लिभरपुलमा १४ औं नेपाल अध्ययन दिवस, २३ शोधपत्र र ९ पोस्टर प्रस्तुत

IMG_20160414_151342

लन्डन । बेलायत नेपाल प्रज्ञा परिषदले लिभरपुलमा नेपाल अध्ययन दिवस कार्यक्रम गरेको छ । लिभरपुल जोन मुर विश्वविद्यालयको एडमण्ड भवनमा गत अप्रिल १४ र १५ मा दुई दिने कार्यक्रम गरेको हो ।

नेपाल वा नेपाली सांस्कृतिक संसारका विविध पक्षमा गरिएका ताजा अनुसन्धानहरू प्रस्तुत र छलफल हुने उक्त कार्यक्रममा यो वर्ष विभिन्न आठ विषयमा २३ वटा शोधपत्र र ९ वटा पोस्टर प्रस्तुत, एक ‘प्यानल’ छलफल र एक कार्यशाला चलाइएको थियो ।

कार्यक्रमको पहिलो दिन बोर्नमथ विश्वविद्यालयका प्रा. एडविन भ्यान तेजलिङ्गेनले 
‘फोकस ग्रुप डिस्कसन’ विषयमा ज्ञान अभिवृद्धि कार्यशाला सञ्चालन गरेका थिए । त्यसपछि स्थानीय आयोजकद्वय प्रा. पदम सिम्खडाको सञ्चालन र डा. सेरा पार्करको स्वागत र परिषद्का अध्यक्ष प्रो. डेविड गेल्नरको छोटो उद्घाटन मन्तव्यसहित शोधपत्र प्रस्तुति सुरु भएको थियो ।

पहिलो सत्रको प्रस्तुति शिक्षा विषयमा भएको थियो । प्रोफेसर पदम सिम्खडाको सभापतित्वमा भएको उक्त सत्रमा युसिएल लन्डनका डा. तेजेन्द्र फेरालीले नेपालको जनयुद्ध र शैक्षिक संस्थाहरूमा नेतृत्वको दुर्दसा, म्यानचेस्टर विश्वविद्यालयका डा. दामोदर खनालले विद्यालयमा हुने दवाव र पछि परेका समुदायका बालबच्चामा परेको असर र डा. बिभा सिम्खडा र अन्यले नेपालमा मानसिक स्वास्थ्य र नर्सिङ शिक्षाको बारेमा शोधपत्र प्रस्तुत गरेका थिए ।

सोआस् लन्डनकी डा. फेजी इस्माइलले अध्यक्षता गरेको दोस्रो सत्रमा लैङगिक र द्वन्द्व विषयमा चार वटा कार्यपत्र प्रस्तुत भएको थियो । युसिएल लण्डनकी डा. एमली मेडेरोसले द्वन्द्वमा सङ्लग्न बालबालिकामा दीर्घकालमा देखिएको असर, लिभरपुल जोन मोर विश्वविद्यालयका डा. के स्टान्डिङ र डा.सेरा पार्करले नेपालमा भूकम्पपछिको महिला हिंसा, लन्डन स्कूल अफ इकोनोमिक्सकी डा. पुनम यादवले जनयुद्धपछि नेपालमा महिलामा आएको सामाजिक परिवर्तन र ग्लास्गो विश्वविद्यालयकी कुमुद राणाले तेस्रो लिङ्गी पहिचानको बारेमा शोधपत्र प्रस्तुत गरेका थिए ।

पहिलो दिनको अन्तिम (तेस्रो) सत्र ‘जात, वर्ग र पहिचान’को अध्यक्षता सोआस् लण्डनकी डा. स्टेफानी लोटरले गरेकी थिइन् । उक्त सत्रमा अक्स्फोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारी र प्रोफेसर डेविड गेल्नरले दक्षिण एसियाली परिवेशमा समाजशास्त्री वोर्डूको डिस्टिङक्शनको प्रयोग र क्म्प्लुटेंसे दे म्याड्रिड विश्वविद्यालय, स्पेनकी आन्द्रेय दे ला रुविया गोमेज मोरानले सन् १९५० को दशकमा आधुनिक नेपाली पहिचानमा पश्चिमी संस्कृतिको प्रभावबारे शोधपत्र प्रस्तुत गरेका थिए ।

दोस्रो दिनको सुरुमा (चौथो सत्र) बसाइं सराइ र गतिशीलता विषयमा तीनओटा शोधपत्र प्रस्तुत गरि । डा. कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न सो सत्रमा लिभरपुल विश्वविद्यालयका डा. हेमराज शर्माले नेपालको सामाजिक आर्थिक विकासमा नेपाली ‘डायस्पोरा’को योगदान, प्रो. द्वय पदम सिम्खडा र एडविन भ्यान तेजलिङ्गेनले नेपालमा बसाइं सराइको प्रभाव र सिएनएस यूकेका डा. चन्द्र लक्सम्बा र अन्यले बेलायतका नेपालीहरूको सामाजिक गतिशीलताबारे शोधपत्र प्रस्तुत गरेका थिए ।

प्रो. भ्यान तेजलिङ्गेनले अध्यक्षता गरेको स्वास्थ्य सम्बन्धी विषयको छैटौं सत्रमा सेफिल्ड विश्वविद्यालयका जीवन कार्की र अन्यले नेपालको प्राथमिक स्वास्थ्य सेवामा सरोकारवालाको सहभागिता, लिभरपुल जोन मोर विश्वविद्यालयका डा. एकनारायण पौडेल र अन्यले नेपालमा एचआईभी एड्ससम्बन्धी विभेद, एवर्डिन विश्वविद्यालयका यज्ञप्रसाद सुवेदीले नेपालमा पोषण र आर्थिक क्षेत्रमा परिवर्तन र वेस्ट अफ इंग्लैन्ड विश्वविद्यालयका डा. पुष्पराज पन्त र ब्रिष्टल विश्वविद्यालयका जुली मिटनले नेपालमा वेवास्ता गरिएको चोटपटकको महामारीको बारेमा शोधपत्र प्रस्तुत गरेका थिए ।

डर्हम विश्वविद्यालयका डा. बेन क्याम्पबेलले अध्यक्षता गरेको शक्ति (इनर्जी), पर्यावरण र सामाजिक उद्यम विषयको छैटौं सत्रमा तीन वटा शोधपत्र प्रस्तुत गरिएको थियो । रोयल बोटानिकल सोसाइटी एडिनबराका डा. कोलिन ए पन्ड्रीले नेपालको ऐतिहासिक पर्यावरणीय निमार्ण, ओस्लो विश्वविद्यालय नर्वेका मिकेल भिन्डेगले नेपालमा इन्धनबारे मानवशास्त्रीय दृष्टिकोण र स्वान्जी विश्वविद्यालयका रविन्द्र न्यौपानेले नेपालमा सामाजिक उद्यम विषयमा शोधपत्र प्रस्तुत गरेका थिए । डा. सेरा पार्करले अध्यक्षता गरेको सैन्य तथा श्रम आप्रवासीको अधिकार सम्बन्धी 
(सातौं) सत्रमा सोलिडारिटी इन्टर नेशनलका कृष्ण उपाध्यायले कतारका नेपाली आप्रवासी र गेसोका डा. चन्द्रबहादुर गुरुङले गोर्खा भर्ती र नेपाल बेलायत सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तिम सत्रमा नेपालको भूकम्प र विनाशपछिका प्रयासहरूको बारेमा सार्वजनिक छलफल चलाइएको थियो । प्रो. गेल्नरले अध्यक्षता गरेको सो सत्रमा दुई वटा शोधपत्र र थप दुई प्यानल सदस्य (डा. अधिकारी र डा. पार्कर) को छोटो प्रस्तुति रहेको थियो । शोध प्रस्तुतिमा डर्हम विश्वविद्यालयका मार्क मानुएल र अन्यको काठमाडौंका क्षतिग्रस्त स्मारकहरूको पुरातात्विक विश्लेषण र डा. क्याम्पबेलको तामाङ बस्तीको ‘घर के हो ? राज्य के हो ?’ शिर्षकको छोटो फिल्म रहेका थिए ।

कार्यक्रममा बोर्नमथ विश्वविद्यालयका जीव आचार्य र अन्यको पोषणसम्बन्धी, सेफिल्ड विश्वविद्यालयकी सरिता पाण्डे र अन्यको महिला स्वास्थ्य स्वयसेविकासम्बन्धी, श्रद्धा मानन्धर र अन्यको सुर्तीसेवन परित्यागसम्बन्धी, ब्रुस एण्डरसन र अन्यको बृद्धबृद्धासम्बन्धी, लिभरपुल जोन मोर विश्वविद्यालयका भक्त गुरुङको बृद्धबृद्धा गोर्खाको सेवामा पहुंच सम्बन्धी, डा. पार्करको ‘फेयर ट्रेड’ सम्बन्धी डा. स्ट्यान्डिङ र अन्यको नेपालमा अनुकरणीय महिलाहरू सम्बन्धी आदि पोस्टरहरू प्रस्तुत र छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री