बिहीबार, मंसिर ७ २०७४ | Thu, November 23, 2017
नेपालको समय: १३:१० | UK Time: 07:25

नेपाली डायस्पोराको लेखन बाल्यावस्थामा छ – रक्ष राई, लेखक, डायस्पोरा सिद्धान्त- रचना र समालोचना

विनेपाली
२०७३ असार २५ गते १३:०७

Raksha rai

रक्ष राई पूर्व गोरखा सैनिक हुन् । तर त्यतिले मात्र उनलाई चिन्न खोजियो भने त्यो सरासर अन्याय हुन्छ । खँदिला साहित्य लेखन गर्ने राईले केही महिनाअघि अर्का बहालवाला गोरखा सैनिक मिजास तेम्बेसित मिलेर डायस्पोरा सिद्धान्तः रचना र समालोचना नामक कृति बजारमा ल्याएका छन् । शायद नेपाली डायस्पोराका बारेमा यति भरिलो कृति आएको यो नै पहिलो होला । तर यसबारे चर्चा, परिचर्चा भने धेरै कम छ । हाल वेल्स, बेलायतमा बस्नु हुने राईसित सोही पुस्तकको सेरोफेरोमा रहेर गरिएको कुराकानी :

डायस्पोरा भन्ने शब्द नेपालमा कसरी भयो ?
नेपाली समाजमा यो निकै पछाडि आयो । उत्तरआधुनिक सिद्धान्तको लेखनसँगै यो नेपाली साहित्यमा आएको हो । सर्वप्रथम बेलायतकै विद्धान प्रोफेसर माइकल हटले यो शब्द चलाउनुभएको भनेर डा. गोविन्दराज भट्टराईले भन्नुभएको छ । विश्व डायस्पोराको इतिहास धेरै लामो छ । नेपालमा भने प्रोफेसर हटले नै शुरु गर्नुभएको हो । त्यसलाई चर्चा परिचर्चामा ल्याउने काम डा. भट्टराईले गर्नुभएको हो ।

अहिले नेपाली डायस्पोरा लेखनको अवस्था कस्तो छ ?
नेपाली डायस्पोराको लेखन संख्यात्मक हिसाबले उर्बर, सक्रिय देखिन्छ तर यो प्रारम्भिक चरणकै अवस्थामा छ । यसको गुणात्मक विकास, मौलिकताका लागि पनि हामीले डायस्पोराको चर्चा, परिचर्चा र एउटा सिद्धान्त बनाउने कोसिस गरेका हौँ । यो सिद्धान्त कति काल्पनिक छ, कति व्यावहारिक छ भन्ने कुरा त यसको प्रयोगले नै भविष्यमा बताउला । तैपनि हामीले जेजति अध्ययन गरेका छौँ त्यसले केही हदसम्म डायस्पोरा लेखनको गुणात्मक विकासका लागि काम गर्छ भन्ने विश्वास छ ।

पुस्तकमा नेपाली डायस्पोराको प्रवृत्तिको चर्चा गर्नुभएको छ । तर अहिले सर्सती हेर्दा नेपाली डायस्पोराको लेखन अतीतमोहमा अल्झिएको पाइन्छ । के वास्तविकता त्यस्तै हो ?
यो एउटा प्रारम्भिक चरणमा भएर पनि त्यसो भएको हो । एउटा मान्छे बन्ने प्रक्रियामा एउटा बालक शुरुमा आफ्नै पीडामा रुन्छ अनि वयस्क भएपछि संसारको दुःख बुझ्छ । डायस्पोरा किन प्रारम्भिक चरणमा छ भनेको भने यसले अहिले आफ्नो भाषा मात्र बोल्न जानेको छ । यसले सम्पूर्ण डायस्पोरालाई आफ्नो विषय बनाएर हेर्न सकेको छैन । यो अहिले बालापनकै अवस्थामा देखिएको छ । यसलाई बयस्क बनाउन, सामाजिक, ऐतिहासिक, मनोवैज्ञानिक, समाजविज्ञानको पक्षलाई हेर्न हामीले जान्नुपर्छ र यसले मात्र परिपक्वता ल्याउँछ । नोस्टाल्झियामा मात्र होइन यो भन्दा धेरै विषयहरु डायस्पोरामा छन् ।

नेपाली डायस्पोराको निर्माण किरातकालमा शुरु भएको भन्नुभएको छ । यसलाई पुष्टि गर्ने आधार के पाउनुभयो ?
युद्धको शुरुवात हुनुभन्दा अगाडि मानिसहरु धर्मप्रचार, कला विस्तार, व्यापारका कारणले एक ठाउँबाट अर्को ठाउँमा जाने गरेको देखियो । किरात नेपालको सबैभन्दा पुरानो इतिहास भएको समय हो । सो कालखण्डमा मगध र पाटलीपुत्रसम्म पनि व्यापार विस्तार भएको देखिन्छ । सामूहिक रुपमा बाहिर हिँड्ने प्रचलन नभए पनि व्यक्तिगत रुचि र बाध्यतामा बाहिर हिँडिन्थ्यो । त्यसैलाई हामीले नेपाली डायस्पोराको प्रथम चरण भनेर राखेका छौँ ।

पुस्तकमा यहाँहरुले नेपाली डायस्पोराको विभिन्न चरणहरु विभाजन गर्नुभएको छ । त्यसरी हेर्दा युकेको नेपाली डायस्पोरा कुन चरणमा छ ?
युकेको डायस्पोरा तेस्रो चरणमा पर्छ । सन् १९४७ को त्रिपक्षीय सन्धिको नियम कानुनका आधारमा गोरखाहरु युके आएका हुनाले यो तेस्रो चरणमा पर्छ ।

Raksha book

पुस्तकको नाम नै डायस्पोरा सिद्धान्त दिनुभएको छ अनि पुस्तकको अन्तिममा चाहिँ डायस्पोरा सिद्धान्तका रुपमा आउन सक्यो भने… पनि भन्नुभएको छ । यसले डायस्पोरा सिद्धान्त भइसकेको हो कि होइन भन्ने भ्रम बनाएन र ?
डायस्पोराको प्रारम्भिक दस्तावेजका रुपमा मात्र हामीले यस पुस्तकलाई मानेका छौँ । यसका आउनुपर्ने भावहरु चौथो भागसम्म आउनुपर्ने देखिन्छ । कतिसम्म गर्न सकिन्छ, हेरौँ । आगामी अंकका बारेमा हामीले पुस्तकमा भनेका छौँ । आगामी अंकले मात्र अलि विस्तृत बुझाउन सक्छ । त्यसैले हामीले त्यो अंश राखेका हौँ । फेरि हामीले दिएको अवधारणा नै अन्तिम सत्य नहुन सक्छ योभन्दा व्यापक अन्य अनुसन्धाताहरुले ल्याउन सक्नुहुन्छ । यसको सम्भावना र क्षेत्र ठूलो छ । हामीले सोचेअनुसार पनि दोस्रो र तेस्रो भोल्युम आएपछि बल्ल ९० प्रतिशत विचार आउँछन् ।

नेपालीहरु कोही विदेशतिर लामो समयका लागि बसेका र केही छोटो समयका लागि भ्रमणमा गएको बखतमा लेखेका छन् । यी दुवैको लेखाइ डायस्पोरिक लेखाइभित्र पर्छन् कि पर्दैनन् ?
यसका बारेमा निकै विवाद छ । यो अलि अघिदेखि नै विवादास्पद कुरा हो । यसलाई प्रष्ट बनाउन पनि हामीले प्रयास गरेका छौँ । डायस्पोरा लेखन र लेखक कसलाई भन्ने विवाद गर्दै आइएको छ । यो विवाद चेतनाका हिसाबले सही पनि छ तर बुझेर हेर्दा अनावश्यक पनि छ । डायस्पोरिक लेखन के कारणले हुन्छ भन्दा भौगोलिकता, ऐतिहासिकता आदिले लेखन डायस्पोरिक हुन्छ । लेखनसँग भूगोल, प्रकृति, जनजीवन, समाज जोडिएर आउँछ । इतिहास आउँछ, साँस्कृतिक मिश्रणका कुरा, सभ्यता, नोस्टाल्झिया आउँछ । ती सबै आएपछि डायस्पोरामै लेखोस् कि मूल थलोमै बसेर लेखोस् । लेखनका यी प्रकृतिले नै स्पष्ट बनाउँछ कि यो डायस्पोरिक लेखन हो । यस्तो लेखन मूलधारभन्दा फरक भएर आउँछ । मौलिक सन्दर्भ र फरक रुप लिएर आउँछ । लेखक डायस्पोरामै बसेको हुनुपर्छ, लेखक विदेशी नागरिक हुनुपर्छ भन्ने प्रश्नहरुलाई हामीले सम्बोधन गरेका छौँ ।

डायस्पोरालाई विषयान्तर गर्ने,अप्रभंश गराउन र कुतर्कको बलले भ्रम फैलाउने गर्दा रहेछन् लेख्नुभएको छ । किन यस्तो लेख्नुभएको हो ?
थुप्रै कुराहरु रैछन् । पहिलो त डायस्पोरालाई गहिरोरुपमा बुझेर त्यसलाई व्याख्या गर्ने समूह छ नेपालमा । अर्को समूह छ त्यसमाथि कुतर्क गर्ने । यहुदीकै पालाको समयको डायस्पोराको अर्थ लगाएर अहिलेको परिस्थितिलाई जाँच्ने समूह रहेछ नेपालमा । हामीले डायस्पोराको ऐतिहासिक पक्षलाई अध्ययन गरेर स्वयं भोक्ताको तर्फबाट बुझ्ने कोसिस गरेका हौँ । यो भोक्ताको तर्फबाट आएको सिद्धान्त हो । यसलाई अघि बढ्न नदिने समूह रहेछ तर उनीहरु अहिले परास्त भइसकेका छन् ।

कृति गहन छ । एनआरएन अभियानहरुका कारणले पनि डायस्पोराका धेरै कुराहरु घनीभूत भइरहेका छन् । तर कृतिले पाउनुपर्ने चर्चा किन नपाएको होला ?
पहिलो कुरा मानिसहरुको ध्यान नयाँ कुराप्रति कम्ती जाँदो रहेछ । मानिस अहिले अति नै ब्यस्त मेसिनजस्तो भइसक्यो । त्यसैले नयाँ कुराप्रति मानिसको रुचि कम हुने र त्यसलाई दिने समय कम भइसक्यो ।
अर्को किसिमका मानिसहरु नयाँ कुराले आत्तिँदा रहेछन् । पुरानो चिन्तन विस्थापित हुने ठूलो भय हुँदोरहेछ उनीहरुमा । युद्धमा मौनता ठूलो अस्त्र भन्छन् । सृर्जनामा मौनता ठूलो अस्त्र हुँदोरहेछ । त्यसो त चर्चा कम हुनुमा हाम्रो पनि कमजोरी छन् । यसलाई व्यापक छलफल गराउन ब्यस्तताका कारण मिडियामा पनि जान सकिरहेका छैनौँ । तर भविष्यमा देश विदेशमा यस कृतिका बारेमा छलफल कार्यक्रमहरु अगाडि बढाउने सोचाइ छ ।

डायस्पोरा सिद्धान्तका अरु भोल्युमहरु पनि आउँदै छन् ?
अहिले हामीले डायस्पोरा सिद्धान्तलाई पुरानो सिद्धान्तसित नजिक भएर भोक्ताका तर्फबाट रुपान्तरण गर्ने काम गर्यौँ । यसमा काम गर्दै जाँदा हामी डायस्पोराको पुरानो शास्त्रीय व्याख्याले मात्र अबको डायस्पोरालाई पूर्ण रुपमा परिभाषित गर्न नसकिँदो रहेछ । अब आएर उत्तरआधुनिक डायस्पोरा पनि भन्नुपर्ने रहेछ भन्ने विन्दूमा पुगेका छौँ । पुरानो डायस्पोराको विकासयता संसारमा धेरै चीजहरु परिवर्तन भइसके । ती परिवर्तनलाई सम्बोधन गर्न उत्तरआधुनिक डायस्पोरालाई व्याख्या गर्नुपर्ने आवश्यकता भइसक्यो । हाम्रो योजना यी बदलावलाई समेत समेट्ने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक