अल्डरसट स्पिकर्स क्लब : के हो, किन र कसका लागि ?

asc

टोस्टमास्टर इन्टरनेशनलसंग सम्वद्ध क्लबहरु मध्येको एक विशुद्ध शैक्षिक क्लब हो अल्डरसट स्पिकर्स क्लब । जहां आफूमा अन्तर्निहित क्षमताको अभिवृद्धि, सञ्चार शैलीको विकास, व्यक्तित्व विकास र नेतृत्व पंक्तिको निमित्त उचित मञ्च हो भन्ने मेरो ठम्याइ छ । अहिलेसम्म विश्वमै एकसय चालिसभन्दा बढी देशमा यसै 
टोस्ट मास्टरसंग आबद्ध क्लबहरु विस्तार भइसकेका छन् । मैले यी सबै कुराहरु भनिरहंदा तपाईंको मनमा जिज्ञासा पैदा हुन सक्ला । अल्डरसट स्पिकर्स क्लब किन र केका लागी भनेर । तर निश्चय पनि म यसको उद्देश्य र कार्यबिधिको बारेमा विस्तृतमा नभए पनि संक्षिप्त रुपमा दिने कोशिस गरेको छु ।
अक्सर मानिसहरु आफ्नो जीवनकालमा केही न केही चिजको डरबाट ग्रसित भइरहेका हुन्छन् । ठूल्ठूला आंट बटुलेर साहसिक काम गर्ने देखि जघन्य अपराध र आत्महत्यासम्मको पराकाष्ठा नाघ्नेसमेत हिम्मत गर्दछन् । तर, आफूलाई सार्वजनिक ठाउंमा दर्शक अगाडि राखेर बोल्नु पर्दाको भयसंग भने निम्छरो बन्दछ र यही चिज नै कैयौंको जीवन संघर्ष र सफलताको लागी ठूलो बांधको रुपमा बाधक बनिरहेको हुन्छ। तथ्यांगतरुपमा भन्नुपर्दा, करिब पञ्चानब्बे प्रतिशत मानिसले सार्वजनिक ठाउंमा दर्शकहरुका माझ बोल्ने कुरालाई सबैभन्दा ठूलो डरको रुपमा लिने गरेको पाइएको छ । विभिन्न अध्ययन र अनुसन्धानले पनि यस किसिमको चुनौतीपूर्ण कृयाकलापबाट मानिसले निकै सकसपूर्ण अनुभव गरेको देखाएको छ । आखिर यस्तो किन हुन्छ त ? जब मानिसमा आत्माविश्वास, विषयवस्तुको ज्ञान र अभ्यासको कमी हुन्छ तब डर भन्ने चिजले मनमा डेरा जमाउंदै जान्छ र फलस्वरुप उ अगाडि आएर बोल्न संधै डगमगाइरहन्छ । त्यसैले त संसारभरिकै जुनै ठाउंमा पनि नेतृत्व गर्ने तहमा थोरै मात्र पुग्न सफल हुन्छन्। मानिसको व्यक्तित्व भनेको उसको बोल्ने शैली र आत्माविश्वासले निर्धारण गर्दछ र सफलता पनि यसैको पूरक हो। यी यस्ता सकारात्मक र फाइदाजनक पक्षहरुलाई मध्यनजर 
गर्दै क्याम्बर्ली स्पिकर्स क्लबको सहयोग र प्रायोजनमा यस क्लबलाई कमल थापाले नेतृत्व दिएका छन् ।
jeewan-thapa

जीवन थापा

मेरो जस्तै तपाईंहरुको मनमा पनि अनेकन प्रश्न र जिज्ञासा उठ्न सक्लान् । जस्तै, हामी नेपाली मूलको कति जनाले बेलायतको क्षेत्रीय प्रशासनिक ठाउंमा देश र समुदायलाई पहिचान हुने गरि प्रतिनिधित्व गरेका छन् ? यद्यपि अंग्रजी हाम्रो दोस्रो भाषा हो तर हामी पछिल्लो पुस्ता जो शिक्षित वर्ग भन्न रुचाउंछौं, यो सामान्य बहानामा भने मनोबल घटाइरहेका हुन्छौं। जसले गर्दा हामीमा सम्भावना भएर पनि उचित गन्तब्यमा पुग्न सकिरहेका हुदैनौं । भलै आफ्नो पेशागत काममा कयौं नेपाली सफल पनि होलान् । समग्रमा मानिसको व्यक्तित्वको चिनारी र सफलताको परिचय उ दक्ष मात्र भएर हुंदैन उसको आफ्नो परिवार, समुदाय र देशको निमित्त गरेका नेतृत्वदायी भूमिकाको आधारमा मापन गरिन्छ । नेतृत्व तहमा कसरी पुग्ने भन्ने कुरामा यिनै आत्मविश्वास, व्यक्तित्व विकास र सञ्चारशैलीको विकासले नै ठूलो मद्दत पुरयाउंदछ भन्ने म विश्वास राख्दछु । हामी मध्येमा पनि यस्तै सकारात्मक दृष्टिकोण हुन सक्छ तर उचित प्लेटफर्म र मार्गदर्शनको अभावले ती सपनाहरु टुटेर जाने सम्भावना हुन्छ । मलाई एक कुरामा गर्व पनि लाग्छ जब केही मेरा उमेरसरहका साथीहरु र भाइबहिनीहरु जो यही पढेर डिग्री गरेका छन् र अझ भन्नुपर्दा अंग्रेजी भाषामा अब्बल छन्, उनीहरुले यस क्लवलाई थप आत्मविश्वास र सञ्चारशैली विकास गर्ने उचित ठाउंको रुपमा लिएको देख्छु। उनीहरुको यस क्लवको महत्वप्रतिको बुझाई र अग्रसरतालाई म हृदयदेखि नै सम्मान गर्दछु । उनीहरुको यस प्रकारको सकारात्मक झुकाव र लगाव देख्दा भविष्यमा नेतृत्व पंक्तिमा पुग्न सक्ने राम्रो सम्भावनाको संकेत हो भनेर सजिलै अनुमान गर्न सकिन्छ। पेशागत रुपमा जो जसले जे गरिरहेपनि यो सृजनात्मक र शैक्षिक वातावरणबाट सबैले फाइदा लिन सकिन्छ । यतिबेला एउटा भनाईलाई उधृत गर्न चाहें, नलडी उड्न जान्दैन भनेझैं गल्ती नगरी कोही पनि पूर्ण हुन सक्दैन । त्यसैले यो ठाउंलाई गल्ती गरेर सिक्ने एउटा सुरक्षित ठाउंको रुपमा लिन सकिन्छ । यस क्लबमा केही अनुभवी र दक्ष व्यक्तिहरुबाट सल्लाह सुझाव र सकारात्मक प्रतिक्रिया पाउन सकिन्छ जसलाई आफ्नो क्षमता अभिवृद्धि निमित्त महत्वपूर्ण कडीको रुपमा लिन सकिन्छ ।
समग्रमा भन्नुपर्दा अल्डरसट स्पिकर्स क्लव एउटा विशुद्ध शैक्षिक र प्रत्यक्ष अन्तरकृयात्मक मञ्च हो । यस क्लवले विशेष गरेर नेपाली समुदाय भित्रैबाट भविष्यमा कुनै संगठन, समुदाय र आफ्नै जिवनशैलीलाई उचित नेतृत्वदायी भूमिका निभाउन सक्ने जनशक्ति निर्माण गर्नका लागि ठूलो टेवा पुर्याउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री