पूर्व गोरखाका छोरा युरोपियन बक्सिङ च्याम्पियन

aadip 1

लण्डन । पूर्व गोरखा सैनिकका छोरा आदिप रानामगर लाइटवेट समूहमा बक्सिङका नयाँ युरोपियन च्याम्पियन भएका छन् ।
गत साता लण्डनको टोलवर्थमा आयोजित म्याचमा उनले प्रतिस्पर्धीलाई पराजित गर्दै सो उपाधि हात पारेका हुन् ।
आर्मी नम्बर २११५९९८४ मोतिराम राना मगरका दुई भाइ छोरामध्ये जेठा आदिप सानैदेखि खेलमा रुचि राख्थे । प्रारम्भमा उनी फुटबल खेल्थे । स्कुल पढ्दापढ्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा उनले मौका पाए । त्यसपछि जावलाखेल क्लवबाट खेल्दाखेल्दै संकटा क्लवबाट खेल्न उनलाई प्रस्ताव आयो ।
फुटबल खेल्दाखेल्दै जब उनी रेज फिटनेस सेन्टरमा छिरे त्यसपछि उनलाई मार्शल आर्टतर्फ रुचि बढ्यो । क्योकुसिन करातेबाट उनले मार्शल आर्टमा प्रवेश गरे । त्यसपछि बक्सिङतर्फ । नेपालमा रहँदा उनले कराते र बक्सिङका राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरे तर विजेता भने हुन सकेनन् । भन्छन्, “तेस्रोसम्म भएको थिएँ ।”
सन् २०१४ मा युके आएपछि आदिप लण्डन मिचामको जिम साउथ लण्डनमा आवद्ध भए । सन् २०१५ को फेब्रुअरीमा भएको पहिलो म्याचमै उनले प्रतिस्पर्धी मोहम्मद शाहलाई पहिलो राउण्डकै नकआउट गरिदिए । त्यसपछि उनको करियर एक्कासी उकालो लाग्न थाल्यो । उनको सो म्याचको भिडियो युट्युबमा चर्चित भए पनि उनी आफैं भने खेलपछि शाह घनिष्ट साथी बनेकाले आफूले सो भिडियो सेयर समेत नगरेो बताउँछन् ।
अहिले उनी महिनामा दुईवटा जस्तो म्याच खेल्छन् । त्यसो त उनी किक बक्सिङ, अमेरिकन बक्सिङ, के वान सबै किसिमका बक्सिङ म्याच खेल्छन् । अहिलेसम्म भाग लिएका ९ वटा म्याचहरुमध्ये उनले दुई वटामा हार ब्यहोरेका छन् भने बाँकी सबैमा जित ।
जितमा जति हाइ हाइ गरेपनि त्यो जित हासिल गर्न सजिलो भने छैन । यसको लागि चाहिन्छ–उच्च समर्पण, अभ्यास र अनुशासन । अहिले एमएण्डएस (माक्र्स एण्ड स्पेन्सर)मा फुलटाइम काम गर्ने आदिप दैनिक तीनघण्टा जिममा अभ्यासमा बिताउँछन् । बक्सिङमा लाग्ने वातावरण बनाउन परिवारले धेरै मद्दत गरेको उनी स्वीकार्छन् । “तर साथीभाइहरुलाई समय दिन भने धेरै गारो हुँदोरहेछ”, उनले भने ।
बक्सिङ खेल बलभन्दा पनि बढी दिमागको खेल भएको उनी बताउँछन् । रिङभित्र निश्चित समयमा पर्फमेन्स देखाउँदा रमाइलो लाग्ने उनको अनुभव छ । व्यक्तिगत जीवनमा कुनै रिसराग, शत्रुता नभएका प्रतिस्पर्धीलाई रिङमा एक्कासी जाइलाग्न कसरी सकिन्छ भन्ने प्रश्नमा उनले भने, “रिङमा जानअघि यसको टाउको उडाउँछु भन्ने हुन्छ । तर जब भित्र पसिन्छ त्यस्तो केही सोचिन्न । सोच्न थाल्यो भने विपक्षीले दुई÷चार मुक्का बर्साइसक्छ ।”
बक्सिङ खेलमा सिकेको कला वास्तविक जीवनमा प्रयोग गर्नुपरेको छ कि छैन भन्ने प्रश्नमा उनले भने, “त्यस्तो परेको छैन ।” उनले अगाडि भने, “नेपालमा खेलाडीहरु नेताका पछि, गुण्डाका पछि लाग्ने गर्थे । त्यतिबेला मलाई पनि बोलाउने गर्थे म जान्थेँ, चिया खान्थेँ । बाटो लाग्थेँ । कहिल्यै पनि आफूले सिकेको सीपको दुरुपयोग हुन दिइनँ ।”
ब्रुस लिबाट प्रभावित भएर बक्सिङमा लागेको बताउने आदिप आफूबाट युवापुस्ताले केही प्रेरणा लिनसके त्यही नै उपलब्धि हुने ठान्छन् । त्यसैले उनले लण्डनको मोर्डनमा हप्ताको एक दिन नेपाली केटाकेटीहरुलाई बक्सिङ सिकाइरहेका छन् ।
कुनै दिन नेपालको तर्फबाट ओलम्पिकमा भाग लिने योजना पो छ कि उनलाई सोधियो । नेपालमा खेलकुद राजनीति देखेका उनले आफैँ त्यसबाट टाढै बस्न चाहना व्यक्त गरे । राम्रालाई भन्दा पनि हाम्रालाई मौका दिने भेदभावपूर्ण व्यवहार नेपालका खेल व्यवस्थापकमा रहेको टिप्पणी गर्न उनी चुकेनन् । “बरु यहीँ नेपालको झण्डा बोकेर खेल्छु”, उनले भने ।
यहाँ चाहिँ खेलभित्र कुनै रंगभेद छ कि उनलाई सोधियो । हालसम्मको अनुभवमा त्यस्तो व्यहोर्नु नपरेको प्रष्टीकरण उनले दिए ।
एसियामा थाइ र फिलिपिनो बक्सरहरुको दबदबा रहेर होला उनलाई पनि धेरैले थाइ वा फिलिपिनो नै भन्छन् रे तर उनी चाहिँ नेपाल पनि बक्सर उत्पादन गर्ने देश हो भन्ने सन्देश दिँदैछन् ।
आफूलाई खेलकुदमा लाग्न सधैँ प्रेरणा दिइरहने आमालाई १८ वर्षको उमेरमा गुमाएका उनलाई अहिले आफूले पाएको सफलता उहाँले हेर्न पाउनु भएन भन्ने महसुस हुन्छ । त्यसलाई उनले उर्जाका रुपमा लिन्छन् र ‘कतैबाट हेरिरहनुभएको होला, राम्रो गर्नुपर्छ’ भन्ने ठान्छन् ।
पेशेवर बक्सिङ खेलाडी हुन लागेका उनी पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर हुन् ।
बक्सिङ खेलमा टिकिरहन चोटपटक, उमेर सबै पक्षहरुले साथ दिनुपर्ने उनको बुझाइ छ । यसरी नै सफलताहरु प्राप्त भइरह्यो भने आगामी एक वर्षभित्र पूर्णकालिन बक्सिङ खेलाडी बन्नसक्ने सम्भावना उनले देखेका छन् ।
अर्को महिना साउदर्न क्षेत्रको च्याम्पियनसीपको तयारीमा लागिरहेको उनी भविष्यमा बक्सिङ प्रशिक्षक बन्न चाहन्छन् । “त्यो नेपालमा पनि हुन सक्छ यहाँ पनि हुनसक्छ”, उनले भने ।
बेलायतको ब्यस्त जीवनशैलीमा आफैँ पूर्णकालिन काम गर्दै, बक्सिङको रिङमा प्रतिस्पर्धीलाई ढाल्दै उपाधि जित्न सफल रानालाई हाम्रो पनि शुभकामना ।

aadip

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री