प्रवासी नेपालीले किन सामाजिक संजालमा पीडा सुनाउने ?

IMG_7766

कर्ण शाक्य मेरो मन पर्ने लेखक हुन् । उनको पुस्तक ‘सोच’ मैले दुई पटक पढेको छु । समाजमा लेखनको माध्यमबाट केही प्रभाव पार्न सक्ने लेखकमध्ये उनी पनि एक हुन् । कर्ण शाक्यले ‘एनईए टक’ कार्यक्रममा बोलेको र  ‘विदेशमा बस्ने नेपालीहरुलाई कर्ण शाक्यको अनुरोध’ भन्दै आजकल उनको  एउटा भनाई सामाजिक संजालमा खुब चर्चित छ । जसमा उल्लेख गरिएको छ, ”हाफ पाइन्ट लगाएर ढल्किदै हिंडेको, चिल्लो कारको अगाडि-पछाडि बसेको, चिल्ला सडक र गगनचुम्बी घरहरुलाई दायाँबायाँ पारेर खिचेका फोटोहरुले मात्र सामाजिक संजाल नभर्नुहोस, विदेशमा बस्दा गरिने संघर्ष र परिश्रमका कहानीहरु पनि राखिदिनोस, हरेक महिना बैंकको किस्ताले दिने पीडा पनि सुनाउनुहोस, अस्पतालको खटाई, सुपरमार्केटको खटाई पनि सुनाउनुहोस, के काम गर्दै हुनुहुन्छ त्यो पनि बताईदिनुहोस, कामको सिलसिलामा हुने मानसिक तनाव र पीडाहरु पनि भनिदिनुहोस, विदेशमा बस्दा घरपरिवार, समाज, रीतिरिवाज, चाडपर्व आदि सामाजिक कुराहरुको कारणले हुने पीडा पनि सुनाउनुहोस, कति समय खट्नु हुन्छ भनिदिनुहोस | सामाजिक संजालमा देखिने तपाईहरुको मोजमस्तीको जीवनशैलीको लोभको कारणले नेपालका बस्तीहरु छिन्नभिन्न र उजाड भइसक्यो|”

उनको विचार खास गरी  ‘सामाजिक संजालमा देखिने तपाईहरुको मोजमस्तीको जीवनशैलीको लोभको कारणले नेपालका बस्तीहरु छिन्नभिन्न र उजाड भइसक्यो’ भन्ने कुरासंग म सहमत छैन । साथसाथै, उनको यो कुराले मेरो मन चसक्क छोयो । किनकि म पनि विगत करिब एघार वर्षदेखि विदेशमा स-परिवार बस्दैछु । हरेक कुराका सकारात्मक र नकारात्मक दुवै  पक्षहरु  हुन्छन । तसर्थ मैले पनि  यो विदेशी भूमिमा सबै राम्रा कुराहरु  मात्रै हैन, धेरै नकारात्मक कुराहरु पनि देखेको छु । विदेशमा बस्ने नेपालीहरुको सुख, दु:ख, घुमफिर, मनोरन्जन, तनाव, पीडा, आदि सबै देखेको छु । साथै, भोगेको पनि छु ।

मानिसको स्वभाव नै हो, राम्रो कुरा देखाउने, अनि आफ्नो पीडा वा दु:ख लुकाउने र आफ्नो दु:ख अरु कसैलाई भन्न वा सुनाउन नपरे झैँ गर्ने । त्यसैले पनि चाहे नेपालमा बस्ने हुन् वा विदेशमा बस्ने हुन्, कसैले पनि आफ्नो जीवनको व्यक्तिगत दु:ख र पीडाका कुराहरु सहजै रुपमा किन सामाजिक संजालमा राख्ने?  कसै-कसैले आफ्नो दु:ख वा  पीडा  सामाजिक संजालमा पोख्न पनि सक्छन, त्यो नितान्त व्यक्तिगत कुरा हो । तर, त्यस्तो सम्भावना निकै कम हुन्छ ।

थप कुरा के भने जहाँ बसे पनि, जे गरे पनि मेहेनत, लगनशीलता, संघर्ष र परिश्रम त सफल जीवनका लागि अति आवस्यक सुत्र हुन् ।  यदि कसैसंग आफू परिश्रम र संघर्षले सफलता हासिल गरेको अनुभव छ भने, त्यस्तो कुरा विदेशमा बस्नेले मात्रै हैन, नेपालमा बस्नेले पनि सबैसंग बाँड्नु प्रेरणादायी नै हुन्छ ।

कतिपय नेपालीहरु विशेष गरी खाडी मुलुकमा परिश्रम गर्न जानेहरु पहिले नै उनीहरुको घर परिवार धान्न नसक्ने भएकोले, घरपरिवारको चापले वा आर्थिक कारणले घर उजाड हुने भएकोले नै त्यस्तो चर्को गर्मी सहेर पनि परिश्रम गर्न गएका हुन्, न कि घर-परिवार वा गाउँ- घर  उजाड बनाउनका लागि ।

जो नेपालीहरु विकशित मुलुकमा बसेका छन्, तिनीहरु खास गरी निकै कम संख्यामा छन्  र विभिन्न उद्धेस्यको लागि बसोबास गरेका छन् । थप कुरा, विकसित मुलुकमा आउन धेरै नेपालीलाई त्यति  सजिलो पनि छैन ।  त्यसैले पनि उनीहरुको कारणले ‘नेपाली बस्तीहरु छिन्नभिन्न र उजाड भइसक्यो’ भन्ने कुरा मलाई उचित हो जस्तो मलाई लाग्दैन । जो जहाँ बसेपनि वा जे गरेपनि विदेशमा बस्नेहरुले पठाएको रकमले नै उनीहरुको घरपरिवार र सिंगो मुलुकको अर्थतन्त्र धानेको छ ।

खाडीमा बस्ने नेपालीहरुको पीडा, भोगाइ, अनुभव, दु:ख र सुख सबै  संचार माध्यमहरुमा  छरपस्ट नै छन् । कतिपय सरकारी वा गैर-सरकारी संघ-संस्थाहरुले विदेशमा विशेस गरी खाडी मुलुकहरुमा  जान वा उतै बस्नेहरुलाई लक्षित गरेर जनहितकारी विज्ञापन पनि संचार माध्यमहरुमा प्रकाशित गरेका पनि छन् ।  तथापि, न त विदेश जानेहरुको संख्यामा कमी आएको छ, न त त्यसको कारणले नेपालमा नै केही गर्छु भन्नेहरुलाई रोकेको नै छ ।

म कर्ण शाक्यको के कुरासंग सहमत छु भने विदेशमा बस्नेहरुले धेरै दु:ख गर्छन । नेपालमा बस्ने आफ्ना परिवार र साथीभाइहरुलाई धेरै नै सम्झन्छन । नेपालमा मनाइने चाडपर्ब र सामाजिक रितिरिवाज र संस्कृतिलाई धेरै नै ‘मिस’ गर्छन । तर, त्यसको अर्को पाटो के पनि छ भने आजकल विदेशमा पनि पनि उत्तिकै रमाइलो गरी चाडपर्ब मनाइन्छ । हरेक महिना कुनै न कुनै नेपाली कलाकारले बिदेशमा कार्यक्रम गर्छन । आजकल त प्रविधिको कारणले सबैजसोले हरेक दिन सामाजिक संजाल वा अरु कुनै माध्यम मार्फत आफ्नो परिवार वा साथीभाईसंग प्रत्यक्ष कुराकानी गर्छन । त्यसैले पनि, आजकल त्यति धेरै पीडा भोग्नु पर्ने अवस्था छैन ।

विदेशमा सबै किसिमका नेपालीहरु विश्वका हरेक कुनामा छन् । नेपालीहरु भारतदेखि खाडी हुँदै जापान, अफ्रिका, युरोप, अस्ट्रेलिया, अमेरिका, क्यानाडादेखि विश्वका धेरै विकशित र विकाशोन्मुख मुलुकहरुमा बसोबास गरेका छन् । एकदम थोरै मात्रामा उच्च प्राविधिक, प्रशासकीय, प्राज्ञिक, मेडिकल वा अरु त्यस्तै क्षेत्रमा काम गरे पनि  विदेशमा बस्ने अधिकांश नेपालीहरु अदक्ष वा अर्ध-दक्ष  कामदारको रुपमा काम गर्छन । जे जस्तो काम गरेपनि नेपालीहरुले विदेशमा इमान्दार, परिश्रमी र मेहेनती भनेर नाम कमाएका छन् ।

