो मैले कहिले पनि नसोचेको कुरा हो। त्यही भएर म आफूले आफैंलाई एकदम भाग्यमानी ठान्छु। किनभने जुन ठाउँमा म जन्में, जुन परिवेशमा हुर्कें, बढें, त्यहाँबाट देखिने सपना यत्रो ठूलो होइन। यो मैले कहिले पनि नदेखेको सपना हो र कहिले पनि नसोचेको प्राप्ति हो।
वीरबिक्रमबाट निकै अाशावादी छन् दयाहाङ

वीरबिक्रमबाट निकै अाशावादी छन् दयाहाङ

 

बलिउडमा पनि धेरै कलाकार रंगमन्चबाट चलचित्रमा गएका छन् बिभिन्न चरित्रहरुमा अभिनय गरेर सफलता प्राप्त गरे । तर तपाई रंगमन्चबाट चलचित्रमा गएर लगातार नायकको भूमिकामा सफल स्थापित हुनुहुन्छ। कस्तो लाग्छ यस्तो रेकर्ड बनाउँदा ?
चलचित्रमा पाएको भूमिका र मेरा चलचित्रले पाएको ब्यावसायिक सफलताको हिसाबले त्यो देख्न सकिन्छ। बलिउडसंग हाम्रो चलचित्र उद्योग नजिक भएकोले हरेक कुरामा हाम्रो उद्योगलाई बलिउडसंगै दाँज्ने गरिन्छ। वास्तवमा, बलिउडमा रंगमन्चबाट आएका स्थापित कलाकारहरु ओम पुरी, नसीरुद्दीन शाह, अनुपम खेर र पछिल्लो समयमा इर्फान खान र नवाजुद्दीन सिद्दीक़ी जस्ता कलाकारहरुले हिंडेको बाटोमा नै मैले पनि हिंडेको हो। मेरो विचारमा सफलता र लोकप्रियताको कसी कसैले पाएको भूमिकाको आधारमा नभएर पाएको भूमिकालाई न्याय गर्न सक्यो कि सकेन भन्ने कुरामा मूल्याँकन हुनुपर्छ जस्तो लाग्छ। तपाईले भनेजस्तो मैले रेकर्ड बनाएँ भन्दा पनि पछिल्लो समय नेपाली दर्शकहरुले नेपाली चलचित्रमा नयाँ स्वाद र फरकपन खोजिरहेको बेला म मात्र नभएर हाम्रो टिम विशेषगरी निर्माता निर्देशकहरु निश्चल बस्नेत, रामबाबु गरुंग्, मिलन चाम्स र दीपेन्द्र के खनाल लगायतले केही गर्न खोजेका हौं र त्यो दर्शकको चाहनासंग मेल खान पुगेको सुखद संयोग बन्यो । हाम्रो चलचित्रहरुले केही ब्यावसायिक सफलता पनि प्राप्त गर्यो र एक किसिमले मेरो चलचित्रहरुमा नायकको रुपमा ब्यस्तता बढेको चाहिँ हो। यसलाई मैले रेकर्ड बनाएँ भन्ने पक्षमा म चाहिँ छैन।
 
तपाई देख्दा साधारण हुनुहुन्छ। तपाईको रुपरंग पनि औसत देखिन्छ। तपाई जुनबेला नेपाली चलचित्र उद्योगमा छिर्नु भयो त्यो बेला हिरो हुन बलिष्ठ ज्यान, ठूला-ठूला आँखा आर्यन फेस जस्ता हुनुपर्ने परम्परागत सोच हावी थियो। यति हुँदाहुँदै पनि नेपाली चलचित्रमा आउनु भयो हिट पनि हुनु भयो। कसरी होला?
जुनबेला मेरो वा हाम्रो टिमको नेपाली चलचित्र उद्योगमा प्रवेश भयो त्यो बेला आम दर्शकहरुको चाहना वा रोजाईमा भन्दा पनि एउटा फिल्मीसूत्र प्रयोग गरेर चलचित्र पूरा गर्ने प्रचलन कायम थियो।  त्यस समय नेपाली मौलिक कथावस्तु र त्यस्को सैध्दान्तिक तथा ब्यावहारिक पक्षको बारेमा अध्ययन अनुसन्धान गरेर असाध्य कम चलचित्र बन्थे। प्राय: त्यो बेलाको चलचित्रका नायकमा अलौकिक शक्ति र गुणहरु भएको चरित्र निर्माण गरेर कथाहरु बुनिन्थे।  त्यस्ता नायकहरुको खोजी गर्दा वास्तविक जीवनमा पनि तेस्तै अनुहार वा चरित्रमा देखिनेहरु जस्ता खोजिन्थे। त्यो समयको नेपाली चलचित्रमा मूलधारको प्रतिनिधित्व गर्छौ भन्नेहरुको नजरमा म जस्ता औसत रुपरंग भएको ब्यक्ति नायकको लागी नोटिस नहुनु स्वाभाविक पनि थियो। तर पछिल्लो समयमा विशेषत: निश्चल बस्नेत, रामबाबु गुरुंग र म लगायतको टिमले फरक र मौलिक कथावस्तु र चरित्रहरु समेटेर चलचित्रहरु  बनाउने प्रयास गर्यौ, जुन आम नेपाली चलचित्र दर्शकको स्वाद र सोचसंग मिल्ने संयोग बन्यो र हाम्रो चलचित्रहरुले ब्यवसायिकरुपमा सफलता पनि प्राप्त गर्यो। जहाँसम्म चलचित्र क्षेत्रमा मेरो हिट हुने वा लोकप्रियता  प्राप्त गरेको  कुरा छ, वास्तवमा मैले आजसम्म जे भोगें, जुन परिवेशमा बाँचेको छु, मैले अभिनय गर्दा ती मेरा भोगाई र अनुभूतिहरुलाई नै जीवन्तरुपमा अभिव्यक्त गर्ने प्रयास गर्छु। सायद मेरो यही प्रयासलाई दर्शकहरुले मनपराई दिनुभयो।
 
तत्कालीन नेपाली चलचित्र उद्योगको मूलधारको परम्परागत सोचभन्दा फरक तपाईजस्तो औसत हाइट, रुपरंग चिम्सा आँखा भएको ब्यक्ति पनि चलचित्रमा आउनु भयो लोकप्रियता सफलता प्राप्त गर्नु भयो। के हामी भन्न सक्छौं नेपाली अभिनय कला क्षेत्रमा साैन्दर्यको परिभाषा फेरिएको हो?
सौन्दर्य मापनको शैली वा यस प्रतिको दृष्टिकोण प्रत्येक ब्यक्तिमा फरक हुन्छ। नेपाली चलचित्र उद्योगमा मजस्ता औसत रुपरंग भएको ब्यक्तित्व पनि नायक भएर स्थापित हुनु भनेको नेपाली समाजको चेतनामा आएको परिवर्तन नै मुख्य कुरा हो कि जस्तो लाग्छ। समाजमा र त्यही समाजको एक अंगको रुपमा रहेको हामीमा समयले ल्याएको चेतनाले साहित्य, कला, संगीतमा पनि हाम्रो टिमले आफू जस्तै ब्यक्तिहरुको उपस्थिति खोज्यो र विशेषत: अभिनय कलामा केही गर्ने उद्देश्यले त्यो बेला हाम्रो टिम निश्चल बस्नेत, रामबाबु गुरुंग लगायत म चलचित्रमा आयौं। यसरी आमदर्शकहरुले पनि मौलिक कथाशैली र आफू जस्तै चरित्र भएका पात्रहरु चलचित्रमा खोजिरहँदा भाग्यवस् मेरो नेपाली चलचित्र उद्योगमा प्रवेश भएको हो र हाम्रो टिमले गरेको कामलाई दर्शकहरुले सहर्ष स्वीकार गरिदिनु भयो र मैले एक किसिमले सफलता पनि प्राप्त गरेँ। त्यो कारणले पछिल्लो समय चलचित्र वा कलाको साैन्दर्य नै परिवर्तन भएको हो कि जस्तो लागेका होला। मुख्यकुरा  आम मानिसमा समयले ल्याएको चेतनाको परिवर्तन नै हो।
 
