नेपालद्वारा नेदरल्यान्ड्स पराजित

13907126_10153865457152081_1116742222364022603_n

काठमाडौँ, ३१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ ।

नेदरल्यान्ड्सको आमस्ट्रडममा भएको सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार गरेको थियो ।

नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल ४ रन जोड्दै बाहिरिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषावकर पनि ६ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए ।

तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिए । त्यतिबेला नेपालले जम्मा ६५ रन जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले ।

खेलको १४ दशमलव ४ ओभरमा सरद भेषावकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाए । ९४ बल खेलेका उनले सात चौका र एक छक्काकोे मदतमा ८४ रन जोडेका हुन । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । ७८ बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे ।

त्यसैगरी विनोद भण्डारीले १७, बसन्त रेग्मीले ४ तथा सोमापाल कामीले २ रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।

घरेलु टोलीका लागि भान मिकेरनले ३ विकेट लिए भने किङ्मा र रिपोनले समान दुई ÷दुई विकेट लिए । दुई सय १८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले ४८.३ ओभरमा अलआउट हुँदै १९८ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सलाई १९८ रनमै समेट्ने क्रममा नेपालका कप्तान पारस खड्का, शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीले समान दुई÷दुई तथा सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । ८४ रन तथा दुई विकेट लिएका नेपालका कप्तान पारस म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै नेपालले महत्वपूर्ण दुई अङ्कसमेत जोडेको छ । योसँगै नेपालको अब अङ्कतालिकामा छ अङ्क भएको छ । प्रतियोगितामा नेपाल र नेदरल्यान्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन् ।

नेपाल यसअघि स्कटल्यान्ड्स र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

नेपालले अब हङकङ, केन्या र युएईसँग खेल्न बाँकी छ । जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । जो विश्वकप खेल्ने अन्तिम खुट्किलो हो । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री