आइतबार, मंसिर ३ २०७४ | Sun, November 19, 2017
नेपालको समय: १०:२६ | UK Time: 04:41

फ्राइ प्यानभित्र ‘सेफ’ को जिन्दगी

विनेपाली
२०७३ असोज ५ गते १६:११

indo
लन्डन । ५० वर्षअघि सुरु भएको जिन्दगीको दैनिकी अहिले पनि उस्तै । देश फरक, परिवेश फरक, भाषा पनि फरक तर जिन्दगीको दैनिकी एउटै । यस्तै परिवेशमा गुज्रिएका यूकेका नेपाली सेफहरुले पाँचदशक नाघ्दा पनि आफूलाई परिवर्तन गर्न सकेका छैनन् ।
बिहान ११ बज्दा नबज्दै रेष्टुरेन्टको भान्सामा तयारी गर्नुपर्ने अनि त्यसपछिको नित्यकर्म, बेलुकाका ग्राहकका लागि पकाएर झण्डै पाक्न लागेको खाना बनाएर फ्रिजमा राख्नु पर्ने । तरकारी, माछा मासु, चिकेन आदि इत्यादि । किचनको तयारीसँगै ग्राहक बस्ने ठाउँमा चिरिच्याँट्ट सजिएका कुर्सी, टेवुल । त्यो माथि हल्का डेकोरेसन । रेष्टुरेन्ट सरसफाई त छँदैछ ।

यति काम सक्दा नसक्दा दिउंसोको करिब ३ बज्छ । दुई घण्टाका लागि फेरि आराम गर्न रेष्टुरेन्ट वा होटलको माथि उक्लन्छन् वा नजिकै बस्ने ठाउंमा पुग्छन् । यो समय आराम वा आफन्त र साथीभाइसंग भलाकुसारीमै बितेको पत्तो पाईंदैन । घडीको सुई सांझको पांच नजिक पुग्न लाग्दा नलाग्दै फेरि रेष्टुरेन्टमा झरिसक्नु पर्ने दैनिक रुटिनको जिन्दगीलाई पछ्याउंदै ग्राहकको प्रतीक्षा गर्न पुग्छन् सेफहरु । खासै घरमा खाना बनाएर नखाने व्रिटिशहरु ग्राहकलाई खुशी बनाउन मीठो खाना बनाएर खुवाउनु र फेरि खानाको मज्जा लिन आइरहने बनाउनेमै तल्लीन सेफको जिन्दगी वर्षौंदेखि यही दिनचर्यालाई पछ्याइरहेको छ ।

गाउंघरमा कुटो कोदालो, कलम कापी बोक्ने हातहरु दैनिक ८ देखि १२ घण्टासम्म फ्राइ प्यान उचाल्दै बित्ने गर्छ । एक जमाना विश्वभर आफ्नो कव्जा जमाएको बेलायतमा उनीहरु जस्तो ज्ञान, बुद्धि र सभ्यता लिएर नेपालबाट छिरेका थिए, थोरैले मात्र आफूलाई समयसापेक्ष ढाल्न सकेका छन् । नत्र अधिकांश नेपाली सेफहरुको जिन्दगी फ्राइप्यानभित्रै हराए जस्तो छ । वैदेशिक रोजगारीमा आएकामध्ये अधिकांशले यो दिनचर्यालाई एक न एक दिन भने पनि पछ्याएकै भेटिन्छ । कतिले मन नपरेर अर्को रोजगारी खोज्दै छाड्छन् भने यही रोजगारीमा पोख्त रहेकाले अर्को रोजगारी खोज्न जांदैनन् । जसको मुख्य कारण बन्छ, भाषा । जब भाषामा कमजोर भइन्छ अनि खुम्चिनुको विकल्प छैन् । निर्विकल्पका रुपमा ग्रहण गर्न पुग्ने सेफको रोजगारीलाई उनीहरु आधुनिक ब्रिटिश समाजसंग जोड्दैनन् । जसका कारण सेफहरु आफ्नै सर्कल वरिपरि मात्र सीमित हुन पुग्छन् ।

shyam

श्याम लुइँटेल

अर्कोतर्फ काम गर्ने पुरानो शैली, किचनलाई देश ठान्दै किचनकै कार्यकारी पदकै ग्रहण गरे जस्तो सिहंको गर्जनझैं गर्जनको अहमले आधुनिक समाजसंग सिक्नु पर्ने ज्ञान र सभ्यताबाट निकै टाढा छन् उनीहरु । बेलायतमा पैसा कमाएर परिवार पाल्न र बेलायतमा छु भनेर नेपालमा रवाफ देखाउनेबाहेक जीवनशैली र भाषामा आफूलाई अब्बल बनाउन निकै पछि देखिन्छन् सेफहरु ।