दयाहाङ नायिका दिया पुनसित चलचित्र वीरबिक्रममा

दयाहाङ राइ र दिया पुन चलचित्र वीरबिक्रममा

तपाईको सवल दुर्वल पक्षहरु के के हो जस्तो लाग्छ?
सवल पक्ष सायद नभएरै त्यस्को खोजीमा यहाँसम्म म आइपुगेको जस्तो लाग्छ। सवल पक्ष वा दुर्वल पक्ष भनौं, म जुनसुकै कामप्रति इमान्दार, एकोहोरिएर वा दत्तचित्त भएर गर्छु। जुन कुरा मेरो ब्यक्तिगत जीबन मैं घटित भइरहेको हाे कि जस्तो पनि लाग्छ र त्यो कुराले मेरो निजी जीवनमा कहिलेकाहीँ प्रभाव पार्न खोजिरहेको हुन्छ। दुर्वल पक्षको बारेमा बोल्नु पर्दा म साथीभाइलाई छिट्टै विश्वास गर्छु। जस्को कारणले ठूलै घात त होइन कहिँ कतै घात हुन खोजेको हो कि जस्तो अनुभूति गरेको छु।
 
तपाई अहिले ब्यस्त हुनुहुन्छ। संख्यात्मक रुपमा पनि धेरै चलचित्रहरु आइरहेका छन्। यसरी संख्यालाई जोड दिँदा गुणात्मक अभिनय गर्ने कुरामा असर गर्दैन?
अवश्य नै संख्यालाई जोड दिँदा गुणात्मकतामा असर गर्छ नै। धेरै चलचित्र गर्छुभन्दा मानसिक र शारीरिक रुपमा तयार हुन गाह्रो हुन्छ जस्ले गर्दा अभिनयमा गुणात्मक स्तर घट्नु स्वाभाविक हुन्छ। संभव भएसम्म मैले चलचित्रमा अनुबन्धित हुनभन्दा अगाडि स्क्रिप्ट र टीम हरेर नै छनौट गरिरहेको छु। कतिपय मेरो साथीभाइ तथा शभेच्छुकहरुले तैंले चलचित्र छनौट गरिनस् भन्नुहुन्छ। तर वास्तवमा मैले वर्षमा अफर आएको दश प्रतिशत मात्र चलचित्रहरु गरिरहेको छु। त्यति गर्दा पनि वर्षको ५/६ वटा चलचित्रहरु मेरो आइरहेको छ र दर्शकहरुमाझ पुग्दा धेरै भइरहेको जस्तो देखिन्छ।
 
नेपाली चलचित्र उद्योगमा दयाहागं राईको प्रतिस्पर्धी को हो जस्तो लाग्छ?
प्रतिस्पर्धा त मेरो आफूसंग बाहेक कसैसंग पनि हुँदैन होला सायद। म जहिले पनि अरुभन्दा पनि आफ्नै मौलिकतामा रमाउन चाहन्छु र आफ्नोपनलाई कायम गर्न चाहन्छु। प्रत्येक मान्छेले आफूसंग जे जति क्षमता त्यही अनुसार काम गर्नुपर्छ र त्यसैमा रमाउनु पर्छ जस्तो लाग्छ मलाई।
 
कुनै त्यस्तो चलचित्र वा भूमिका जस्लाई आफूले खेल्न पाए हुन्थ्यो लाग्छ ?
सबै मान्छेहरु आ-आफ्नो प्रकारले लोभी त हुन्छन् होला र प्रगति र विकासको लागी लोभ हुन जरुरी होला। तर मैले किटेर भन्नसक्ने त्यस्तो कुनै चलचित्रहरु खासै छैन र कुनै त्यस्तो चलचित्र वा रोल पाए पनि गर्न सक्ने शक्तिशाली ब्यक्ति पनि म होइन जस्तो लाग्छ।
 
 नेपाली चलचित्रहरुको अन्तर्राष्ट्रिय बजारको कुरै छोडौं, नेपालभित्रै पनि राम्रो बजार पाउन सकिरहेको छैन ब्यावसायिक रुपमा सफल हुन सकिरहेको छैन। किन होला?
म सधैं यस्तै स्थिति नरहला र केही सुधार होला कि भन्ने कुरामा आशावादी छु। तर मुख्य कुरा हामी चलचित्र निर्माणमा लागेकाहरु नै यस विषयमा बढी जिम्मेवार भएर प्रस्तुत हुन जरुरी पनि देख्छु। हामीले जति नै फेन्टासी चलचित्र बनाए पनि आम मान्छेलाई चलचित्र हेर्दा हावादारी लाग्ने होइन विश्वास लाग्ने बनाउनु पर्यो। दर्शकले चलचित्र हेरिरहँदा कतै त्यो कथा मेरै पो हो कि अथवा त्यो पात्र म नै पो हो कि भन्ने अनुभूत गराउनु पर्यो। कथाहरु मौलिक नेपाली माटोको सुगन्ध बोकेको हुनु पर्यो र पात्रहरुको चरित्र पनि त्यसरी नै निर्माण गर्नु पर्यो। यसरी चलचित्रहरु हामीले निर्माण गर्न नसकेको कारणले हाम्रो चलचित्रको बजार अहिलेसम्म खस्किरहेको हो।
नेपाली चलचित्रको बजार पनि सानो लगानी पनि सानो नै छ। के लगानी कम भएको कारणले उत्कृष्ट चलचित्रहरु बन्न नसकिरहेको हो?
त्यो चाहिँ म मान्दिनँ। सिर्जनालाई मूल्यले वा दामले छेक्दैन। हाम्रो बजेट कम छ र राम्रो चलचित्र बनाउन सकिरहेको छैनौं भन्ने एक किसिमको हामीलाई भ्रम छ। हामीले टेक्नोसिनेमा वा अति नै स्वैरकल्पना बगेको चलचित्र वा त्यो किसिमको मेकिंग मात्र सोच्ने होइन नि। सामान्य कथा र परिवेशको चलचित्र जहाँ नेपालीपन र मौलिकता झल्कोस्, त्यस्तो चलचित्र बनाउन सके नै अहिले पर्याप्त छ। त्यस्तो चलचित्र बनाउन नेपाली बजार र परिवेश अनुसारको बजेट ठिकै छ  र हामी कलाकारहरुले पनि श्रम अनुसारको मूल्य पाइरहेको छौ।
 

रंगमन्चबाट स्थापित हुनुभएको कलाकार अहिले सिनेपर्दामा ब्यस्त हुनुहुन्छ। रंगमन्च चलचित्रलाई रोज्नु पर्दा कुनलाई रोज्नुहुन्छ?

दुवै मेरो यतिखेर अपरिहार्य कुरा हो। बिज्ञान भनेको मेरो लागी रंगमन्च हो जहाँ मैले धेरै कुराहरुको प्रयोग गरिरहेको हुन्छु र जीवन र समयका कुराहरु त्यहाँ उत्पादन गरिरहेको हुन्छु भने चलचित्र चाहिँ मेरो लागी गणित पनि होला जहाँबाट जीवन चलाउने अर्थतन्त्रहरुको जोड घटाऊ हुन्छ । यी दुवै भएन भने सायद म बाच्दिनँ होला। यी दुवैको माध्यमबाट मैले जानेको र मेरो प्रिय कुरा अभिनय गरिरहेको हुन्छु।
 
अभिनय गर्दा चाहि रंगमन्च चलचित्र कुनमा बढी सजिलो महसूस गर्नु हुन्छ?
अभिनय मेरो रुचिको विषय भएकोले दुवैमा म अभिनय गर्दा एकदम इन्ज्वोय गरिरहेको हुन्छु। तर नाटक र चलचित्र फरक भएको हुनाले अभिनय गर्दा पनि फरक तरिकाले तयारी गर्नु पर्ने हुन्छ। नाटकमा अभिनय गर्नु अलिक चुनौति भए पनि मेरो अभिनय यात्रा नै नाटकबाट सुरु भएर होला सायद म रंगमन्चमा अभिनय गर्दा गज्जबको वातावरण पाउँछु र रमाउँछु ।
 
भोजपुरको खावा गाबिसमा जन्मिएर तेही परिवेशमा जिज्ञासु स्वभाव लिएर हिँड्ने दयाहाङ  अहिले नेपाली चलचित्र उद्योगको सुपरस्टार दयाहाङ बिच के फरक ?
अभिनयको यात्रा सुरुवात गरे पछिको आज बेलायतसम्मको यात्रा गरेर तपाईसामू बोलिरहँदा र हिजो भोजपुरमा भएको दयाहाङ बीच सायद बाँचेको परिवेश चाहिँ फरक होला। हिजो जुन ठाउँमा म जन्मेँ, जुन परिवेशमा म हुर्कें त्यो बेला नजिकबाट मैले देख्ने भनेको मेरा छरछिमेक र ईष्टमित्रहरु आज सम्झनामा मात्र हुनुहोला। यद्यपि मेरो जीवनशैली वा सोच सबै उस्तै छ, जस्तो भोजपुर छोड्नु अगाडि थिएँ।
dayahang

तस्वीर अनलाइन खबरडटकमबाट

 
तपाई यतिखेर लाहुरेको देशमा हुनुहुन्छ । तपाई किरातीको छोरा, गाउँमा पनि अरु धेरै लाहुरे होलान् । तपाईलाई चाहिं कहिले लाहुरे बनौं जस्तो लागेन?
किन नलाग्नु नि ?  मलाई आर्मी असाध्य मन पर्ने र हाम्रो गाउँ ठाउँको र हाम्रो समुदायको युवाहरुले एक समयमा लाहुरे हुन खोज्नु सामान्य कुरा नै हो। लाहुरे हुनका लागी असाध्य कठिन शारीरिक छनौट प्रकृयाहरु पूरा गर्नु पर्ने तर म त्यस मामलामा अलिक कमजोर। त्यही भएर सफल भइनँ।यो मामलामा चाहिँ असफल योध्दा भैयो भनौं न ।
 
आफ्नो सफलताको रहस्य के हो यस्को श्रेय कस्लाई दिनु चाहनु हुन्छ ?
रहस्यका बारेमा भन्नु पर्दा मैले जुनदिन अभिनयको बारेमा सोचें र केही सिक्न थालें, त्यही दिनदेखि म अन्य केही कुरा दिमागमा नसोचि यसैमा ‘फोकस’ भएर लागेको छु। सायद यही एकाग्रताले मलाई यहाँसम्म ल्यायो कि ! र, मैले पाएको सफलताको श्रेय दिनु पर्दा मेरा बाबाआमा जस्ले मलाई जन्माउनु भयो, हुर्काउनु भयो र आजसम्म छोरा तैंले के गर्दैछस् भनेर एकशब्द सोध्नु पनि भएन। पछि काठमाडौ आएपछि मेरा काकाकाकी जस्ले म आफ्नो करियर बनाउन संघर्ष गरिरहँदा लामो समय आश्रय दिनु भयो उहाँहरुलाई, नि:सन्देह मेरो जीवनसंगिनी जोसंग नाता जोडिएपछि मेरो प्रत्येक दु:खसुखमा साथ दिइरहेकी छे र तमाम मलाई माया गर्ने नेपाली सिनेप्रेमी दर्शकहरु जो नभएको भए म आज यो स्थानमा हुने नै थिइनँ। उहाँहरुलाई नै म यो सफलताको श्रेय दिन चाहन्छु।
 
अन्त्यमा मैले नसोधेका यहाँ भन्न छुटेका केही कुराहरु होला?
सर्वप्रथम तपाईहरुको लोकप्रिय अनलाइन न्युज पोर्टल विनेपाली डट कमबाट मेरा कुराहरु संसारभरि छरिएर रहेका नेपालीहरुमाझ पुर्याउने अवसर दिनुभयो यस्को लागि तपाईलगायत सबै टीमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। चलचित्र बीर बिक्रमको यूके प्रीमियर सोको सन्दर्भ पारेर यूकेमा रहेका मेरा शुभचिन्तकहरुमाझ आउने अवसर जुर्यो। यसको लागी निर्माता -निर्देशक मिलन चाम्सज्यूलाई हार्दिक धन्यवाद दिन चाहान्छु र अन्त्यमा यूकेलगायत संसारभर छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई नेपाली चलचित्रहरुलाई माया गर्दिनुस् भन्ने अनुरोध गर्दछु।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक