लन्डनका व्यवसायी महन्त श्रेष्ठ यसरी सम्झन्छन् अतित

 

IMG_0049

सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएं म । कृष्ण बहादुर थापाको इलिङ तन्दुरीमा म्यानेजरका रुपमा काम गर्न मैले भिजा लिएको थिएं । त्यतिबेला मेरो उमेर २४ थियो ।

हिथ्रो एयरपोर्टबाट सिधै म साउथहल रुपबहादुर कार्की र हरि कार्कीको संयुक्त घरमा बस्न गएं । करिब डेढ महिना बसेपछि त्यहां आफ्नै परिवार, भीडभाडले बस्ने वातावरण भएन र त्यो ठाउं छोडें ।

त्यतिबेला गोराहरुले हामीलाई हत्तपत्त कोठा भाडामा दिन्थेनन् । कोठा पाए पनि होहल्ला वा राती म्यूजिक बजायो भने निकालिदिन्थे । हामी कहिलेकाहीं काम सकेपछि राती नेपाली गीत संगीतमा चाडपर्व मनाउंथ्यौं तर गोराहरु डिस्टर्ब भयो भनेर मन पराउंथेनन् । कोठा नपाएर म केही महिना रेष्टुरेन्टमै सुतेको पनि छु । भारतीयले चाहिं हाम्रो लवाइ खवाइ र रहनसहन मिल्ने भएर कोठा दिन्थे ।

आउने वित्तिकै नयां ठाउं, नयां परिवेश । भाषा संस्कृति सबै नौलो । अप्ठेरो त पक्कै भयो । होम सिक अति नै भयो । त्यो जमानामा नेपाली ज्यादै कम थिए । नेपाली भेट्न परे वारेन्ट स्ट्रिट जानुपथ्र्यो । यती संस्थामा आवद्ध भएपछि भने उसले गर्ने दशैं तिहार, राजाको जन्मोत्सवमा हामी जान्थ्यौं । कामको बेला साथीहरु ब्रेकमा सुत्थे तर म लाइब्रेरी गएर केही नयां कुरा सिक्थें ।

म यूके आउनुअघि ५ महिनाजति अमेरिका बसेकाले अंग्रेजी बोल्न त त्यति अप्ठेरो भएन । काम पनि सजिलै लाग्यो किनकि म नेपालमा होटल लाइनमै थिएं । म सिनियर स्टाफ भएकाले २५ पाउण्ड साताको ज्याला थियो, अरुको भने दश पाउण्ड प्रति साता ।

५ वर्ष इलिङ तन्दुरीमा काम गरिसकेपछि म, बिष्णु कार्की र हरिसिंह थापा मिलेर मन्टिज रेष्टुरेन्ट खोल्यौं सन् १९८० जुनमा । करिब ४ वर्ष संयुक्त रुपमा चलाएपछि सन् १९८४ मा हामी छुट्टियौं र मैले इलिङमा ३६ वर्ष यता एक्लैले मन्टिज चलाइरहेको छु । मलाई एउटा गोरा कष्टमरले बेलायतमा व्यवसाय गर्ने हो भने सैलुन, रेष्टुरेन्ट र पबको गर्नु जसमा नाफा छ भनेर सल्लाह दिएको थियो ।

त्यो बेला र अहिले रेष्टुरेन्ट व्यवसायमा धेरै परिवर्तन आइसकेको छ । पहिले प्रतिष्पर्धा थिएन अहिले जस्तो । नेपाली रेष्टुरेन्ट औंलामा गन्न सकिने थिए । व्यापारमा अवसर प्रशस्त थियो । अहिले जस्तो बजार प्रवद्र्धन होइन, वर्ड अफ माउथबाट व्यवसाय चल्थ्यो त्यो बेला ।

नेपालीले सिजलिङ डिस, चिकेन टिक्का मसला चिनाएर भारतीय रेष्टुरेन्टसंग टक्कर गरेका थिए । नेपालीले सस र करीमा रिभोलुसन नै ल्याए । नेपाली खाना बेग्लै स्वादको हुने भएकाले हाम्रो रेष्टुरेन्टमा खान आउने ब्रिटिश ग्राहक लाइन लागेर कुर्नुपथ्र्यो । ९० प्रतिशत ग्राहक बेलायती नै हुन्थे र यो क्रम अहिले पनि जारी छ ।

मेरो अनुभवमा रेष्टुरेन्ट चल्न लोकेसन, फ्रेस खाना अनि गुणस्तर र अतिथी सत्कार नै प्रमुख हुन् । हेल्थ एण्ड सेफ्टी, फुड हाइजिन, सरसफाइ, कलात्मक डेकोरेसन र नियमित रुपमा मेनु चेन्ज पनि अत्यावश्यक वस्तु हुन् यसमा । ग्राहकलाई खुशी पार्न बेला बेला टेबलमा गएर खाना कस्तो छ, केही थपौं कि भन्नुपर्छ । अन द हाउस केही पेय पदार्थ अफर गर्दा ग्राहक फेरि दोहोर्याएर रेष्टुरेन्ट आउन सक्छन् ।

सन् २००० पछि यो व्यवसायमा धेरै परिवर्तन आएको छ । नयां पुस्ताले खानामा केही नयांपन खोज्न थालेको छ । युरोपियन ल पालना गर्न पनि उत्तिकै जरुरी छ । अलिकति लापरवाही गरे रेष्टुरेन्ट तुरुन्त बन्द गरिदिन्छ काउन्सिलले ।
रेष्टुरेन्ट व्यवसाय अहिले एकदम चुनौतीपूर्ण छ । २४ घण्टा सातै दिन 
खटिनुपर्ने भएकाले सोचेजस्तो सजिलो छैन् । रेष्टुरेन्ट खोलेको १८ देखि २४ महिनासम्म नाफाको आशा नराखी खटिनुपर्छ । मेरो अनुभवमा रेष्टुरेन्ट खोल्ने हो भने ६० सिट भन्दा कम क्षमताको नखोले हुन्छ । जति सानो खोल्यो उति घाटा हुने सम्भावना रहन्छ किनकि बिजुली, पानीको बील, कर, भाडा आदिमा धेरै खर्चिलो छ । तर, यसो भन्दैमा हैसियत बिर्सेर ऋण धनमा लगानी गर्न भने उचित होइन ।

म रेष्टुरेन्ट व्यवसायसंगै बियर उत्पादन र प्रोपर्टीमा पनि लागेको छु । पार्टनरसीपमा सन् २००३ देखि खुकुरी बियर उत्पादन गर्न थाल्यौं हामीले । तर, सन् २००७ देखि भने म एक्लैले यो व्यवसाय गरिरहेको छु । ब्रिटिश हर्बस् प्रयोग गरेर बनाइएको ग्यांस कम आउने खालको यो बियर ग्राहकले खुब रुचाएका छन् । खुकुरी बियर अहिले युरोपका १०, १२ मुलुकमा निर्यात हुन्छ । यसबाट व्यापार भन्दा पनि नेपालको चिनारी भइरहे जस्तो लाग्छ ।

म व्यवसायमा मात्र सिमित छैन् । समयले भ्याएसम्म समुदायको हितमा लागिरहेको छु । म एनआरएनए यूकेको संस्थापक अध्यक्ष र हाल पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स 
(बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा पनि छु । इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष हुं म । उल्लेखित जिम्मेवारी लिएर मैले नेपाली समाजको लागि केही गर्न पाउंदा खुशी लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री