बेलायतमा करिब २५० नेपाली रेस्टुरेन्ट छन् । एक रेस्टुरेन्टमा कम्तिमा ३ जना सेफ काम गर्छन् । नेपाली, भारतीय, बंगालीसँग अधिकांशले काम गर्ने भएकाले किचनमा अंग्रेजी भाषाको सट्टा हिन्दी नै चलनचल्तीको भाषा छ । किचनमा ६ दिन काम अनि एक दिनको बिदामा पनि तास वा मदिरापानमा रम्ने भएकाले बहुसँस्कृतिको धनी मुलुक रहेको देशमा उनीहरु ब्रिटिससंग बोलचाल वा घुलमिल गरेको खासै देखिंदैन ।

करिब एक दशकदेखि विद्यार्थी बनेर भित्रिएका नेपालीलाई उनीहरु आदर गर्न चाहंदैनन् । बेलायतको सेटलमेन्ट भिजा र पासपोर्ट लिएर बसेका नेपालीले अस्थायी रुपमा बेलायत बस्नेलाई सामान्य मानिसको दर्जा दिन पनि हिच्किचाउँछन् ।

यो परिवेशमा हुर्किरहेको नेपाली सेफको फ्राइप्यान जीवन शैलीलाई परिवर्तन गर्न नसक्नुका बारेमा नेप्लिज सेफ एसोसिएसन यूकेका अध्यक्ष कृष्ण तिमल्सेना भन्छन्, ‘उनीहरु भित्रको सकारात्मक सोचलाई बाहिर ल्याउन नसक्नु नै हो । बेलायत सरकारले सेफ पेशालाई डाक्टर, इन्जिनियरजस्तै राम्रो र आकर्षक पेशाका रुपमा विकास गरेपनि नेपाली सेफहरुले यस ग्रहण गर्न सकेका छैनन् ।’ उसो त सेफ बनेर बेलायत भित्रिएका र आफूलाई परिवर्तन गरेका समाजसेवीहरु बेलायतको नेपाली समाजमा केही मात्रामा नभएका होइनन् । नाम लिनैपर्दा एनआरएनए बेलायतका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, पूर्व अध्यक्ष कुल आचार्य र एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमल्सेना आदि हुन् ।

यूकेमा फाइभ स्टार होटलका सेफले वार्षिक तलब करिब ५० हजार पाउण्ड समेत लिने गरेका छन् । साना पारिवारिक रेष्टुरेन्टमा पनि बस्न र खानासहित १२ सय पाउण्ड सजिलै थाप्छन् उनीहरु । दुईवर्ष अघिको तुलना गर्ने हो भने धेरै कम थियो तलब । अहिले बेलायत सरकारको कडा अध्यागमन नियमसंगै सेफ पर्याप्त नपाइएपछि भएका सेफले आफ्नो तलबमा भारी वृद्धि गरेका हुन् ।

रेष्टुरेन्टकै मेरुदण्डका रुपमा रहेका सेफहरु अधिकांशले सेटलमेन्ट भिजा पाउने बित्तिकै आफै रेष्टुरेन्ट पनि खोल्ने गरेका छन् । परिवर्तन हुन चाहने सेफहरुका लागि भने धेरै अवसर रहेको दावी अध्यक्ष तिमल्सेनाको छ । अध्यक्ष तिमल्सेनाले बेलायतका नेपाली सेफहरुले नेपाली खाना अन्तर्राष्टिय स्तरमा पुर्याइरहेको बताए । ‘सेफको योगदान कम आंक्न पनि हुन्न’, उनी भन्छन्, ‘हो, धेरै जसोमा अध्ययनको कमीले आफूलाई रुपान्तरण गर्न नसकेको देखिन्छ ।’

नेपाली सेफहरुले बेलायतमै हुर्के बढेका आफ्नै सन्तानबाट पनि सिक्न जरुरी छ । पुरानो पुस्ताले नेपाली समुदायलाई बुझेको होला । सम्बन्ध राम्रो होला तर स्थानीय समुदायसंग समेत समायोजन र आफूलाई अपडेट गराइरहन उनीहरु अग्रसर हुनुपर्छ । नत्र तातो चुलोमा डाड्यू पन्यू घुमाउंदैमा एकबारको जिन्दगी सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक