द्वन्द्वले यूके आइपुगेका समाजसेवी

14001797_10154403755701197_714672098_o
लन्डन । वि.स. ०५० दशकको मध्यतिर सरकार माओवादी द्वन्द्व उत्कर्षमा थियो । दशौं हजारको ज्यान लिएको उक्त द्वन्द्वले हजारौं टुहुरा भए, लाखौं विस्थापित भए । त्यही द्वन्द्वको मारमा चेपिएर यूके आइपुगेका धादिङ धुंवाकोट १ का गाविस अध्यक्ष धनबहादुर तामाङलाई विगत फर्केर निको भएको घाउमा फेरि नुन चुक हाल्नु छैन् । तर, वाचचितका क्रममा उनी अलिक स्तव्ध बने । ‘म सामाजिक विवादमा परेको पनि थिइन, भ्रष्टाचार गरेको पनि होइन तर द्वन्द्वरत एक पक्षले मार्नेसम्मको धम्की दिएर देशै छाड्न वाध्य बनाए’, उनले कुराकानीका क्रममा सुनाए ।

११ वर्ष नेपाल वायु सेवा निगममा काम गरेपछि जन प्रतिनिधि भइ समाजसेवामा काम गर्ने इच्छा जाग्यो उनलाई, निगमको जागिर राजिनामा दिएर गाउं गए । ‘म त देश र समाजको लागि मरिहत्ते गर्ने मान्छे थिएं, बदलामा मलाई टार्गेट गरेर लुकी लुकी हिंड्नु परयो’, उनी विगत स्मरण गर्दै थिए, ‘तर, पछि उनीहरुले पश्चाताप महशुस गरे जुन बेला समय परिवर्तन भइसकेको थियो ।’

गाउंमा केही वर्ष अध्यापनतिर पनि लागे उनी । यतिबेला सम्म उनको छवि समाजसेवीका रुपमा बनिसकेको थियो । विद्यार्थी छंदा आफूसंग भएको पैसा गरिव विद्यार्थीलाई किताब किन्न बांडिदिन्थे उनी । गाविस महासंघको केन्द्रिय कोषाध्यक्ष र विद्यार्थी उपकार संघ धुंवाकोटको संस्थापक कोषाध्यक्ष भएर उनलाई गाउं विकासमा लाग्न पर्याप्त माध्यम बनेको थियो । जमानामा विद्यार्थी उपकार संघले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत मात्र गरेन, विद्यार्थीबीच एकता र शिक्षित पनि तुल्यायो । त्यसले सामुदायिक भवन पनि बनाएको छ । उपकार संघको सहयोगमा प्रगति चुमेका अहिले विश्वभर छन् । संघले ६ लाख रुपैयांको मानबहादुर मेमोरियल ट्रष्ट समेत बनाएको छ । उनी गाविस अध्यक्ष छंदा १८ किलोमिटर मोटर बाटो खनेर गाउंलेको स्यावासी बटुले उनले ।

द्वन्द्वकै कारण लखेटिएर १६ वर्ष अघि बेलायत आइपुगे धनबहादुर । हाल एक छोरा, दुई छोरी र श्रीमतिका साथ सडबरी टाउन उनको बसाइ छ । यूके आएर उनको ज्यान त जोगियो तर समाज र देशलाई केही गर्ने ध्येय पुरा हुन नपाउंदा उनलाई अझै खल्लो महशुस भइरहेको थियो । त्यही तिर्सना मेटाउन उनी यहां आएर पनि 
समाजसेवामा समर्पित भइरहे । तर, उनको सक्रियता धेरैलाई थाहै थिएन किनकि काम गरेपनि सधैं पर्दा पछाडि रहने उनको बानी छ ।

तामाङ समाज यूकेका सल्लाहकार, कोडेक यूकेका उपाध्यक्ष, धादिङ नुवाकोट समाज यूकेका सचिव धन बहादुरले आफ्नो गाउं आसपासका लागि धेरै गरेका छन् । भूकम्पपछि उनी अझ सक्रिए भए । भूकम्पले क्षतविक्षत धादिङ धुंवाकोट ७ स्थित सरस्वती उच्च माविका लागि उनको पहलमा कोडेक यूकेमार्फत दश लाख रुपैयां गाउं पठाइएको छ । धादिङ नुवाकोट समाज यूकेमार्फत नुवाकोटमा एक र धादिङका ४ वटा विद्यालयको पुनर्निर्माणका लागि उनी अहिले खटिरहेका छन् ।

अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोश्रोपटक देशको प्रधानमन्त्री भएका छन् । कस्तो लाग्दो हो उनलाई ? भने, ‘मलाई लाग्दैन उनको पुनः सत्तारोहणले देशमा नाटकीय परिवर्तन होला भनेर ।’ स्थानीय निर्वाचन हुन नसक्नु देश विकासमा ठूलो वाधक भएको उनको ठम्याइ छ ।

14001948_10154403756066197_1680867253_o

मोर्गेज एड्भाइजर अनिल लामिछाने (दायां) का साथ धन ।

उनले नै धादिङ नुवाकोट समाज यूकेमार्फत सन् २०१४ मा इन्चोन, दक्षिण कोरियामा आयोजित एजियन गेम्समा करांतेमा ब्रोन्ज मेडल जितेकी नेपाली खेलाडी विमला तामाङको सहयोगार्थ २ लाख ३८ हजार रुपैयां पठाएका थिए । उक्त समाजले क्यान्सरबाट हालै दिवंगत अनमोल खरेलको सम्झनामा गठित अनमोल फाउण्डेसनका लागि पनि आर्थिक सहयोग संकलन गरिरहेको छ जसमा उनकै योगदान उल्लेख्य छ ।

धनकै सक्रियतामा तमु समाज बेलायतले धुंवाकोटस्थित गौरी शंकर निमाविका लागि १७ लाख रुपैयां दिएको छ, जसमा विद्यार्थी उपकार संघ पनि खटिएर काम भइरहेको छ ।

बेलायतमा विभाजनको मार खेपिरहेको तामाङ समाजलाई एक ढिक्का बनाउन पनि जुटिरहेका छन् उनी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री