भारत भ्रमण अत्यन्त सफल – उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीको विशेष प्रतिनिधिको रुपमा भारत भ्रमण सकेर मङ्गलबार स्वदेश फर्कनेक्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीको विशेष प्रतिनिधिको रुपमा भारत भ्रमण सकेर मङ्गलबार स्वदेश फर्कनेक्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ ७ भदौ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण अत्यन्त सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा यही भदौ २ गते भारत भ्रमण गरी आज स्वदेश फर्किनुभएका निधिले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै भ्रमणबाट आफू असाध्यै सन्तुष्ट भएको बताउनुभयो । सो क्रममा राजनीतिदेखि विकाससम्मका कुराकानी भएको जानकारी उहाँले दिनुभयो ।

दुवै देशका उच्च नेतृत्वको भ्रमणको पूर्वतयारीमा आफ्नो भ्रमण केन्द्रित रहेको र सो क्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण तथा भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमण निश्चित गरिएको उहाँले जानकारी दिनुभयो । “भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा लैजाने काम भएको छ, दुई देशको सम्बन्धका बीचमा देखिएको उतराचढावलाई पुनः सुधार गर्न पनि म सफल भएँ” उपप्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले दुई देशबीच सम्बन्ध अत्यन्त सुमधुर भएको आफूले महसुस गरेको बताउँदै नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबाट त्यस कुराको पुष्टि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफूले संविधान कार्यान्वयन र विसं २०७४ माघभित्र तीन निर्वाचन सम्पन्न गर्र्ने नेपाल सरकारको प्राथमिकता रहेको कुरा भारतीय नेतृत्वलाई जानकारी गराएको गृहमन्त्री निधिले बताउनुभयो । उहाँले भन्नुभयो – “भारत सरकारका प्रतिनिधि र दलका नेताहरुले नेपालको नयाँ सरकारको विदेश दूतका रुपमा मलाई उच्च महत्व दिएर सम्मानपूर्र्ण वातावरणमा कुरा गर्नुभयो, यसका लागि म आभार व्यक्त गर्न चाहन्छु ।”

मधेसकेन्द्रित दलहरुसँगको वार्ताका विषयमा भारतमा छलफल भए नभएकोबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो – “आन्दोलनरत दलसँगको छलफल देशको आन्तरिक मामिला हो । सरकार गठन हुँदा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सातबुँदे सम्झौता र मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा लैजान्छौँ ।”

भारत सरकारको सहयोगमा चालु परियोजनाको कार्यान्वयनका विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा उहाँको भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराज, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंह, उपाध्यक्ष राहुल गान्धी लगायतसँग भेट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री