कतिपय नेपालीले विदेशमा बसेर धेरै नयाँ र आधुनिक सीप र ज्ञान सिकेका छन् । जुन नेपालमा बसेर सिक्न सक्ने अवस्था वा अवसर थिएन । साथै, नेपालको विकास र प्रगतिको लागि त्यस्ता सीप र ज्ञानहरु निकै लाभदायक छन् । कतिपय त्यस्ता नेपालीहरु विदेशबाट नेपालमा गएर काम गर्न समेत उत्सुक छन् र कतिपय थोरैको संख्यामा नै किन नहोस, नेपाल समेत गएर सीप र ज्ञान हस्तान्तरण गर्न उत्सुक छन् ।

मेरो विचारमा नेपालीहरुले नेपाल छोडेर विदेश जानुमा नेपालको आन्तरिक कारणहरु जस्तै नेपालमा काम नपाउनु, अध्ययनका लागि नेपालमा स्तरिय शैक्षिक संथाहरु नहुनु, नेपालको अस्थिर राजनीतिक र आर्थिक कारणहरु मुख्य छन् । जुन बेलासम्म नेपालका यी आन्तरिक समस्याहरु  समाधान हुदैनन्, त्यो बेलासम्म कसैले चाहे पनि  नेपालीहरुलाई कामको लागि विदेश जान र नेपालका बस्तीहरु छिन्नभिन्न र उजाड हुनबाट कसैले रोक्न सक्दैन ।

जहाँसम्म सामाजिक संजालमा विदेशमा बस्नेहरुले  तडकभडकसहितको तस्बिर राख्ने कुरा छ, त्यो विदेशमा बस्नेले मात्रै हैन, नेपालमा बस्नेले समेत राख्छन । विदेशमा बस्नेले त आफ्नो सामान्य कमाइले पनि राम्रो गाडी चड्नु, राम्रो ठाउँ घुमघाम गर्नु वा मनोरन्जन गर्नु सामान्य नै हो । तर, नेपालमा बस्ने कतिपयले नेपालमा नै बसेर पनि आयातीत गाडीमा स-परिवार घुमघाम गरेको, साथीभाइहरुसंग मोजमस्ती गरेको, नेपालमा बसेर विदेशमा गई छुट्टि मनाएको तस्बिर आजकल सामाजिक संजालमा छरपस्ट देख्न सकिन्छ । मलाई लाग्छ, कतिपयले सामाजिक संजालमा राख्ने त्यस्तो तस्बिर नै नेपालका सरकारी र संबैधानिक निकायहरुलाई त्यस्ता मानिसहरुको  जीवनशैलीमा प्रश्न गर्न  र उनीहरुको आम्दानीको श्रोत खोज्न काफी हुन्छ ।

मैले देखेसम्म र अनुभव गरेसम्म जुनसुकै मुलुक जति विकशित भए पनि त्यो मुलुकका केही मानिसहरु अर्को  मुलुकमा काम, पढाइ, वा अन्य व्यक्तिगत कारणले अर्को मुलुक जाने कुरा सामान्य हो । जस्तै म काम गर्ने लण्डनको अस्पातालमा युरोप, अस्ट्रेलिया, अमेरिका,  क्यानाडा र अरु विकशित मुलुकहरुबाट समेत बेलायतमा बसी यही  काम गर्ने  कर्मचारीहरु पनि छन् । सत्य कुरा क हो भने कुनै पनि मुलुक जति विकशित हुन्छ, त्यो मुलुकबाट अरु मुलुकमा कामको लागि जानेहरुको संख्या उति नै कमी हुन्छ । देशलाई विकशित बनाउनु र रोजगारीका प्रशस्त अवसर दिनु नै युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने एउटा उपाय हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री