विदेशमा राजनीति गर्नु अध्यारोमा फ्याउरा कराए सरह – अमृत गर्बुजा, निवर्तमान अध्यक्ष, धौलागिरी नौमती बाजा युके

amrit-garbuja
तपाईं आफ्नो परिचय कसरी दिनुहुन्छ ? 
 
मेरो जन्मथलो म्याग्दी जिल्ला, चिमखोला, कान्छी गाउँ हो । कक्षा आठसम्मको अध्ययन जन्मथलोमै भयो । हाई स्कूल पढ्न २०३९ सालमा रुपन्देही जिल्ला, टिकुलिगढ़ गाविस, सुपौली भन्ने गाउँमा झरेर टिकुलीगढ़ माबिबाट एसएलसीसम्मको अध्ययन गरें । त्यसपछि २०४२-२०४६ सालमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट बीएड सम्मको शिक्षा हासिल गरें । २०४६ सालमै आफ्नो जन्मथलोकै अमर माबिमा नियुक्ति भएर ६ महिना अध्यापन गर्ने मौका पनि पाएँ । २०४७ सालमा मास्टर जागिर छोडेर जापानतिर हानिएँ । जापानको ९ वर्षे एकल बसाईपश्चात विवाह गर्ने उद्देश्यले २०५५ सालको अन्त्यतिर नेपाल फर्किएँ । केटी खोज्ने क्रममा हालको मेरी श्रीमती मिना पुन हंगकंगको आईडी होल्डर रैछिन उनीसंग मेरो कर्म जुरयो । त्यसपछि १९९८ जुलाईमा हंगकंग गयौं । संगै जिउने, नोकरी गर्ने क्रममा दुई सन्तान पनि हात पार्यौं । २०१० सम्म हंगकंगलाई कर्मथलो बनायौं । त्यसपछि २०१० को अप्रिलमा बेलायत आएपछि परिवारसहित बेलायतलाई नै कर्मथलो बनाएको छु ।
 
अमृत गर्बुजा कस्तो खालको व्यक्ति हो  ?
 
म एकदमै सरल र साधारण व्यक्ति  हुँ । कुनै व्यक्ति वा समाजमा परेको दु:ख र समस्यामा आफ्नो क्षमतानुसार सहयोगको भावना राख्ने । साधारणतया रोमान्टिक खालको जस्तै गाउने, बजाउने, नाँच्ने, जोक गर्ने, हाँस्ने-हसाउने, स्वालम्वी, दयालु, अरुलाई पीर नपार्ने र अन्याय अत्याचार नसहने खालको व्यक्ति हो जस्तो लाग्छ । 
 
तपाईं धौलागिरी नौमती बाजा युकेको अध्यक्ष पदबाट भर्खर मात्रै निवृत्त हुनु भएको छ । धौलागिरी नौमती बाजा युकेमा स्थापना गर्नुको मुख्य उद्देश्य के हो ? 
 
राम्रो प्रश्न राख्नु भयो । धौलागिरी नौमती बाजा यूके स्थापना गर्नुको मुख्य उद्देश्य भनेको यूके लगायत यूरोपमा नेपालीहरुको चाप बढ्दो छ,नेपालीहरु विदेशमा बसोबास गरेतापनि आफ्नै मौलिक संस्कार,संस्कृति र परम्परामा रमाउन चाहन्छन् । जस्तै विवाह, ब्रतबन्ध, भात खुलाई, विभिन्न भेटघाट कार्यक्रमहरु, नेपाली चाडपर्वहरु लगायत विभिन्न च्यारिटी प्रोग्राममा नौमती बाजाको परिपूर्ति र पहिचान गर्नु हो । नौमती बाजा नेपालको एउटा लोकप्रिय बाजा हो । यो बिस्तारै लोपोन्मुख हुन लागेको अवस्था छ । यसको जगेर्ना गर्ने, लोप हुनबाट जोगाउन कोशिस गर्ने, संरक्षण र सम्बर्द्धन गर्ने मर्म र भावना रहेको छ ।
 
धौलागिरी नौमती बाजा यूकेका चुनौतीहरु के के छन् ? 
 
चुनौतीहरु अवश्य छन्, बुँदागतरुपमा भन्नु पर्दा-
 कुनै कुनै व्यक्तिहरु र समाजहरुले यसलाई पचाउन सकेका छैनन् । नेपालीको बाजा भन्नु पर्नेमा दमाई जातिको बाजा भन्ने संकुचित भावना बोकेकाहरुसंग सामना गर्नु परेको छ । हाम्रो बाजा होइन रे ! सीप र कला छ भने जुन जातिले बजाए पनि फरक पर्दैन । त्यसो त गितार पनि हाम्रो बाजा होईन । गितार बजाउने ठूलो जाति रे । नौमती बाजा बजाउने सानो जाति रे, यो कस्तो दरिद्र सोचाई हो ? यसलाई हामीहरु चिर्दै अगाडि बढ्नु छ ।  
दोश्रो, आफ्नो रोजीरोटीको लागि नोकरी पनि गर्नै पर्यो । यूके र यूरोपको नौमती बाजाको मागलाई पनि मध्यनजर राख्दै सबै चाँजोपाँजो मिलाउनै पर्यो । पासपोर्ट र भिसासम्बन्धी यावत समस्याहरु छन् । यूरोपतिर जाँदा खर्च महँगो पर्न जान्छ  । तेश्रो, चुनौती भनेको यो नौमती बाजालाई भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ कि सकिन्न भन्ने चिन्ता हो । हाम्रो पुस्ताले मात्रै बजाउने वा प्रयोगमा ल्याउने तर भावी पुस्तालाई सुम्पन-सिकाउन सकेनौं भने गैर जिम्मेवारी हुन आउछ जस्तो लाग्छ मलाई । 
 
तपाईंको कार्यकालमा के कस्ता कार्यहरु सम्पन्न गर्नु भयो, मुख्य कार्यहरु बताइदिनु होस् न ?
 
मेरो भन्दा पनि हाम्रो कार्यकालमा निम्नलिखित सामाजिक तथा परोपकारी कार्यहरु भएका छन:-
पहिलाे, पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी बचाऊ अभियान, अनिश खालिङ बचाऊ अभियान, ओमकुमारी (शान्ति) बचाऊ अभियान, क्यान्सर पीडित गौमाया खोर्जा, पर्वत सालीजा, मिर्गौला पीडित चिज कुमारी पुन पाखापानी म्याग्दी, मिर्गौला पीडित नौमती पुन शिख म्याग्दी, मिर्गौला पीडित लक्ष्मन पुन डाँडाकटेरी पर्बत, टाउकोको समस्या जयराम पुर्जा ओखरेनी पर्बत, मुटुको समस्या बत्ति गुरुङ काफलचौर पर्बत, अपाङ्ग कृष्ण पुर्जा काफलडाँडा म्याग्दी, पक्षघात हिरा बहादुर गर्बुजा म्याग्दी बेगखोला, मिर्गौला पीडित दिल माया गर्बुजा पर्बत सालीजा, मिर्गौला पीडित उदय फगामी म्याग्दी बेगखोला हाल बुटवल, मिर्गौला पीडित सम्मर बहादुर मल्ल रुपन्देही तिलोत्तमा नगरपालिका, मिर्गौला पीडित टक बहादुर पुन पर्बत लेखफाँट बन्बरे गरेर जम्मा  £800 सहयोग गर्न सफल भएका छौँ  ।
दोश्रो, मोना युके एम्बुलेन्स प्रोजेक्ट म्याग्दी, गलेश्वर वृदाश्रम, मगर संघ युकेको हाउजिङ प्रोजेक्ट, प्रतिभा साँझ च्यारिटी बेगखोला कल्याणकारी च्यारिटी दाना सेरोफेरो च्यारिटी एनअारएनए युकेको आयोजनामा आयोजित १०४औँ नारी दिवस म्याग्दी जिल्ला फ्री वाइफाइ अभियानको लागी मोना पोर्चुगलकाे कार्यक्रममा सहयोग गरेर जम्मा £1443 सहयोग गर्न सफेका छौँ  । यस्तै मोना युकेको एम्बुलेन्स प्रोजेक्ट, मिर्गौला पीडित काजीमान गर्बुजाको लागी दोगनम मेडियालाई आर्थिक सहयोग संकलन अभियान, मिर्गौला पीडित टेक प्रसाद रोका, दर्बाङ्ग,म्याग्दी आर्थिक सहयोग संकलन अभियान, मिर्गौला पीडित, महेन्द्र गर्बुजा, म्याग्दी मराङ आर्थिक सहयोग संकलन अभियान एकै घरको ४ जना अपाङ्ग दिदिबहिनीहरुको लागी बल बहादुर परियार, रानी पानी गाबिस पर्वत आर्थिक सहयोग संकलन अभियान मिर्गौला पीडित सतीका पुन, पर्बत, हलहले आर्थिक सहयोग संकलन अभियान गरेर जम्मा नेपाली रुपिया ४ लाख ८३ हजार ९१८ सहयोग गर्न सफल भएका छौँ  । 
 
धौलागिरि नौमती बाजा बाहेक कुन कुन सामाजिक संस्था तथा राजनीतिक पार्टीहरुमा आबद्ध हुनु हुन्छ ?
 म मगर संघ यूकेको हाउजिङ्ग ट्रष्टी मेम्बर, म्याग्दी प्रवासी नेपाली, संघ (मोना) युकेको आजीवन सदस्य, पुन मगर समाज, यूकेको आजीवन सदस्य, म्याग्दी राहुघाट खोला सेरोफेरो, यूकेको आजीवन सदस्य र
 चिमखोले समाज यूकेको आजीवन सदस्य छु । राजनीतिक आस्था जता झुकाव भए पनि हाल कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको अवस्था हो । राजनीति नै गर्ने हो र देशको लागि केही गर्ने हो भने स्वदेश मै फर्केर गर्नुपर्छ । विदेश बसेर राजनीति गर्छुं भनेको मध्यरातको अध्याँरोमा जंगलको बीचमा फ्याउरो कराए सरह हो जस्तो मलाई लाग्दछ ।  
सामाजिक संस्था तथा राजनीतिक पार्टीहरुमा आबद्ध हुने को बाट प्रेरणा पाउनु भयो ?
सामाजिक काम गर्ने प्रेरणा स्थान, समय, परिस्थिति र उमेरले दिँदो रहेछ । विदेशको बसाईमा नेपालीहरुको दु:ख र समस्याहरुलाई टुलुटुलु हेरिरहन सकिन्न । त्यसकारण स्वत: स्फुर्तरुपमा सामाजिक भावनाले प्रेरित गर्छ । त्यसमा पनि जब उमेर ढल्किंदै गएपछि मान्छे परिपक्व हुँदै जान्छ र सामाजिक भावनाहरु जागरुक हुन्छ । पारिवारिक हिसाबले भन्ने हो भने यूकेमा सामाजिक भावनाको प्रेरणा मेरै सहोदर दाइ दुत पुनमगर (चिमखोले काईला) बाट प्रेरित छु । राजनीतिमा प्रेरक कुनै एउटा व्यक्ति हुँदैन । क्याम्पसमा अध्ययन गर्ने क्रममा सयौं बिद्यार्थी नेताहरुको भाषण र कुरा सुन्न पाईन्थ्यो । तिनीहरुको भाषणले खूब प्रभाव पार्दथ्यो । रगत उम्लेर जाला जस्तो हुन्थ्यो । ती बिद्यार्थीकालका नेताहरु नै मेरा प्रेरक थिए । 
 
अन्त्यमा जिन्दगी के हो जस्तो लाग्छ ?
 
जिन्दगी एउटा दर्शन हो । यसलाई अध्ययन गर्न सक्नु पर्छ । केलाउन सक्नु पर्छ । आफ्नो जिन्दगीलाई चिन्न र केलाउन सकेनौं भने कसैको जिन्दगी बेअर्थमा बाँची राखेको पनि हुन सक्छ । जिन्दगीलाई सही ढंगले केलाउन र अध्ययन गर्न सक्नेले जिन्दगीलाई सगरमाथाको चुचुरोमा पुर्याएको पनि देख्न सक्छौं । सामान्य भाषामा जिन्दगीको परिभाषा भनेको दु:ख-सुख, हाँसो-रोदन, खुशी-बेखुशी, सन्चो-बिसन्चो, हर्ष-विष्मात आदि कुराहरुको सम्मिश्रण नै हो जस्तो लाग्छ ।
प्रस्तुति: चिम्खोले काइँला

प्रतिक्रिया

सम्बन्धित सामाग्री