आदिवासी जनजातिको विरोध गर्न क्षेत्री समाज खोलेका होइनौँ : डा.चन्द्रबहादुर क्षेत्री, अध्यक्ष क्षेत्री समाज नेपाल

chandra chhetri

त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त इतिहासका प्राध्यापक डा. चन्द्रबहादुर क्षेत्री अहिले क्षेत्री समाज नेपालका अध्यक्ष छन् । तनहुँको बेलचौतारा हालको सेतीगंगा नगरपालिकाका स्थायी बासिन्दा क्षेत्री स्थानीयस्तरमा शैक्षिक र सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । उनै क्षेत्रीसित बेलायत आएको सन्दर्भ पारी छोटो कुराकानी गरेका थियौँ । प्रस्तुत छ कुराकानीको सारसंक्षेप ः

अहिले बेलायत के सन्दर्भमा आउनुभएको हो ?
बेलायत घुम्नका लागि आएको हुँ । घुम्ने सन्दर्भमा क्षेत्री समाज युकेको कार्यक्रम पनि भ्याएँ । युके भनेको संसारलाई शासन गर्ने एक समयको राजधानी पनि हो । त्यसकारण मलाई युके हेर्ने रहर पनि थियो । त्यही रहर पूरा गर्न आएको हुँ ।

यहाँ क्षेत्री समाज नेपालको अध्यक्ष हुनुहुन्छ । क्षेत्री समाज गठन गर्नुपर्ने आवश्यकता किन पर्यो ?
नेपाल बहुजाति, बहुभाषी र बहुधार्मिक देश हो । २०६३ सालको अन्तरिम संविधानले नेपाललाई संघीयतामा लैजाने र हिन्दु, बौद्ध धर्मको बाहुल्यता रहेको देशलाई धर्मनिरपेक्षतामा लाने काम भयो । भाषा, धर्म, सँस्कृति, भेषभूषा भनेको पहिचान हो यसको संरक्षणका लागि संसारमै मानिसहरु लागि परेका छन् र धेरै ठूला लडाइँ पनि गरेका छन् । एकदम धेरै मानिसहरु हिन्दु र त्यससँग नजिकले गाँसिएको बौद्ध धर्मलाई अवमूल्यन गरेर धर्म निरपेक्ष घोषणा गरियो । नेपालमा सबै धर्मावलम्बीहरु सहकार्य गर्दैआएकोमा यस घोषणाले बिचल्ली पार्यो । नेपालीहरुबीच जातिय सद्भाव बिखण्डन गर्न जातिय कुरा उछाल्ने काम भयो । यो नेपाली जनताका लागि राम्रो होइन । जातिय द्वन्द्व रोक्नका लागि पनि क्षेत्री समाव गठन भएको हो । आरक्षण जातिय आधारमा होइन वर्गीय आधारमा हुनुपर्छ भन्ने हाम्रो माग हो । यसो नगर्दा राज्यमा हालीमुहाली गर्नेले मात्र सुविधा पाउँछन् । यिनै कुराहरुले गर्दा क्षेत्री समाज गठन भएको हो । हामी जातिय सद्भाव सुदृढ होस्, आपसी सौहाद्र्धतामा कमी नआओस चाहन्छौँ ।

२०६२/६३को आन्दोलनपछि निजामति, सेना, प्रहरी, प्राविधिक क्षेत्र सबैमा आदिवासी जनजाति, महिला मधेसीलाई कोटा छुट्याउने थालेपछि यिनीहरुले देश खाने भए भनेर क्षेत्री समाज गठन गरेको आरोप पनि लाग्ने गरेको छ नि ?
आदिवासी भनेको पुरानो बासी हो । क्षेत्री बाहुन, दशनामी दलित पनि पुरानो बासी हो नि । जनजाति भनेको कस्तो समुदाय हो त्यसको परिभाषा प्रष्ट हुनुपर्छ । जनजाति भनेको पिछडिएको समुदाय हो जसलाई आरक्षणको जरुरी छ । हाम्रो राष्ट्र, सँस्कार, सँस्कृतिको संरक्षणको हामी सबै एक भयौँ भने मात्र हुन्छ । कसले देश खायो, खाएन भन्ने मूल कुरा होइन । हाम्रो अभियान पनि होइन ।

त्यसो भए आदिवासी जनजातिको विरोध गर्न क्षेत्री समाज खोलिएको होइन ?
होइन । हामी त सौहाद्र्धपूर्ण वातावरण बनाउन र जातिय सद्भाव बनाउन चाहन्छौँ । राष्ट्रिय अखण्डता, धार्मिक सहिष्णुताका लागि यसले राम्रो फल दिन्छ भन्ने हामीलाई लाग्छ ।

एकथरी क्षेत्रीहरुले आदिवासी जनजातिमा सूचीकृत हुन पाउँ भनेर निवेदन पनि हालेका थिए नि ?
हो हामी आदिवासी हौँ । सूचीकृत हुन पाउँ भन्ने हाम्रो माग हो । जनजाति को हुने भन्ने प्रसंग मैले माथि पनि उल्लेख गरेँ । सुदूर र पश्चिममा जनजातिमा पर्नसक्ने क्षेत्रीहरु छन् । उनीहरु धेरै क्षेत्रमा पछाडि परेका छन् । तर सबै क्षेत्रीहरु, ब्राम्हणहरु, दशनामीहरु जनजातिमा पर्नुपर्छ भन्ने माग पूर्वतिरका केही क्षेत्रीहरुले राखे त्यो गलत छ ।

एकथरि खसहरुले हामी क्षेत्री होइनौँ भनेर भन्दै हुनुहुन्छ । खासमा कुरा के हो ?
हाम्रो पनि पूर्व घर खस नै हो । हामी पनि खसबाटै विकसित भएर आएका हौँ । हामी खस समुदायबाट आएका हौँ ।

कतिपयले क्षेत्री लेख्न छोडेर थर नै खस लेख्न थालिसके नि ?
त्यो कुरा मैले पनि सुनेको छु तर जसले त्यसो गर्न सिकाउनु भयो युवराजसिंह कार्की, उहाँले कार्की लेख्न छाड्नु भएको छैन । उहाँहरुले नभने पनि उहाँहरु खस नै हो । तर हामी खस हौँ, कार्की, बस्नेत, क्षेत्री होइनौँ भन्नुहुन्छ भने उहाँहरुले कुरा बुझ्नुभएको छैन । सबै क्षेत्रीहरु खस हुन् ।

अहिले क्षेत्री समाजले के गर्दैछ बताइ दिनुस् न ।
हामी लविंगमा छौँ । आन्दोलनमा छौँ पनि आन्दोलनमा पनि छैनौँ । हामी यो मुलुकको अखण्डता चाहन्छौँ । हाम्रा पुर्खाको धेरै ठूलो मिहिनेतले यो मुलुक स्थापना भएको हो त्यसलाई सुरक्षा गर्नुपर्छ । अहिले मुलुकलाई विखण्डन गर्ने ठूलो षड्यन्त्र भइरहेको छ । जस्तो तराई आन्दोलनको मुख्य उद्देश्य नै राष्ट्र बिखण्डन गर्ने हो । हाम्रो अभियान लविंगबाट राष्ट्र जोगाउनु पर्छ । संघीयताबाट देशलाई मुक्त गर्नपर्छ । अहिले क्रिश्चियन समुदायले धर्म परिवर्तन गराउन अरबौँ,खरबौँ रुपियाँ लगानी गरिरहेको छ । यदि धर्मको महत्व थिएन भने किन यति ठूलो लगानी भइरहेको छ ? त्यसैले हाम्रो सँस्कार,सँस्कृति,परम्परा,भेषभूषा जोगाउन धार्मिक सहिष्णुता र सद्भावबाट अगाडि लाग्नुपर्छ । अहिले जाति, धर्मको खेलमा राजनीतिक पार्टीहरु लागिरहेका छन् । ती पार्टीका नेताहरु ब्राम्हण, क्षेत्रीहरु नै छन् । उनीहरु सत्तामा पुग्न र सत्ता टिकाउन जाति र धर्मको खेल खेलिरहेका छन् । यो उनीहरुको चालबाजी मात्र हो । त्यसैले नेपाली समुदायलाई यो कुरा बुझाउन जरुरी छ । हामी यिनै कुरा बुझाउने लबिंग हामी गरिरहेका छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री