परराष्ट्रमन्त्री डा महत न्युयोर्कमा समकक्षी भेट्दै

नेपाल र एल साल्भाडोर बिच कूटनीतिक सम्बन्ध स्थापना बारे हस्ताक्षरित पत्र आदान प्रदान गर्नुहुँदै परराष्ट्रमन्त्रीहरु । तस्बिर ः रमेश लम्साल, न्युयोर्क, रासस

नेपाल र एल साल्भाडोर बिच कूटनीतिक सम्बन्ध स्थापना बारे हस्ताक्षरित पत्र आदान प्रदान गर्नुहुँदै परराष्ट्रमन्त्रीहरु । तस्बिर ः रमेश लम्साल, न्युयोर्क, रासस

न्युयोर्क, ६ असोज । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सर्वियाका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री इभिका ड्यासिकबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा आपसी, हित र चासोका विषयमा छलफल भएको र दुई देशको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने विषयमा सहमति भएको थियो ।

यस्तै, असंलग्न मुलुकहरुले साझा धारणा र एजेन्डा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने विषयमा समेत कुराकानी भएको थियो ।

नेपाल र एल साल्भाडोरबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र दक्षिण अमेरिकी मुलुक एल साल्भाडोरबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपालाी प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र एल साल्भाडोरका विदेशमन्त्री ह्युगो रोजर मार्टिनेजले संयुक्तरुपमा कूटनीतिक सम्बन्ध स्थापना पत्रमा बुधबार हस्ताक्षर गर्नुभयो ।

एल साल्भाडोर नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने १४४औँ मुलुक रहेको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।

नेपाल र एल साल्भाडोरका बीचमा आर्थिक, सामाजिक तथा अन्य सहयोगका क्षेत्रमा मिलेर अगाडि बढ्ने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त गरिएको थियो ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न पाउँदा आफूहरुलाई असाध्यै खुसी बनाएको विदेशमन्त्री मार्टिनेजको भनाइ थियो । दुवै मुलुकका परराष्ट्रमन्त्रीले कूटनीतिक सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पुरयाउने भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री